जेनजी भन्ने शब्दावली र यसको प्रभाव सुरुमा हामीजस्ता प्राज्ञिक व्यक्तिहरूले खासै ख्याल गरेका थिएनौँ । ट्युनिसिया, कायरो, इन्डोनेसिया र फिलिपिन्सजस्ता देशहरूमा भएका घटनाहरूपछि मात्र यो शब्दावली र आन्दोलनको चर्चा चुलियो । कतिपय ठाउँमा यसले सत्ता परिवर्तन नै गरायो । पछिल्लो समय नेपाल हुँदै भारतको बिहार र मोरक्कोसम्म पुग्दा यसले अन्तर्राष्ट्रिय चर्चा पायो ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली यस मामिलामा निकै आत्मविश्वासी छन् भने । उनले कुनै पनि आन्दोलन भयो भने हामी त्यसलाई ट्याकल गर्न सक्छौँ भनी ओलीले भनेको कुरा हामीलाई सुनाए । तर, त्यसको झण्डै एक वर्षमै जेनजीको आन्दोलन भयो र त्यसैले ओलीलाई सत्ताच्युत गरिदियो ।
ओलीमा आत्मविश्वास भरिएको छ भन्नेमा कुनै शङ्का भएन तर उनलाई हेर्दा लाग्छ– उनले छुट्टै आफ्नो आभासी संसार बनाएका छन् । उनी कार्यकर्ता वा सल्लाहकारहरूले गरेको ब्रिफिङलाई नै सत्य मान्छन् । त्यसैले सत्ताच्युत भएर पनि उनी अहिलेको परिवर्तनलाई सामान्य परिघटना वा षड्यन्त्र मात्र ठान्छन् । यसले उनी भित्र ‘सेल्फ सेन्टर्ड क्यारेक्टर’ झन् भन्दा झन् बलियो गरि विकास भइरहेको हो कि भन्ने देखिन्छ ।
मिडियाहरू उनको पालामा भएका भ्रष्टाचारका अनेकौँ काण्डबारे आलोचना गरेको गर्यै छन् । तर, उनले त्यसैलाई जायज ठहराउन खोजेका छन् । यो नै आत्मकेन्द्रित सोचको उपज हो ।
नेपालमा भएको जेनजी आन्दोलनमा उत्तर–दक्षिण वा आकाशे मित्रको चासो हुन सक्छ तर यो मूलतः यहीँका जनताको स्वतःस्फूर्त आक्रोश हो । कुनै पनि देशमा हुने आन्दोलनलाई त्यहाँको भूगोलले पनि फरक पार्ने रहेछ । भारत, अमेरिकामा यस्ता कयौँ आन्दोलन भई रहेका छन्, तर त्यसले त्यहाँको केन्द्रीय संरचनालाई थोरै मात्र प्रभाव पारिरहेको हुन्छ । तर नेपालको भूगोलमा यहाँको कुनै पनि क्षेत्रमा आन्दोलन भयो भने त्यसले सिङ्गो देशलाई नै प्रभावित पारिदिन्छ ।
गर्न पनि उनीहरुले नाजायज नै गरेका थिए । संसदीय व्यवस्थामा दुई ठुला दल मिलेर सरकार बनाएको अवस्था रह्यो यहाँ । यसले नेतृत्वप्रति नै ठुलो वितृष्णा जगाई दिएको छ ।
यसको सबै भन्दा राम्रो उदाहरण ०३६ सालको आन्दोलन हो । आन्तरिक राजनीतिबाट आक्रोशित युवाहरूको जमातले पाकिस्तानमा जुल्फिकर अली भुट्टोलाई फाँसी दिएको विषयमा प्रदर्शन गर्ने भए । तर प्रदर्शनमा प्रहरीले अनावश्यक दमन गरेपछि आन्दोलन देशैभर फैलियो । कतिसम्म भने राज्य जनमत सङ्ग्रहको घोषणा गर्न बाध्य भयो । जेनजी आन्दोलनका हकमा पनि यो कुरा त्यति नै सान्दर्भिक हुन आउँछ ।
