• जेन–जी विद्रोहले नागरिकमा राजनीतिप्रति चेतनास्तर बढाएको छ । अब देशमा परिवर्तनका लागि आवाज उठाउन र नेतृत्व चयनमा नागरिकको अहम भूमिका हुनेछ । त्यसैले अब पनि दलहरूमा नेतृत्व हस्तान्तरणमा सकस देखिएमा र परम्परागत ढाँचामै चलेमा उनीहरूले नागरिकको विश्वास गुमाउनेछन् ।
The political purges sought by the Gen-G rebellion
  • जेन–जी विद्रोहले पुराना राजनीतिक दलहरूको असफलता, भ्रष्टाचार र युवा पलायनजस्ता समस्याविरुद्ध नागरिकको आक्रोश सडकमा ल्यायो।
  • यो विद्रोहले राजनीतिक शुद्धीकरण र नेतृत्वको पुस्तान्तरणको आवश्यकता औंल्याउँदै परिवर्तनका लागि नागरिक चेतना बढाएको छ।
  • अब दलहरूले आफूलाई सुधार्न सकेनन् भने जनताको विश्वास गुम्नेछ र जेन–जीको आन्दोलन अधुरो रहन सक्छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

सत्ता चलाइरहेका पुराना राजनीतिक दलहरूले देशको अर्थतन्त्रलाई धमिराले खाइरहेको देखेनन् । दैनिक रूपमा बढ्दै गएको युवा पलायन, जसले पठाएको रेमिट्यान्सको भरमा देश चलाउँदा आफ्नो सत्तामाथि प्रश्न नउठ्ने या उठिहाले पनि दबाउन सजिलो हुने ठाने । त्यसैले पनि युवालाई देशमै बस्न योग्य वातावरण बनाउन सकेनन् ।

भ्रष्टाचारको मुद्दा खेपेकाहरू नै मन्त्रीदेखि सांसदसम्म बनिरहे । स्थानीय तहदेखि संघीय सरकारसम्मका प्रशासनमा हाबी भएको अनियमितताप्रति चासो दिएनन् । परिणामतः २३ र २४ भदौमा जेन–जीले विद्रोह गरे । यद्यपि, यो विद्रोह मात्रै थिएन, राजनीतिक रूपान्तरण र शुद्धीकरणको ढोका खोल्ने प्रयत्न पनि थियो ।

शासकीय अराजकताले जनतालाई दिनुसम्म दुःख दिएको थियो । बढ्दो राजनीतिक अस्थिरता, भ्रष्टाचार, अनियमितताका विरुद्ध नागरिकभित्र गुम्सिएको आक्रोश सडकमा पोखियो । सन् १९८६ मा फिलिपिन्समा शासक मार्कोसविरुद्ध भएको ‘पिपुल पावर रिभोलुसन’ चार दिनमा सफल भएको थियो । त्यसलाई पनि पछि पार्दै नेपालका जेन–जीले २७ घण्टामा प्रधानमन्त्रीको घुँडा टेकाए । यद्यपि, यो एकाएक भएको होइन । २०२४ को बंगलादेशमा भएको आन्दोलनपछि शेख हसिना नेतृत्वको सरकार ढल्यो । उनले देश छोडेर भाग्नुपर्‍यो । बंगलादेशको जस्तै स्थिति नेपालमा पनि आउन सक्छ भनेर नागरिकले चेतावनी दिँदै आएका थिए । तर शासकीय सुधारका लागि कुनै पहल भएन ।

नेतृत्वको पुस्तान्तरण गर्नुपर्छ, नयाँ विचार र दृढ इच्छाशक्ति भएका युवाले देश हाँक्नुपर्छ भनेर जेन–जीले पटक–पटक आफ्नो सरोकार सामाजिक सञ्जालमा राख्दै आएका थिए । देशमा भ्रष्टाचारले उग्ररूप लियो, नीतिगत र संरचनात्मक भ्रष्टाचारले देशलाई लुछिसक्यो भन्नेजस्ता आवाज उठाउँदा सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने दाउ गर्‍यो । जबकि, नियन्त्रण होइन, नियमन गर्नुपर्थ्यो । नियन्त्रणपछि त धेरै युवाले रोजगारी र रोजीरोटी गुमाउनुपर्‍यो । जेन–जीका निम्ति सामाजिक सञ्जाल अक्सिजनजस्तै हो भन्ने सरकारले बुझेन । बरु अहंकार देखायो । जसको परिणाम जेन–जीको दुईदिने विद्रोहले देखायो ।

