पोखरा । अघिल्लो चुनावमा १० सिट जितेको नेपाली कांग्रेस हालै सम्पन्न प्रतिनिधि सभा चुनावमा २ सिटमा खुम्चियो । हिमालपारीको जिल्ला मनाङ र मुस्ताङमा मात्रै कांग्रेसका उम्मेदवार विजयी भए । १८ सिट रहेको गण्डकीका बाँकी १६ सिट कांग्रेसले गुमाउँदा अन्य पुराना दल बढारिए ।

१५ सिटमा राष्ट्रिय स्वतन्त्र पार्टी र एक सिटमा स्वतन्त्र उम्मेदवार निर्वाचित भए । चुनावमा अप्रत्याशित पराजय भोगेको कांग्रेस अहिले आन्तरिक समीक्षामा जुटेको छ । कांग्रेस गण्डकी प्रदेश समितिले बुधबार गरेको समीक्षामा सहभागीले पराजयको मुख्य कारण आन्तरिक नै रहेको मानेका छन् ।

कास्की–२ का उम्मेदवार माधवप्रसाद बास्तोला (मधु)ले मनोवैज्ञानिक अन्योलका कारण कांग्रेस पराजित भएको तर्क गरे । ‘निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन गरिरहँदा हामी चुनाव नै हुँदैन भन्ने भ्रममा थियौँ । जसका कारण ७–८ लाख नयाँ मतदाताहरू थपिँदा हामीले तिनलाई वास्तै गरेनौँ,’ उनले भने, ‘मौन अवधि सुरु हुनुभन्दा अघिसम्म पनि चुनाव स्थगित हुन्छ कि भन्ने मानसिकतामा रहनु हाम्रो सबैभन्दा ठुलो रणनीतिक भूल थियो ।’ नयाँ मतदाताको स्कुलिङका कारण कांग्रेसले पराजय भोगेको बास्तोलाको तर्क छ ।

कांग्रेसले यत्ति कारणले मात्रै चुनाव हारेको छैन । तनहुँका सभापति तथा गण्डकीका पूर्वमन्त्री जीतप्रकाश आले पार्टीभित्रको सामन्तवादलाई पनि चुनाव हार्नुको प्रमुख कारण मान्छन् ।
‘केन्द्रीय नेताहरू चुनाव हारे पनि सिधै महासमिति सदस्य हुने तर भुइँतहका कार्यकर्ता सधैँ जोखिममा रहने परिपाटीले पार्टीलाई भोट उत्पादन गर्ने होइन, नेता उत्पादन गर्ने कारखाना मात्र बनाएको छ,’ उनले भने, ‘चुनावमा मात्रै ध्यान दिएर जितिँदैन ।’
आलेले ०१५ सालको विधानमै बुथ समिति भए पनि अहिले उक्त संरचनालाई बेवास्ता गर्दा क्षति व्यहोर्नुपरेको गुनासो गरे । ‘एउटा वडामा ४–५ वटा बुथ हुन्छन्, तर कसले कहाँ हेर्ने भन्ने कुनै स्पष्ट खाका छैन,’ उनले भने ।

यसपालि कांग्रेसले चुनाव हार्नुका अरु कारण पनि छन् । पार्टीको परम्परागत आधार भत्किनुमा वैदेशिक रोजगारीलाई पनि मानिएको छ । ‘विदेशमा रहेका छोराछोरीले घरका बुबाआमालाई घण्टीमा भोट हाल्न इन्फ्लुएन्स गरे,’ प्रदेशका प्रवक्तासमेत रहेका पराजित उम्मेदवार बास्तोलाले भने, ‘कांग्रेसका वरिष्ठ नेताहरू चारतारे झण्डा ओढेर हिँडिरहँदा उहाँहरूकै सन्तानले घण्टी रोज्नु हाम्रो विचार र पुस्ताबिचको खाडलको परिणाम हो ।’

