काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा ३ देखि ५ हजारसम्मको मतान्तरले पराजित हुन परेका क्षेत्रहरूमा मुख्यतः आन्तरिक मतभेद र कमजोर चुनावी अभियान जिम्मेवार रहेको बताए ।

गत शुक्रबार र आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सदस्यहरूले उठाएका विषयबारे जानकारी दिने क्रममा प्रवक्ता चालिसेले मुख्यतः आन्तरिक कारणले हारिएका क्षेत्र २०÷२१  वटा रहेको बताएका थिए ।

‘पाँचदेखि तीन हजारभन्दा कम मतले हाम्रो पार्टीको आन्तरिक कारणले पराजित भएको भन्ने निष्कर्षमा हामी पुगेका छौँ,’ प्रवक्ता चालिसेले सञ्चारकर्मीहरूसँग भनेका थिए, ‘ती प्रतिनिधि सभाका क्षेत्र २०÷२१ वटा जति छन् ।’

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले अहिलेसम्मकै कमजोर नतिजा निकालेको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी जम्मा ३८ सिटमात्रै जितेको छ । प्रतिनिधि सभामा कांग्रेसको यो उपस्थिति जम्मा १३ दशमलव ८२ प्रतिशतमात्रै हो ।
निर्वाचनको प्रारम्भिक समीक्षा गर्न बसेको केन्द्रीय समिति बैठकले पनि आन्तरिक कारण २० भन्दा बढी क्षेत्रमा पराजय व्यहोर्नुपरेको निष्कर्ष निकालेको छ ।
चालिसेको भनाइ र केन्द्रीय कार्यसमितिको निष्कर्षपछि कांग्रेसले ३ देखि ५ हजारको अन्तरमा हारेका निर्वाचन क्षेत्रबारे निर्वाचन आयोगको वेब पोर्टलमा कांग्रेसका उम्मेदवार र अन्य उम्मेदवारले पाएको मत केलाउँदा२० वटा देखिए । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र छन् ।

कांग्रेसका उम्मेदवारहरू ताप्लेजुङ, संखुवासभा, धनकुटा, खोटाङ, ओखलढुंगा, बझाङ, बैतडी, अछाम–२ र कैलाली–१ मा पाँच हजारभन्दा कम मतान्तरले हारेका छन् ।

निर्वाचन आयोगको तथ्याङ्कअनुसार सिन्धुली–१, नुवाकोट–१, सिन्धुपाल्चोक–२, स्याङ्जा–२, बागलुङ–२, डोल्पा, दैलेख–२, रुकुम पश्चिम, गुल्मी–२, धनुषा–१ मा पाँच हजारभन्दा कम मतान्तरले कांग्रेसका उम्मेदवार पराजित भएका छन् ।

खोटाङमा कांग्रेस उम्मेदवार वीरकाजी राई श्रम संस्कृति पार्टीका आरेन राईसँग चार हजार ६५५ मतले पराजित भएको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । आरेनले १६ हजार ६१२ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार वीरकाजीले ११ हजार ९५७ मत पाए ।

ताप्लेजुङमा कांग्रेस उम्मेदवार गजेन्द्रप्रसाद तुम्याङ लिम्बू एमाले उम्मेदवार क्षितिज थेबेसँग दुई हजार २५१ मतले पराजित भए । थेबेले १३ हजार ९६२ मत पाउँदा लिम्बूले ११ हजार ७११ मत पाए ।

धनकुटामा कांग्रेस उम्मेदवार दिनेश राई एमालेका उम्मेदवार राजेन्द्रकुमार राईसँग ३ हजार ८७५ मतले पछि परे । एमालेका उम्मेदवार राजेन्द्रले १८ हजार १३२ मत पाउँदा कांग्रेस उम्मेदवार दिनेशले १४ हजार २५७ मत प्राप्त गरे ।

संखुवासभामा एमालेका अर्जुनकुमार कार्कीसँग कांग्रेस उम्मेदवार दिपनकुमार श्रेष्ठ दुई हजार ३६५ मतले पराजित भए । कार्कीले १५ हजार ६३६ मत पाउँदा श्रेष्ठले १३ हजार २७१ मतमात्रै पाए ।

