मण्डलको अध्यक्षतामा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता, प्रमाणपत्र प्राप्त
काठमाडौँ — मण्डलको अध्यक्षतामा ‘सार्वभौम नागरिक पार्टी’ नामक नयाँ राजनीतिक दल आज औपचारिक रूपमा दर्ता भएको छ। कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायबाट पार्टीले दर्ता प्रमाणपत्र प्राप्त गरेको छ।
प्रमाणपत्र बुझेपछि अध्यक्ष गणेश कुमार मण्डलले यो दल दर्ता हुनु नेपालमा नागरिक अधिकार संरक्षण र शासन व्यवस्थाको सुधारतर्फ नयाँ विकल्पको सुरुवात भएको बताए। उनका अनुसार पार्टीले आगामी दिनमा नागरिक स्वतन्त्रता, सुशासन, पारदर्शिता र सामाजिक न्यायलाई प्रमुख एजेन्डा बनाएर राजनीतिक गतिविधि अघि बढाउने लक्ष्य लिएको छ।
मण्डलले देश दशकौँदेखि दलतन्त्र, भ्रष्टाचार, भागबण्डा र अस्थिरतामा फँसेको आरोप लगाउँदै भने,
“दलहरूले देश कब्जा गरे, नागरिक मतदाता मात्रै बने—निर्णयकर्त्ता बन्न पाएनन्। अब सत्ता नागरिकमा फिर्ता ल्याउने ऐतिहासिक अभियानको रूपमा यस पार्टीको जन्म भएको हो।”
पार्टीले छिट्टै संगठन विस्तार तथा आगामी राजनीतिक कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
