- हालसम्म प्राप्त विवरणअनुसार जेन–जीको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु र तीन सयभन्दा बढी घाइते भएका छन् । घाइतेहरुको निजमती अस्पताल, एभरेष्ट अस्पताल, ट्रमा सेन्टर, वीर अस्पतालमा उपचार भइरहेको छ ।
- जेन–जीको आन्दोलनमा दर्जनौं युवाको मृत्यु र सयौं घाइते हुँदा निजी क्षेत्रले सरकारको अत्यधिक बल प्रयोगप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।
- व्यापार, पर्यटन र अर्थतन्त्रमा प्रत्यक्ष असर परेको भन्दै उनीहरूले सामाजिक सञ्जाल बन्दजस्ता प्रविधि निषेधले व्यापार फस्टाउन नसक्ने चेतावनी दिएका छन्।
- निजी क्षेत्रका नेताहरूले जेन–जीको मागलाई सम्मान गर्दै वार्ता र समझदारीबाट समाधान खोज्न सरकारलाई आग्रह गरेका छन्।
काठमाडौँ — हालसम्म प्राप्त विवरणअनुसार जेन–जीको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु र तीन सयभन्दा बढी घाइते भएका छन् । घाइतेहरुको निजमती अस्पताल, एभरेष्ट अस्पताल, ट्रमा सेन्टर, वीर अस्पतालमा उपचार भइरहेको छ । जेन–जीको आन्दोलनबारे निजी क्षेत्रको प्रतिक्रिया :
‘जेन जीको आवाज सुनौं’
–शोभा ज्ञवाली, अध्यक्ष
नेपाल महिला उद्यमी महासंघ
जुनसुकै मुलुकको ब्याक बोन युवा नै हुन् । मुलुकको अर्थतन्त्रमा उनीहरुको योगदान ठूलो छ । सरकारले जेन जी युवाहरुलाई कसरी व्यवस्थापन गराउनेतर्फ लाग्नुपर्थ्यो । युवाहरुको सोच र विचार नयाँ हुन्छ । ती युवालाई बाहिर नपठाई आफ्नै मुलुकमा उनीहरुको उपयोग गर्न सक्नुपर्थ्यो । जबसम्म युवालाई देशमै काम गर्ने वातावरण बनाउन सकिन्न, तबसम्म समृद्ध मुलुक बन्न सक्दैन । मुलुकको अर्थतन्त्र चलायमान पनि हुन सक्दैन । जेन जीको शान्तिपूर्ण आन्दोलनलाई नराम्रो बनाउन भिजिलान्तेहरुले खेले, जुन दुःखद हो । आफ्नै मुलुकमा बस्न सक्ने वातावरण बनाइदिन, जेन जीको सोचलाई कदर गरिदिन आवाज उठाउनेदेखि सामाजिक सञ्जाल बन्द गर्न हुँदैन भन्ने विषय उठाइरहँदा मान्छे ताकेर नै गोली चलाएपछि दुःखद घटना भएको हो।

–वीरेन्द्र पाण्डे, अध्यक्ष
जेन जीको आन्दोलनमा दर्जनौं युवाले ज्यान गुमाए । यो दुर्भाग्यपूर्ण हो । सरकारले सुझबुझसहित जेन जीसँग समन्वय गरी शान्तिपूर्ण वातावरण बनाउनुपर्छ । सरकारले आवश्यकताभन्दा बढी बल प्रयोग गरेको जस्तो देखियो । सरकारले बल प्रयोग गर्ने भन्दा सहमति र समझदारी गरेर शान्तिपूर्ण वातावरण बनाउनेतर्फ लाग्नुपर्थ्यो । आन्दोलित जेन जीलाई शान्त बनाउन सरकारले भूमिका निर्वाह गर्नुपर्छ । उनीहरुका मुद्दा पनि सुन्न सक्नुपर्छ । सही मुद्दा उठाएका छन् भने त्यसको सम्बोधन गर्नुपर्यो ।
वार्ता गरेर होस् वा अनेक विधि प्रयोग गरी सरकारले छिटोभन्दा छिटोयसको समाधान खोज्नैपर्छ । जेन जी आन्दोलनले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रसहित मुलुककै विभिन्न क्षेत्र बन्द छ । मुलुकमा सुशासन कायम होस्, स्वतन्त्र रुपमा आफ्नो मत राख्न पाइयोस् भन्ने नै जेन जीहरुको माग हो, जुन संविधानले समेत दिएको अधिकार हो । सोमबार यातायातका साधन प्रायः बन्द भए । यसबाट त्यहाँ काम गर्नेहरु प्रभावित बने । यात्रुहरु सडकमै अलपत्र परे । व्यापारको चक्र बिथोलियो । अब सरकारले छिटोभन्दा छिटो वार्ता गरेर समाधानको बाटो खोज्नुपर्छ ।
…
‘नयाँ पुस्ताको समयानुकूल मागको सम्मान गरौं’
–भवानी राणा, पूर्वअध्यक्ष
नेपाल उद्योग वाणिज्य महासंघ