ओखलढुंगामा कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबिच ५ मतको अन्तरमा मात्रै हारजित भयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विश्वराज पोखरेल १३ हजार ९५३ मतसहित निर्वाचित हुँदा १३ हजार ९४८ मत प्राप्त गरेका कांग्रेस उम्मेदवार कुमार लुइटेल ५ मतले मात्रै पछि परे ।

धनुषा–१ मा कांग्रेस उम्मेदवार रामपल्टन साह ९२८ मतले नेपाली कम्युनिस्ट पार्टीका नेता मातृकाप्रसाद यादवसँग पराजित भए । यादवले १० हजार ४३० मत पाउँदा कांग्रेस उम्मेदवार साहले ९ हजार ५०२ मत पाए ।

आयोगको तथ्याङ्क अनुसार नुवाकोट–१ मा कांग्रेस उम्मेदवार डा. प्रकाशशरण महत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. विक्रम तिमल्सिनासँग ४ हजार १२ मतले पराजित भए । तिमिल्सिनाले २२ हजार ६०९ मत पाउँदा महतले १८ हजार ५९७ मत पाए ।

सिन्धुली–१ मा कांग्रेस १ हजार ८९ मतले मात्रै पछि प-यो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धनेन्द्र कार्की १६ हजार ६५९ मत ल्याएर निर्वाचित हुँदा कांग्रेस उम्मेदवार उज्ज्वलप्रसाद बरालले १५ हजार ५७० मतमात्रै ल्याउन सके ।

सिन्धुपाल्चोक–२ मा कांग्रेसका वंशलाल तामाङ नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलालसँग २ हजार ५५३ मतले पराजित भए । दुलाल २१ हजार ६९९ मतसहित निर्वाचित हुँदा तामाङले १९ हजार १४६ मत पाए ।

बागलुङ–२ मा कांग्रेस उम्मेदवार टेकराज पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्मासँग ७७९ मतले पछि परे । शर्मा १२ हजार ६४७ मत पाएर निर्वाचित हुँदा पौडेलले ११ हजार ८६८ मत पाए ।

स्याङ्जा–२ मा कांग्रेसका भागवतप्रकाश मल्ल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झविलाल डुम्रेसँग ४ हजार ५१४ मतले पराजित भए । डुम्रेले २५ हजार ३५४ मत ल्याउँदा मल्लले २० हजार ८४० मत पाए ।

गुल्मी–२ मा कांग्रेसका भुवनप्रसाद श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थीसँग २ हजार ५३३ मतले पराजित भए । पन्थीले १६ हजार ९६७ मत पाउँदा श्रेष्ठले १४ हजार ४३४ मत पाए ।

दैलेख–२ मा कांग्रेस ४ हजार ३३७ मतले एमालेसँग पराजित भयो । एमालेका लक्ष्मीप्रसाद पोखरेल १३ हजार ८८९ मतसहित निर्वाचित हुँदा कांग्रेस उम्मेदवार दिक्पालकुमार शाहीेले ९ हजार ५५२ मत पाए ।

डोल्पामा कांग्रेसका सहमहामन्त्री कर्णबहादुर बुढा नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर बुढासँग ३ हजार ८५५ मतले पराजित भए । धनबहादुर ६ हजार ८०२ मत ल्याएर निर्वाचित हुँदा कर्णबहादुरले २ हजार ९४७ मत पाए ।

दार्चुलामा एमालेसँग ३ हजार ६५ मतले कांग्रेस पराजित भयो । एमालेका गणेशसिंह ठगुन्ना १८ हजार ८९१ मतसहित विजयी हुँदा कांग्रेस उम्मेदवार धर्मानन्द जोशीले १५ हजार ८३६ मत पाए ।

रुकुम पश्चिममा कांग्रेस उम्मेदवार राजु केसी नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्मासँग ४ हजार ९४८ मतले पराजित भए । शर्मा २१ हजार ६०९ मत ल्याएर निर्वाचित हुँदा केसीले १६ हजार ६६१ मत पाए ।

बझाङमा कांग्रेस उम्मेदवार प्रकाश रसाइली एमालेका ऐनसिंह महरसँग २ हजार २३९ मतले पराजित भए । महर १८ हजार ५४३ मतसहित निर्वाचित हुँदा रसाइलीले १६ हजार ३०४ मत पाए ।

