सिरहा।सिरहास्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको राजदेवी मन्दिर अवलोकनका क्रममा अर्थमन्त्री तथा पूर्व अर्थसचिव रामेश्वर खनालले मन्दिर परिसरको घुमघाम गराएका छन्। सो अवसरमा लहान नगरपालिकाका मेयर महेश चौधरीले राजदेवी मन्दिरलाई व्यवस्थित पर्यटकीय स्थलका रूपमा विकास गर्न विशेष बजेटको माग गरेका छन्।
मेयर चौधरीले राजदेवी मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र नभई सिरहा जिल्लाको सांस्कृतिक पहिचानसँग जोडिएको स्थल भएको उल्लेख गर्दै यहाँ पूर्वाधार विकास, सडक, सरसफाइ, विश्रामस्थल, पार्किङ र प्रचार–प्रसारका लागि केन्द्र सरकारको सहयोग आवश्यक रहेको बताए।
अर्थमन्त्रीसँगको भेटमा स्थानीय पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा आन्तरिक र बाह्य पर्यटक आकर्षणका विषयमा समेत छलफल भएको बताइएको छ। अर्थमन्त्रीले मन्दिरको ऐतिहासिक महत्व स्वीकार गर्दै आवश्यक प्रक्रिया पूरा गरी प्रस्ताव ल्याए बजेट व्यवस्थापनमा सकारात्मक पहल गरिने संकेत दिएका छन्।
स्थानीयवासी तथा धार्मिक सरोकारवालाहरूले राजदेवी मन्दिरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न लामो समयदेखि माग गर्दै आएका छन्।
