सिरहा — जेन जी आन्दोलन दोस्रो दिनमा प्रवेश गरेको छ। आन्दोलनले सिरहा जिल्लाका विभिन्न क्षेत्र—लहान, गोलबजार, मिर्चैया हुँदै सदरमुकाम सिरहामा आफ्नो उपस्थिति देखाइरहेको छ। आन्दोलनको क्रममा कुनै पनि सार्वजनिक सम्पत्ति क्षति नहोस् भन्ने उद्देश्यका साथ नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै निकायले चाकचौबन्द सुरक्षा व्यवस्था मिलाएको छन्।

सिरहा प्रहरी कार्यालयका डिएसपी बिरेन्द्र पासवानले जानकारी दिँदै भने, “सार्वजनिक सम्पत्ति जोगाउनु सबैको जिम्मेवारी हो। प्रदर्शनकारीले शान्तिपूर्ण र सभ्य ढङ्गले आफ्नो माग राख्नुपर्छ भन्ने हाम्रो आग्रह छ। सुरक्षाकर्मीहरू निरन्तर चनाखो अवस्थामा खटाइएका छन्।”

गत केही दिनयता आन्दोलनका क्रममा देशका विभिन्न भागमा देखिएका तोडफोड, आगजनी र भिडन्तका घटनाबाट स्थानीय नागरिक त्रसित बनेका छन्। काठमाडौँ उपत्यकामा देखिएका हिंसात्मक गतिविधि सिरहामा नदोहोरिउन् भन्ने उद्देश्यका साथ सुरक्षाकर्मीहरू विशेष सतर्क अवस्थामा राखिएको प्रहरीले जनाएको छ।

प्रदर्शन नियन्त्रणका लागि जिल्लाभरका संवेदनशील स्थानहरूमा प्रहरी बल थपिएको छ भने सशस्त्र प्रहरीलाई पनि आवश्यकताअनुसार तयारी अवस्थामा राखिएको छ। सडकमा हुने संभावित जुलुस, नाराबाजी वा विरोधसभालाई व्यवस्थापन गर्न ट्राफिक प्रहरीको संख्या समेत बढाइएको छ।

स्थानीयवासीले आन्दोलन शान्तिपूर्ण ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। “हाम्रो पीडा वा माग सरकारसम्म पुर्‍याउने तरिका शान्तिपूर्ण हुनुपर्छ, तोडफोड र आगजनीले आम नागरिकलाई मात्र दुःख दिन्छ,” सिरहाको सुखिपुरको समाजसेवी तथा अधिवक्ता गुमस्ता यादव  भने।

डिएसपी पासवानले थप भने, “हामीले आवश्यक सम्पूर्ण तयारी गरेका छौँ। शान्ति–सुरक्षा कायम गर्नु हाम्रो पहिलो दायित्व हो। तर यसमा जनताको सहयोग र सचेतना पनि अपरिहार्य छ।”

सम्वन्धित समाचार :