सोमबारको दुःखद घटनाले सम्पूर्ण नेपालीको हृदयमा गहिरो पीडा दिएको छ । आफ्नो अधिकारका लागि अग्रसर भई लडिरहेका जेन–जी पुस्ताका कलिला भाइबहिनीहरूले जीवन गुमाउनुपरेको खबर सुन्दा अत्यन्त पीडाबोध भएको छ । जेन–जी पुस्ताको माग केवल उनीहरूकै लागि मात्र नभई सम्पूर्ण नेपालको उज्ज्वल भविष्यका लागि हो । नयाँ पुस्ताको समयानुकूल र न्यायसंगत मागलाई हामी सबैले सम्मान गर्न जरुरी छ ।
…सरकारले अत्यधिक बल प्रयोग गरेको देखियो
–सुवास न्यौपाने, अध्यक्ष
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)
जेन–जीको आन्दोलनमा सरकारले अत्यधिक बल प्रयोग गर्यो । यति धेरै संख्यामा जनधनको क्षति हुने गरी सरकारले बल प्रयोग गर्नु हुँदैनथ्यो । आन्दोलन नियन्त्रण गर्ने नाममा सरकारले अपनाएको विधि ठीक भएन । आन्दोलनको मुख्य माग सरकारले गरेको सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता लिनुपर्ने पनि हो । सामाजिक सञ्जालमा युवा पुस्ता निकै अभ्यस्त थिए । यसकारण छोटो सूचनाका आधारमा एक्कासि सरकारले सामाजिक सञ्जाल बन्द गर्नु हुँदैनथ्यो । सरकारका तर्फबाट हेर्दा पनि सामाजिक सञ्जालहरूलाई दर्ता गर भन्नु बेठीक होइन । तर सञ्जाल बन्द गरेर त्यसबाट लाभ लिइरहेको जमातलाई एक्कासि सुविधाबाट वञ्चित गराउनु राम्रो होइन । सरकारले अब आन्दोलनलाई संयमित ढंगले व्यवस्थापन गर्न पहल गर्नुपर्छ ताकि थप जनधनको क्षति नहोस् ।
...‘सरकारी हर्कतले पर्यटन क्षेत्रलाई तत्काल असर गर्छ’
–ध्रुव थापा,पूर्वअध्यक्ष
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल
प्रदर्शनमा नहुनुपर्ने घटना सोमबार भयो, यो अति दुःखद विषय हो । प्रदर्शनमा दमन पनि बढी देखियो । नेपालको इतिहासमा यस्तो घटना पहिलो पटक भए जस्तो लाग्छ । यसलाई मैले युवापुस्तामा राजनीतिप्रति देखिएको वितृष्णाका रूपमा लिएको छु । विगतदेखिकै असन्तुष्टि सोमबार देखिएको हो । जेनजीका माध्यमबाट बाहिर आएको मात्रै हो ।
प्रविधिको जमानामा मिडिया, सामाजिक सञ्जाललाई नियन्त्रण गर्नु ठीक होइन । सामाजिक सञ्जालकै माध्यमबाट पुराना पार्टी यहाँसम्म आएका छन् । बोल्न पाइँदैन, लेख्न पाइँदैन, विरोध गर्न पाइँदैन भन्नु नै गलत हो ।
यस्तो प्रकारको आन्दोलनले व्यापार व्यवसायमा असर गर्छ नै । तत्काल असर गर्ने पर्यटन क्षेत्रमा हो । गलतलाई गलत र ठीकलाई ठीक भन्न सक्नुपर्छ । सरकारले दमन नगरेको भए दर्जनौं नागरिकको मृत्यु हुने थिएन ।
…
‘आन्दोलनले अर्थतन्त्रमा प्रभाव पार्छ, प्रविधि नहुँदा व्यापार विस्तार हुँदैन’

–कमलेशकुमार अग्रवाल
अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
जेनजीको अगुवाइमा काठमाडौंमा सोमबार गरिएको प्रदर्शनमा धेरै दुःखद घटना भए । यसमा सुरक्षा निकाय संवेदनशील हुनुपर्थ्यो, त्यो देखिएन । प्रदर्शनमा भएको घटनाले सबैलाई दुःखी तुल्याएको छ । सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा होस् या अन्य जुनसुकै आन्दोलन किन नहोस्, त्यसले अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्छ । उद्योग व्यवसायमा असर पार्छ ।
अहिले अर्थतन्त्र सुधारोन्मुख छ । तर अब यसमा नकारात्मक प्रभाव पर्न सक्छ । सरकारले एकै चोटि दुई दर्जन एप बन्द गर्दा धेरै युवालाई प्रत्यक्ष असर परेको छ । किनभने धेरैले सोही माध्यमबाट जीविकोपार्जन गर्दै आएका छन् । वैदेशिक रोजगारीमा गएका नेपालीसँग सम्पर्क गर्ने माध्यम पनि अनलाइन हो । त्यो सम्पर्क पनि टुटेको छ । व्यापारिक हिसाबले हेर्दा चीनसँगको व्यापार गर्ने माध्यम विच्याट मात्रै माध्यम हो । सामाजिक सञ्जाल बन्द हुँदा वैदेशिक व्यापारमा समस्या आएको छ । सामाजिक सञ्जाल बन्द भएका बेला विदेशी लगानी पनि आउँदैन ।


