सारांश
- कम्युनिस्ट आन्दोलन समयसँगै रूपान्तरणको प्रक्रियामा रहेको छ, र यसलाई सही दिशा दिन ‘कालगत सन्तुलन’ आवश्यक छ।
- नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जागरण अभियानको एकताले वाम जनमतमा उत्साह थपेको छ, र यो निर्णायक मोडमा छ।
- इतिहास, वर्तमान र भविष्यबीचको सन्तुलन बिग्रँदा व्यवहारवाद हाबी हुने र पुनर्जागरणका लागि यी पक्षहरूलाई सन्तुलित गर्नुपर्ने कुरा बताइएको छ।
कम्युनिस्ट आन्दोलन समयसँगै रूपान्तरणको प्रक्रियामा छ । हिजोको क्रान्ति आजको आत्ममूल्यांकनमा बदलिएको छ। यही रूपान्तरणलाई सही दिशामा लैजान `कालगत सन्तुलन´ अपरिहार्य छ ।
कम्युनिस्ट पार्टीको अस्तित्व, जीवन्तता र रूपान्तरण त्यसै कालगत सन्तुलनमा निहित हुन्छ – जहाँ इतिहासले शिक्षा दिन्छ, वर्तमानले जिम्मेवारी दिन्छ, र भविष्यले प्रेरणा दिन्छ। तर, यही तितो यथार्थ हो – इतिहास, वर्तमान र भविष्यबिचको सन्तुलन बिग्रँदा व्यवहारवाद र उपयोगितावाद हाबी हुँदै गएका छन् । नेतृत्वमा दृढ इच्छाशक्ति र सङ्कल्प कायम रह्यो भने विचार र व्यवहार (इतिहास, वर्तमान र भविष्य) को सन्तुलन मिलाउन सकिन्छ । यसका लागि उत्पीडित वर्ग र समुदाय केन्द्रित राजनीतिक प्रतिवेदन र कार्य योजना तयार हुनुपर्छ ।
नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास त्याग, बलिदान र आदर्शप्रतिको अटुट प्रतिबद्धताले भरिएको छ।राणाशासनविरुद्धको सङ्घर्षदेखि माओवादी जनयुद्धसम्म, जनआन्दोलनदेखि गणतन्त्र स्थापनासम्म -यी सबै अध्यायहरूले कम्युनिस्ट आन्दोलनलाई जनताको आशाको केन्द्र बनाएका थिए। तर, समयसँगै यही इतिहास केवल स्मरणको प्रतीकमा सीमित हुन पुगेको छ। इतिहासको शिक्षा व्यवहारमा रूपान्तरण हुन सकेन। आजका धेरै नेताहरूका लागि इतिहास केवल भाषणको सामग्री बनेको छ, संस्कार र चरित्रको मार्गदर्शक होइन।
त्यसैले,इतिहाससँगको विच्छेद नै आजको वैचारिक भ्रमको मूल कारण हो । जब इतिहास भुलिन्छ, पार्टी जरा विनाको रुख जस्तै हुन्छ र जरा मरेपछि पात तीव्र रूपमा झर्छ ।
३. वर्तमान -प्रयोग र जिम्मेवारीको समय :
नेपालको राजनीतिक यथार्थ अहिले सङ्क्रमणशील छ। संविधान बने पनि सामाजिक रूपान्तरणको प्रक्रिया अधुरो छ। सत्ता स्थायित्वको नाममा वर्गीय रूपान्तरणको दिशा ओझेलमा परेको छ । कम्युनिस्ट पार्टीहरूको कार्यक्षेत्र अब सत्ताको भागीदारीमा सीमित छ -जहाँ विचारभन्दा समीकरण, नीति भन्दा पद, र सिद्धान्तभन्दा स्वार्थ हाबी छन्।
भविष्यका आदर्शहरूसँग नजोडिएको यस्तो वर्तमान व्यवहारवाद (opportunism ) हो – जसले क्रान्तिकारी चरित्रलाई धुमिल पार्दै अन्ततः मेटाउँछ। नेपाली कम्युनिस्ट पार्टी र अन्य वाम पार्टीबिचको अन्तर विचार र व्यवहारमा हुनुपर्छ, जुन जनताले आफ्नै अनुभवबाट बुझ्न सकोस् । यो नै नेपालको वाम राजनीतिमा देखिएको विचारगत दिशाहीनताबाट बचाउने सूत्र हो ।
४. भविष्य -मुख्य दिशा र प्रेरणा :
भविष्य केवल सम्भावना होइन, जिम्मेवारी हो । यही जिम्मेवारीले वाम आन्दोलनलाई पुन: विचार, नीति र कार्यशैलीमा क्रान्तिकारी पुनर्जागरणतर्फ उकास्न सक्छ ।
कम्युनिस्ट आन्दोलनको अन्तिम लक्ष्य वर्गविहीन, शोषणरहित, समान अवसरमा आधारित समाज निर्माण हो। तर त्यो भविष्य केवल नारा बनेर सीमित रहँदा आन्दोलनको आत्मा नै कमजोर हुन्छ। भविष्यप्रतिको प्रतिबद्धता हराउँदा पार्टीहरू ‘विद्यमान व्यवस्थाको सहायक’ बन्न पुग्छन्।
त्यहीँ क्षण पार्टी परिवर्तनको साधन होइन, व्यवस्थाको उपकरण बन्न पुग्छ, र क्रान्तिको स्पन्दन हराउँछ। त्यसैले भविष्यप्रतिको स्पष्ट र दीर्घकालीन दृष्टि स्थापित नगरी कम्युनिस्ट आन्दोलनको पुनरुत्थान सम्भव छैन। भविष्य नै पार्टीलाई दिशा दिने प्रमुख कमपास हो।
५. सन्तुलन – रूपान्तरणको सूत्र
इतिहासको शिक्षा, वर्तमानको जिम्मेवारी र भविष्यको सपना – यी तीनलाई सन्तुलित ढङ्गले अघि बढाउन सक्ने पार्टी मात्र सैद्धान्तिक रूपमा दृढ र व्यवहारिक रूपमा प्रभावकारी बन्न सक्छ । नेपालमा अहिले यही सन्तुलन बिग्रिएको छ । कतिपय पार्टीहरू अतीतको गौरवमा अड्किएका छन्, अरू तात्कालिक व्यवहारवादमा सीमित छन्। यदि यी शक्तिहरूले पुनः भविष्यमुखी वैचारिक दृष्टिकोण पुनर्स्थापित गर्न सके, नेपालमा फेरि पनि वाम पुनर्जागरणको नयाँ अध्याय खुल्न सक्छ।
- निष्कर्ष :
इतिहासले दिशा देखाउँछ, वर्तमानले बाटो बनाउँछ, र भविष्यले गन्तव्य देखाउँछ। यी तीनै आयामको सन्तुलन नै कम्युनिस्ट आन्दोलनको पुनर्जागरणको सूत्र हो। सन्तुलनको बाटो समात्न सके, वाम आन्दोलन फेरि पनि जनताको विश्वासको केन्द्र बन्न सक्छ ।


