रोबी । पूर्वी अफ्रिकी देश केन्यामा लगातार परेको भारी वर्षापछि आएको बाढीका कारण कम्तीमा ६६ जनाको ज्यान गएको छ । पछिल्लो घटनामा थप चार जनाको मृत्यु भएपछि एक साताभित्र मृत्यु हुनेको सङ्ख्या ६६ पुगेको प्रहरीले जनाएको छ ।

देशको राजधानी नैरोबीमा आइतबार राति पनि भारी वर्षा भएको थियो । यद्यपि पछिल्लो वर्षापछि नयाँ मृत्युको खबर भने आएको छैन । बाढीका कारण पानीको सतह अचानक बढेपछि स्थानीय रूपमा मातातु भनिने मिनीबस ट्याक्सी पानीमा फसेको थियो । केन्या रेड क्रसका अनुसार त्यसमा रहेका ११ जनालाई उद्धार गरिएको छ । साथै बाढीले डुबानमा परेको एउटा घरबाट दुई बालबालिकालाई पनि सुरक्षित रूपमा निकालिएको छ ।

गत एक सातादेखि परेको अविरल वर्षाका कारण धेरै नदीहरू किनारा नाघेर बग्न थालेका छन् । त्यसका कारण घरहरू डुबानमा परेका छन् भने सडक, विद्युत् लाइन र खानेपानीका संरचनामा पनि क्षति पुगेको छ । नैरोबीका केही पुलमा क्षति पुगेपछि केही सडक बन्द गरिएको छ । शनिबार परेको मुसलधारे वर्षापछि केही विद्यालयहरू पनि डुबानमा परेका छन् ।

केन्याको आन्तरिक मन्त्रालयले देशका विभिन्न क्षेत्रमा अझै पनि भारी वर्षा जारी रहने चेतावनी दिँदै बाढीको जोखिम बढिरहेको जनाएको छ । मन्त्रालयले नागरिकलाई सतर्क रहन र जोखिमयुक्त क्षेत्रबाट टाढा बस्न आग्रह गरेको छ ।

सम्वन्धित समाचार :