रौतहट । रौतहट जिल्लाको सदरमुकाम गौरमा राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका लागि जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिएको छ। बुधवार अपराह्न एक कार्यक्रमका बिच गौर स्थित करदाता सेवा कार्यालय परिसरमा राष्ट्रिय आर्थिक गणना २०८२ का लागि जिल्ला स्तरको कार्यालय स्थापना गरिएको हो ।
कार्यालय स्थापना कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित रौतहटका सिडिओ दिनेश सागर भुसालले आर्थिक गणनाले उद्योग, व्यापार, सेवा क्षेत्र तथा रोजगारीको अवस्थाबारे विस्तृत तथ्याङ्क उपलब्ध गराउने बताएका छन् ।
सिडिओ भुसालका अनुसार, सङ्कलित तथ्याङ्कले स्थानीय स्तरको आर्थिक चित्र स्पष्ट पार्नुका साथै दीर्घकालीन विकास योजना निर्माणमा टेवा पुग्नेछ। त्यसैगरी, तथ्याङ्क अधिकृत सुमन्त यादवले गणनाका लागि आवश्यक जनशक्ति व्यवस्थापन, तालिम तथा घरदैलोमार्फत तथ्याङ्क सङ्कलन कार्य चाँडै सुरु गरिने जानकारी दिएका छन् ।
उद्घाटन कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दास, जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासन शाखा प्रमुख रामनरेश साह, लेखापाल ब्रजकिशोर साह, उमेश यादव लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
आर्थिक गणनाबाट प्राप्त तथ्याङ्कले नीति निर्माण, विकास योजना तथा लगानी प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