त्यसैले हामीले इतिहासबाट सिक्नु पर्ने हुन्छ । झन् देशको मूल नेतृत्वले त त्यसलाई नजरअन्दाज गर्नै मिल्दैन । तर, ओलीले वर्तमान समय, परिस्थिति र इतिहासको शिक्षालाई नै नकारी रहेका छन् । तर, परिस्थिति कस्तो छ भने ठुला भनिएका दलहरू, उनीहरूबिचको समीकरणलाई लिएर जनतामा ठुलो आक्रोश व्याप्त छ ।
गर्न पनि उनीहरुले नाजायज नै गरेका थिए । संसदीय व्यवस्थामा दुई ठुला दल मिलेर सरकार बनाएको अवस्था रह्यो यहाँ । यसले नेतृत्वप्रति नै ठुलो वितृष्णा जगाई दिएको छ । र, ओलीले अहिले पनि त्यसैलाई बढवा दिइरहेका छन् । सत्ता र शक्तिको भोक उनमा अझै मरेको देखिँदैन । एकातर्फ युवाहरूको आन्दोलनले उनीहरूलाई म्याद सकिएको औषधि जस्तो बनाई दिएको छ तर उनी भने अझै सत्ता र शक्तिको शिखरमा बसिराख्न चाहन्छन् ।
स्वाभाविक रूपमा उनको चाहनाले नयाँ पुस्तालाई राजनीतिमा आउन अवरोध गरिरहेको छ । किनभने उनले आफूलाई आवश्यक पर्ने सपोर्ट सिस्टम त्यस्तै व्यक्तिहरूबाट निर्माण गर्छन्, जो उनकै उमेर समूहको वरपर छन् ।
यसका साथै ओली कूटनीतिक रूपमा पनि त्यति सक्षम देखिएनन् । कूटनीतिक रूपमा उनी चीनमा भएको जापान विरुद्धको ‘भिक्ट्री परेड’ मा सहभागी हुनु हुँदैनथ्यो । यसका साथै उनले भारतसँगको सम्बन्धलाई थप चिस्याउँदै ‘सिंहमेव जयते’ जस्ता अनावश्यक टिप्पणी गरे । सरकार प्रमुखले कूटनीतिक क्षेत्रमा यो स्तरको अपरिपक्वता देखाउनु राम्रो थिएन ।
यदि ओलीले समयको पदचाप बुझ्न सकेनन् भने समयले उनलाई किनारा लगाइदिनेछ ।
विभिन्न प्रतिकुलताबिच हाम्रो लोकतन्त्रले फेरि पनि खुट्टा टेकेको छ । काला बादलहरू पूर्ण रूपमा नछाटिए पनि अब त्यसबाट डराउनु पर्ने अवस्था भने छैन । लोकतन्त्रको विकल्प अरु कुनै पनि व्यवस्था हुन सक्दैन भनेर स्वयं जेनजीका अगुवा र आन्दोलनले बोलेकै छ । त्यसैले अहिलेको परिस्थितिमा सैन्य ‘कु’ को कुनै सम्भावना छैन । सेनाले बाह्य शक्ति र भू–राजनीतिक अवस्था बुझेको छ, त्यसैले उनीहरू सत्ता हातमा लिने पक्षमा छैनन् ।
जेनजीको आन्दोलनले के देखायो भने नेपालमा अब राजतन्त्र फर्कने वा सैनिक शासन आउने सम्भावना छैन । तर लोकतन्त्रभित्रै नेतृत्व परिवर्तनको माग भने प्रबल छ । जनताले अहिलेको संविधान वा व्यवस्था फाल्न खोजेका होइनन्, बरु दलहरूको कार्यशैली र नेतृत्व सुधार्न खोजेका हुन् ।
यदि ओलीले समयको पदचाप बुझ्न सकेनन् भने समयले उनलाई किनारा लगाइदिनेछ । जेनजीको आन्दोलन प्रतिगमनतिर नभई अग्रगमन, विकास, समावेशिता र सुशासनको पक्षमा छ । त्यसैले, अहिले देखिएका पुराना दलहरूको तत्काल विकल्प नभए पनि उनीहरू सुध्रिएनन् भने जनताले अर्को बाटो खोज्ने निश्चित छ ।