बैतडीमा कांग्रेस उम्मेदवार चतुरबहादुर चन्द राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिमोहन भण्डारीसँग २ हजार ९४० मतले पराजित भए । भण्डारीले २२ हजार १३४ मत ल्याउँदा चन्दले १८ हजार १९४ मत ल्याए ।

कैलाली–१ मा कांग्रेस उम्मेदवार जनकराज चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कोमल ज्ञवालीसँग ४ हजार ९५९ मतले पराजित भए । ज्ञवालीले १७ हजार ८२६ मत पाउँदा चौधरीले १२ हजार ८६७ मत पाए ।

अछाम–२ मा कांग्रेस उम्मेदवार पुष्पबहादुर शाह एमालेका यज्ञबहादुर बोगटीसँग ४७२ मतले पराजित भए । बोगटीले ९ हजार ५१८ पत ल्याउँदा शाहले ९ हजार ४६ मत प्राप्त गरे ।

संस्थापनले ३ देखि ५ हजारसम्मको हारलाई पार्टीको आन्तरिक विवादका कारण भएको अन्तर्घात भनेको छ । शुक्रबार र आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नै केही स्थानमा अन्तर्घातका कारण पराजय व्यहोर्नुपरेको उल्लेख गरेको छ ।

प्रवक्ता चालिसेले पार्टीको आन्तरिक कारणले केही सिट गुमाउनु परेको सञ्चारकर्मीलाई बताए । ‘पार्टीभित्रको आन्तरिक कारणले केही सिट गुमेका छन् । त्यसबारे अध्ययन, अनुसन्धान र छानबिन भइरहेको छ,’ प्रवक्ता चालिसेले भने ।

कांग्रेसमा १४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा समूह, त्यो महाधिवेशनमा सभापतिमा निकटतम प्रतिद्वन्द्वी बनेका नेता डा. शेखर कोइराला समूहको सहभागिताबिना तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन गरिएपछि कांग्रेसमा विवाद बढेको हो । गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनले थापालाई सभापति चयन गर्दै नयाँ केन्द्रीय समिति घोषणा गरेको थियो । त्यो समितिमा शर्मा उपसभापति छन् ।

त्यो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा र कोइराला समूहले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । त्यो रिट अहिले पनि सर्वोच्चमा विचाराधीन छ ।

सर्वोच्चमा आफूहरूले दायर गरेको रिट विचाराधीन रहेको भन्दै देउवासहित सो समूहका शीर्ष नेताहरू मतदान गर्नसमेत गएनन् ।

यसले अन्तर्घात भएको वर्तमान कार्यसमितिको बुझाइ छ । त्यो अभिव्यक्ति शुक्रबार र आइतबार बसेको केन्द्रीय समितिमा बोल्ने नेताहरूले पनि दिएका प्रवक्ता चालिसेले बताए ।

अन्तिम समयमा देउवा पक्षकै नेता पूर्णबहादुर खड्काले सामाजिक सञ्जालमा अपिल गरेका थिए । सुर्खेत–१ बाट निर्वाचन लड्दै आएका खड्काले गरेको अपिलका कारण कर्णालीमा कांग्रेस ५ जिट जित्दै पहिलो बनेको भन्दै वर्तमान संस्थापनका नेताहरू पूर्वसभापति देउवाले पनि त्यस्तै अपिल गरेको भए सुदूरपश्चिममा आफ्नो सिट बढ्ने थियो भनिरहेका छन् ।

खड्काले सामाजिक सञ्जालमा लेखेका थिए, ‘फागुन २१ गते बिहान ७ बजेदेखि सुरु हुने मतदानमा कर्णाली प्रदेशलगायत सातै प्रदेशका देशभरिका सबै मतदान केन्द्रमा जानुभई प्रनिनिधि सभाको प्रत्यक्ष र समानुपातिकतर्फका दुबै मत पत्रमा हाम्रो पार्टी नेपाली कांग्रेसको ऐतिहासिक चुनाव चिह्न रुखमा आफ्नो बहुमूल्य मतको स्वस्तिक छापको लालमोहर लगाइ भारी बहुमतका साथ विजयी गराइ दिनु हुन हृदयदेखिनै हार्दिक विनम्र अनुरोध गर्दछु ।’

सम्वन्धित समाचार :