ब्यूरो रिपोर्ट
काठमाण्ड़ौ । सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालले सीमा क्षेत्रमा हुने चोरी–तस्करी नियन्त्रणमा कुनै पनि प्रकारको कमजोरी सह्य नहुने चेतावनी दिएका छन्। उनले मुख्यालय स्वयंले सीमा सुरक्षाको अवस्थामाथि सूक्ष्म निगरानी गरिरहेको भन्दै ‘कमजोरी देखिए कमान्डर स्वयं कारबाहीको भागीदार बन्ने’ स्पष्ट सन्देश दिएका हुन्।
मंगलबार सशस्त्र प्रहरी प्रधान कार्यालयमा भर्चुअल बैठकमार्फत सीमा क्षेत्रमा खटिएका सबै तहका कमान्डरलाई निर्देशन दिँदै आइजिपी अर्यालले जवाफदेही, अनुशासन र जिम्मेवारीमा कुनै सम्झौता नगर्न आदेश दिए। चेन अफ कमान्डलाई मजबुत बनाउन मातहत हरेक अधिकारीले आफ्नो भूमिकामा सतर्क रहनुपर्नेमा उनले जोड दिए।
“हरेक कमान्डर मुलुक, आमजनता र संगठनको हितमा विवेकपूर्ण निर्णय लिन स्वतन्त्र छन्,” उनले भने, “सही कार्यका लागि मुख्यालयको आदेशको प्रतीक्षा गर्नु पर्दैन।”
अनुशासन र आचरणप्रति कडाइ
सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई निर्धारित आचरणअनुसार काम गर्न उनले निर्देशन दिए। समय–समयमा काउन्सिलिङ गरेर आचरण विपरीत गतिविधि गर्नेहरूमाथि कठोर कदम चालिने चेतावनी पनि आइजिपी अर्यालले दिए। शंकास्पद व्यक्तिमाथि विशेष निगरानी गर्ने, अवैध आवतजावत रोक्ने र सीमा क्षेत्रमा चनाखो भएर काम गर्नुपर्नेमा उनले जोड दिए।
स्थानीयसँग सहकार्य आवश्यक

कार्यक्रममा सीमा सुरक्षा विभाग प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजिपी) गणेशबहादुर ठाडामगरले सीमा सुरक्षामा स्थानीय बासिन्दासँग सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए। उनले “स्थानीयको विश्वास जित्न सके मात्र सीमा सुरक्षामा दिगो सफलता हासिल हुन्छ” भन्दै जनस्तरसँगको समन्वयमा बल दिन निर्देशन दिए।

बैठकमा सीमावर्ती बाहिनी मुख्यालय प्रमुखहरूले हाल सीमा क्षेत्रमा भइरहेका गतिविधि र सुरक्षासम्बन्धी कार्ययोजना प्रस्तुत गरेका थिए। त्यस्तै, गण, गुल्म तथा बिओपी कमान्डरहरूले सीमा सुरक्षाको वर्तमान अवस्था, देखिएका चुनौती र आगामी योजनाबारे विस्तृत जानकारी दिएका थिए।
सशस्त्र प्रहरी बलले बैठकमार्फत प्राप्त सुझाव र निर्देशनलाई कार्यान्वयन गर्दै सीमा क्षेत्रमा हुने चोरी–तस्करी तथा अवैध आवतजावतलाई रोकथाम गर्ने तयारीलाई थप सुदृढ बनाइने जनाएको छ।

सम्वन्धित समाचार :