प्रदेश सदस्य आशिक गुरुङले पार्टीको संगठन निकै कमजोर अवस्थामा पुगिसकेको तर्क गरे । ‘हाम्रो टाउको (नेतृत्व) लाई बोटोक्स हालेर मेकअप गरिएको छ तर ज्यान (संगठन) कुहिसकेको छ,’ उनले भने, ‘अब मेकअप गरेर होइन, जरैदेखि राम्रो बनाउनुपर्छ ।’

रास्वपाले सबै क्षेत्रका युवाहरूलाई समेटेर समावेशिताको नयाँ मानक बनाएकाले पनि कांग्रेसको पक्षमा मत नपरेको उनको भनाइ छ । कांग्रेसको अवस्था सुधार्न केही सुझाव पनि दिइएको छ । पार्टीको सांगठनिक संरचना भद्दा र निष्क्रिय भएकाले अब चुस्त समिति बनाएर अघि बढ्नुपर्ने प्रदेश उपसभापति कल्पना तिवारीको सुझाव छ ।

४५ देखि ५० जनासम्मको वडा समिति बनाउँदा बैठकमा गणपूरक संख्या (कोरम) समेत नपुग्ने र कोही पनि जिम्मेवार नहुने समस्याले संगठनलाई प्यारालाइज बनाएको उनको निष्कर्ष छ । चुनाव हार्नुमा निर्वाचनको मुखमा भएको विशेष महाधिवेशनलाई पनि कारकका रूपमा औँल्याइएको छ ।

पर्वतका यमबहादुर मल्ल आन्तरिक कलह र अन्तर्घात हारको प्रमुख कारण ठान्छन् । ‘नैतिकता र अनुशासन नभएको पार्टी टिक्न सक्दैन,’ उनले भने, ‘कांग्रेस–कांग्रेस लडेर मतदातालाई विकल्प खोज्न बाध्य पारियो ।’

कतिपय क्षेत्रमा जित्ने सम्भावना भएका उम्मेदवारलाई रोकेर टिकट वितरणमा भएको त्रुटिले १८ सिट जित्न सकिने ठाउँमा २ सिटमा खुम्चिनुपरेको धेरै नेताको विश्लेषण छ ।

प्रदेश सदस्य अजित क्षेत्रीले भ्रातृ संस्थाहरूमा लामो समयदेखि भएको तदर्थवादलाई हारको प्रमुख कारण मानेका छन् । ‘कांग्रेसका भ्रातृ संस्थाहरूमा लामो समयदेखि चल्दै आएको तदर्थवादले पार्टीको बन्ध्याकरण गरिरहेको छ,’ उनले भने, ‘अहिले चुनाव हार्नुमा तत्कालको मात्रै कारण छैन । लामो समयदेखि थुप्रिएका धेरै समस्या छन् ।’

प्रविधिको सही प्रयोग गर्न नसक्नु र अवस्थाको सही विश्लेषण गरेर आवश्यक तयारी नगर्नु चुनावी पराजयको प्रमुख कारण भएको उनको तर्क छ ।

अब कांग्रेसले इतिहासको ब्याजमात्रै खाएर टिक्न नसक्ने निष्कर्ष निकाल्दै १४ महिनापछि हुने स्थानीय तहको निर्वाचनको तयारी अहिलेदेखि नै गर्न प्रदेशले रिपोर्ट पठाउने छ । प्रदेश महामन्त्री विष्णुप्रसाद लामिछानेले प्राप्त सबै सुझाव टिपेर केन्द्रमा पठाइने बताए ।

‘शेरबहादुर देउवादेखि गगन थापासम्म सबै नेताहरू आ–आफ्नो बुथबाट चुनाव जितेर आउने परिपाटीको विकास हुनुपर्छ,’ समीक्षा बैठकमा सबैजसोले भने, ‘नेतृत्वमा पुग्न तल्लो तहको परीक्षा उत्तीर्ण गर्नुपर्छ ।’

८० देखि ९० जनाको प्रदेश समितिलाई घटाएर २१ सदस्यीय चुस्त टोली बनाउनुपर्ने, बुथ समितिलाई पुनर्जीवित गर्नुपर्ने सुझाव दिइएको छ ।

सम्वन्धित समाचार :