आफूलाई लोकतान्त्रिक भन्ने दल तथा शासकहरूको व्यवहार भने अधिनायकवादी खालको थियो । राजनीतिक दल आफ्ना कार्य र निर्णयका लागि जनताप्रति उत्तरदायी हुनुपर्छ । यसले पारदर्शिता, उत्तरदायिता र नैतिक मापदण्डहरूको पालनालाई बढावा दिन्छ, जुन सार्वजनिक विश्वास र लोकतान्त्रिक प्रक्रियालाई दिगो बनाउनका लागि महत्त्वपूर्ण हुन्छन् । जवाफदेहिता भएन भने राजनीतिक दलहरूप्रति जनताको विश्वास खस्किन सक्छ र लोकतान्त्रिक प्रक्रिया कमजोर हुन सक्छ ।
लोकतन्त्रलाई सुदृढ पार्न प्रत्येक राजनीतिक दलमा आत्मालोचनाको चेत हुनुपर्छ । अहिले राजनीतिक दलका पदाधिकारीहरू नेताका कठपुतली बन्न पुगेका छन् र बनाइएका छन् । विचार, दृष्टिकोण, योजनामा पार्टीको मुख्य नेताको नियन्त्रण छ । सत्यको पक्षमा उभिने र विचार प्रकट गर्न सक्ने कार्यकर्ता नै लोकतान्त्रिक व्यवस्थाको आधारशिला हुन् ।

जेन–जी विद्रोहपछि घोषित चुनावका लागि दल खोल्ने र दर्ता हुने क्रम जारी छ । तर के नयाँ दल खोलिँदैमा देशको राजनीतिले स्थिरता पाउला त ? किनकि, यतिबेला नयाँ दलभन्दा सक्षम नेतृत्वको आवश्यकता देखिन्छ । त्यसको सम्भावना पुरानै दलमा पनि छ । तर विडम्बना राजनीतिकर्मीहरू आफ्नो सीमित स्वार्थको घेराभन्दा माथि उठ्न सकेनन् । आफ्नो दलीय र गुटगत स्वार्थमा अल्झिए । विश्व राजनीतिमा युवा नेताहरू अधिक प्रगतिशील र आधुनिक मुद्दाहरूसँग जोडिएको देख्न सकिन्छ । पुराना नेताहरूलाई बढी अनुभव भए पनि वर्तमान प्रवृत्तिको सामना गर्ने क्षमतामाथि प्रश्न उठ्ने गर्छ । युवा पुस्ताले भने परम्परागत मान्यताहरूलाई चुनौती दिँदै, परिवर्तनको बहस गर्दै राजनीतिमा नयाँ दृष्टिकोण र विचार ल्याउँछन् ।

जेन–जी विद्रोहले नागरिकमा राजनीतिप्रति चेतनास्तर बढाएको छ । अब देशमा परिवर्तनका लागि आवाज उठाउन र नेतृत्व चयनमा नागरिकको अहम भूमिका हुनेछ । त्यसैले अब पनि दलहरूमा नेतृत्व हस्तान्तरणमा सकस देखिएमा र परम्परागत ढाँचामै चलेमा उनीहरूले नागरिकको विश्वास गुमाउनेछन् ।

राजनीतिक व्यवस्थालाई कुशलतापूर्वक सञ्चालन गर्ने र त्यसलाई दिगो, भरपर्दो र विश्वसनीय बनाउने जिम्मेवारी राजनीतिक दलको हो । तिनै दलहरूबाट प्रतिनिधित्व गर्ने निर्वाचित सरकारको हो । देशबाट कुशासन, बेथिति, विकृति र विसंगतिबाट मुक्त गरी सामाजिक आर्थिक रूपान्तरणसहितको न्याय, विकास, परिवर्तन, सुशासन र समृद्धिका दिशामा अगाडि बढ्नुको विकल्प छैन । त्यसका लागि राजनीतिक दलहरूको शुद्धीकरण नै मुख्य आधार हो ।

जेन–जी विद्रोहपश्चात् संसद् विघटन भई अन्तरिम सरकार गठन भएको छ । यसको मुख्य जिम्मेवारी नै २१ फागुनमा निर्वाचन गराउनु हो । वर्तमान संविधानको मातहतमा हुने निर्वाचनले फेरि पनि पुरानै दल र प्रतिनिधि सरकारमा पुग्ने देखिन्छ । यसै कारण उनीहरूले जेन–जीको मुद्दालाई आम नागरिकको मुद्दा सम्झिएर आफूलाई शुद्धीकरण र रूपान्तरण गर्नुपर्ने आवश्यकता छ । नागरिकले २१ फागुनपछि आउने सरकारप्रति धेरै अपेक्षा राखेका छन् । जसलाई उक्त सरकारले ध्यान दिएर अघि बढ्न सकेन भने जेन–जी विद्रोह आधा बाटोमै तुहिन्छ ।

कवि भूपी शेरचनले लेखेका छन्– ‘हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला, गोली निलेका सहिदका प्यारा ती लासले धिक्कार्ला, सहिद रोलान् हामीले उन्नति गरेर नगए ।’ यही कविताको अंशले भनेजस्तै हामीले अब पनि उन्नति गरेनौं भने हाम्रा ती सडकमा ढलेका कलिला सहिदहरूले धिक्कार्ने छन् ।

सम्वन्धित समाचार :