महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै यसपालिको वासन्ती छठ पर्व बर्तालुले सम्पन्न गरेका छन् । मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका बर्तालुले आज बिहान सूर्योदय भएसँगै दोस्रो अर्घ्य दिएर पर्व सम्पन्न गरेका हुन् ।
चारदिने यो पर्व चैत शुक्ल चौथी (चतुर्थी) देखि सप्तमीसम्मको हुन्छ । यसपालि गत आइतबार चैत शुक्ल चतुर्थी (चौथी)का दिन ‘नहाय–खाय’ र सोमबार पञ्चमी तिथिका दिन बर्तालुले ‘खरना’ विधि सम्पन्न गरेका थिए । यसैगरी मङ्गलबार षष्ठी तिथिको निराहार व्रत बसेर बर्तालुले साँझ अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका थिए । यो पहिलो अघ्र्यलाई यहाँ ‘सझुका अरख’ भन्ने गरिएको छ । त्यसैगरी आज उदाउँदो सूर्यलाई दिइने अघ्र्यको विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।
