मुकेश कुमार यादव बरियारपट्टी – सिरहाको बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष कुमार महतोले गाउँपालिकाका पाँचै वडामा रहेका सिँचाइ मिटरहरूको विद्युत महसुल नेपाल विद्युत प्राधिकरणलाई बुझाएका छन्। स्थानीय कृषकहरूको सिँचाइमा समस्या नहोस् भन्ने उद्देश्यले पालिकाले यो कदम चालेको हो।
अध्यक्ष महतोका अनुसार सिँचाइलाई नियमित र व्यवस्थित बनाउनका लागि विद्युत महसुल पालिकाबाट नै तिर्ने निर्णय गरिएको थियो। उक्त निर्णयअनुसार, वडा नम्बर १ देखि ५ सम्मका सिँचाइ मिटरहरूको संपूर्ण बक्यौता महसुल पालिकाको तर्फबाट एकमुष्ट रूपमा विद्युत प्राधिकरणलाई बुझाइएको हो।
“कृषकहरूलाई सहज वातावरणमा खेती गर्न सघाउ पुर्याउन गाउँपालिकाले सधैं अग्रसरता लिन्छ,” अध्यक्ष महतोले भने, “सिँचाइ सुविधाको निरन्तरताका लागि यो कदम चालिएको हो।”
स्थानीय कृषकहरूले पालिकाको यस पहलप्रति आभार व्यक्त गर्दै खेतीपातीमा थप सहजता हुने विश्वास व्यक्त गरेका छन्।


