काठमाडौँ । अछाम जिल्लाको साँफेबगर नगरपालिका–४ स्थित साँफे बगरका तारा आउजी अहिले पनि हलिया बसेका छन् । बाबुबाजेले कुनै बेला साहुसँग लिएको ऋण तिर्न नसक्दा ब्याजस्वरूप उनी मुक्त हलियाको रूपमा काम गर्दै आएका हुन् । तर उनीसँग मुक्त हलियाको परिचयपत्र छैन । सरकारले पुनःस्थापनाका लागि लगत लिने क्रममा आउजी छुटेका छन् ।
साँफेबगर–४ मा आउजी जस्तै २०–२५ घर गणनामै छुटेका छन् । सोही ठाउँका दिनेश लुहार मष्टामाडौँ निवासी झपट कुँवरको घरमा वर्षौंदेखि हलिया बसेका छन्, तर उनको पनि परिचयपत्र बनेको छैन । सुरेन्द्र भूल अर्का हलिया हुन् । सात–आठ बोरा धान र तीन–चार बोरा गहुँ लिने शर्तमा पुस्तौंदेखि स्थानीय ध्रुब कुँवरको घरमा हलिया बसेका सुरेन्द्र भूलको नाममा पनि परिचयपत्र बनेको छैन ।
बिना पारिश्रमिक हलो जोताइरहेका छन् । श्रमिक किसान ऋणको ब्याज, जमिनको भाडा वा खाने अन्नको मूल्य तिर्नुपर्ने बाध्यताबाट मुक्त हुने आशामा बन्धुवा बनिरहेका छन् । भूमिहीन भएकै कारण उनीहरू जमिन्दारसँग बाँधिएका छन् । उनीहरूलाई जमिन्दारको स्वीकृतिबिना अन्यत्र काम गर्ने स्वतन्त्रता छैन ।
हलियाको लामो संघर्षपछि सरकारले २०६५ भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको थियो । त्यसपछि १६ हजार ३२२ हलिया प्रमाणित गरिएको थियो । आर्थिक वर्ष २०६७/६८ देखि पुनःस्थापन कार्यक्रम सुरु भयो । २०७० सालमा कार्ययोजना स्वीकृत भएपछि पुनःस्थापना कार्यक्रम अघि बढेको थियो ।
सरकारी तथ्याङ्कअनुसार १६ हजार ३२२ मध्ये अझै २ हजार ३६७ परिवारले परिचयपत्र पाएका छैनन् । परिचयपत्र पाएकामध्ये १ हजार १३५ परिवारले पुनःस्थापनाको प्याकेज पाएका छैनन् । कुलमध्ये ८५ प्रतिशतले मात्र परिचयपत्र र ७८ प्रतिशतले मात्र पुनःस्थापनाको प्याकेज पाएका छन् ।
परिचयपत्र वर्गीकरणअनुसार १२ प्रतिशतले ‘क’, २७ प्रतिशतले ‘ख’, ५ प्रतिशतले ‘ग’ र ५६ प्रतिशतले ‘घ’ वर्गको परिचयपत्र पाएका छन् । २०७० जेठदेखि २०७६ वैशाखसम्म १ हजार ६०१ परिवारका लागि जग्गा खरिद, २ हजार २०३ घर निर्माण र ८ हजार ४२७ घर मर्मत गरिएको तथ्याङ्क छ । तर राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालले यसमा असहमति जनाएको छ ।
महासङ्घका अनुसार पुनःस्थापन अपूर्ण छ । रोजगारी, शिक्षा, स्वास्थ्य र आयआर्जनका कार्यक्रम प्रभावकारी रूपमा लागू भएका छैनन् । २०६५ मा भएको पाँचबुँदे सहमति पनि कार्यान्वयनमा आएको छैन । २०७८ मा बनेको अध्ययन समितिले हलियाको वर्गीकरण अवैज्ञानिक भएको उल्लेख गरेको छ ।
सरकारले विभिन्न समिति र कार्यदल बनाए पनि समस्या समाधान हुन सकेको छैन । समितिले छुटेका हलियाको लगत सङ्कलन प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ ।
नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले विभिन्न चुनावी घोषणापत्रमा हलिया र सुकुम्बासीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन भएको छैन । वर्तमान सरकारले पनि सुकुम्बासीको लगत सङ्कलन र पुनर्वास गर्ने योजना सार्वजनिक गरेको छ, तर हलियाको विषय स्पष्ट रूपमा अघि बढेको छैन ।
संविधानले बाध्यकारी श्रम निषेध गरेको छ । सम्मानपूर्वक बाँच्ने हक, छुवाछूतविरुद्धको हक र शोषणविरुद्धको हक सुनिश्चित गरिएको छ । कसैलाई पनि बन्धुवा बनाउने कार्य दण्डनीय हुने उल्लेख छ । तर व्यवहारमा हलियाहरू अझै बन्धुवा श्रमिकका रूपमा काम गरिरहेका छन् ।
संविधानले भूमिहीन दलितलाई जमिन र आवास दिने व्यवस्था गरेको छ । तर अधिकांश हलिया भूमिहीन र आवासविहीन छन् । पुनःस्थापनसँगै शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था आवश्यक देखिएको छ ।
हलिया समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर हुनुपर्छ । सबैभन्दा पहिले छुटेका हलियाको लगत सङ्कलन गर्नुपर्छ । ऋण खारेजी, जमिनको व्यवस्था, शिक्षा, स्वास्थ्य र रोजगारीको पहुँच सुनिश्चित गर्नुपर्छ । सामाजिक न्याय र मानव अधिकारको प्रत्याभूति दिन हलिया प्रथा अन्त्य अपरिहार्य छ ।
