काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका मानव अधिकार हननका घटनाबारे छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गरेको छ । अभियानका प्रतिनिधिहरूले आयोगका अध्यक्ष तथा पदाधिकारीहरूलाई भेट्दै आयुक्त लिली थापाको नेतृत्वमा बनेको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न माग गरेका हुन् ।
आयोग पुगेका अभियानका प्रतिनिधिहरूले नागरिकको मानव अधिकार हनन् हुँदा पनि आयोग मौन बसेको भन्दै आक्रोश व्यक्त गरे । उनीहरूले ‘आयोग सरकारको दबाबमा परेको वा कसैलाई बचाउन प्रतिवेदन पुनर्लेखन भइरहेको हुनसक्ने’ भन्दै आशंका समेत व्यक्त गरे ।
मानवअधिकार आयोगका पदाधिकारीहरूसँगको भेटमा राष्ट्रिय जेनजी नागरिक अभियानका तर्फबाट सुनिल सिंह, अजय सोडारी, प्रकाश बम, वीरजंग विक, सुशील बुढाथोकी र जनम सिंह सहभागी थिए । अभियानले पाँच दिनभित्र प्रतिवेदन सार्वजनिक नभए सशक्त प्रतिवाद र आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।
