• नेपालको राजनीति संवेदनशील मोडमा रहेको र नागरिकको जीवनस्तरमा परिवर्तन नभएको कुरा उल्लेख छ।
  • राजनीतिक ध्रुवीकरण, पुराना दल र नयाँ शक्तिबीचको प्रतिस्पर्धा र अस्थिर गठबन्धनबारे विश्लेषण गरिएको छ।
  • भ्रष्टाचार, युवा पलायन र आर्थिक संकटले देशलाई गम्भीर संकटमा पार्ने सम्भावना रहेको कुरा बताइएको छ।
  • देशको अवस्था ठिक छैन । नेपालको राजनीति इतिहासकै सबै भन्दा संवेदनशील मोडमा उभिएको छ ।
    व्यवस्था परिवर्तन भएको डेढ दशक बितिसक्दा पनि नागरिकको जीवनस्तरमा तात्त्विक परिवर्तन अनुभव भएन । राजनीतिक दलहरू सत्ताको लुछाचुँडीमा मात्र केन्द्रित भए ।

    एकपछि अर्को गर्दै भ्रष्टाचारका ठुला काण्डहरू सार्वजनिक हुँदैछन् । समग्रमा देश नै डरलाग्दो ‘अधोगति’ तर्फ गएको भान हुँदैछ । आजको राजनीतिलाई नियाल्न आलेखमा निम्न आँखीझ्याल प्रयोग गरिएको छ ।

    राजनीति विभिन्न स्वरूपको ध्रुवीकरणमा छ । विगतमा कांग्रेस र कम्युनिस्टबिच हुने यस्ता ध्रुवीकरण सैद्धान्तिक आधारमा हुन्थे । तर अहिले सैद्धान्तिक आधार खिइएर ‘सत्ता स्वार्थको ध्रुवीकरण’ मा सीमित भएको छ । आजको ध्रुवीकरणलाई बुझ्न पुरानो तरिका पर्याप्त छैन । आउनुस् देशमा हुँदै गरेको ध्रुवीकरणका मुख्य आयामहरूबारे चर्चा गरौँ ।
    पुराना दलविरुद्ध नयाँ शक्तिको ध्रुवीकरणः 
     समाज स्पष्ट दुई कित्तामा उभिएको छ । एकातिर कांग्रेस, एमाले, माओवादीलगायत दशकौँदेखि सत्तामा रहेका स्थापित दलहरू छन् भने अर्कोतिर रवि लामिछाने नेतृत्वको रास्वपा, उज्यालो नेपाल, बालेन शाह जस्ता व्यक्तिहरू तथा ‘नो नट अगेन’ भन्ने शक्ति छ ।

    आपसमा एक ठाउँमा भएर उभिँदै गर्दा यस्तो ध्रुवीकरण एजेन्डामा भन्दा पनि ‘अस्तित्व’ को लडाइँमा बढी केन्द्रित देखिन्छ । पुराना दललाई आफ्नो स्थापित शक्ति र अस्तित्व  रक्षा गर्नुछ । नयाँ शक्तिलाई आफ्नो सम्मानजनक स्थान सुरक्षित गर्नुछ । सबै ‘डु एन्ड डाई’ को अवस्थामा छन् । यस्तो अस्तित्वको लडाइँमा मुलुकको एजेण्डा कतै छायामा त पर्दैन भन्ने आशंका गर्ने ठाउँ धेरै छ ।

    व्यवस्था विरोधी ध्रुवीकरण: 

    गणतन्त्र र सङ्घीयता कार्यान्वयनमा देखिएका कमजोरीहरूको जगमा ‘राजावादी’ वा व्यवस्था विरोधी स्वरहरू एक ठाउँमा ध्रुवीकृत हुँदैछन । सडकमा देखिने प्रदर्शनहरूले वर्तमान संविधानमाथि नै प्रश्न चिन्ह खडा गरिदिएका छन् ।

    व्यवस्था तथा त्यसको आधारका रूपमा रहेको संविधानमाथि प्रश्न चिन्ह खडा गरेर देखा परेको आवाजले राजनीतिको दिशा बदल्ने प्रयास गरिरहेकै छ । यस्तो ध्रुवीकरण बढ्दै जाँदा देश झनै जोखिममा पर्दै जान्छ ।

    अस्थिर गठबन्धन: 

    देशमा पुनः कुनै पनि दलको स्पष्ट बहुमत नआउने निर्वाचन प्रणालीको मारमा पर्दैछ । झिनो स्वार्थमा देशको फेरो घुम्दैछ । हिजोका दिनमा नेताहरूको पदलोलुपताले गर्दा हरेक ६ महिना वा एक वर्षमा सरकार परिवर्तन हुनु सामान्य बनेको थियो ।

    अबका दिनमा पनि त्यस्तै अवस्था दोहोरिने हो कि भन्ने चिन्ता छ । एमाले–कांग्रेसको सहकार्य होस् वा वाम एकता, यी सबै जनताका लागि नभई केवल ‘शक्ति बाँडफाँट’ का लागि मात्र भएको बुझाइ आम नागरिकमा छ । साथै नयाँ दलमा देखिन थालेको यस्तै पद लोलुपता र आत्मकेन्द्रित चिन्तनले देशलाई गम्भीर सङ्कटमा लैजाने हो कि भन्ने चिन्ता पनि छ ।

    • भविष्यको मार्गचित्र 

    राजनीतिक एवं आर्थिक वृत्तका सन्देशहरू आशाप्रद छैनन् । चौतर्फी व्याप्त निराशा तथा यस्तै राजनीतिक संस्कार कायम रहने हो भने नेपालले निकट भविष्यमा थप गम्भीर सङ्कटको सामना गर्नुपर्ने देखिन्छ । विभिन्न क्षेत्रका सूचक तथा पछिल्ला अनुभवहरू हेर्ने हो भने मुलुकको निराशाजनक तस्बिर प्रस्टै देख्न सकिन्छ ।

    देशको अर्थतन्त्र विप्रेषणको भरमा मात्र टिकेको छ । युवा पलायनले गर्दा आन्तरिक उत्पादन शून्य प्रायः छ । विश्व बजारमा मन्दी वा कुनै कारणवश वैदेशिक रोजगारीमा सङ्कट देखियो भने नेपालको अर्थतन्त्र तासको घर जस्तै ढल्ने निश्चित छ । त्यसले हाम्रो अर्थतन्त्रमा रहेको परनिर्भरताको विस्फोट गराउनेछ ।

    गाउँमा युवा जनशक्ति छैनन् । भविष्यमा नेपाल ‘वृद्ध–वृद्धाहरूको देश’ बन्ने तथा सामाजिक सुरक्षा प्रणाली नै धान्न नसक्ने स्थितिमा पुग्ने जोखिम बढेको छ । यो दशा देख्न धेरै वर्ष नलाग्न सक्छ । जनसांख्यिकीय असन्तुलनले सामाजिक, राजनीतिक एवं आर्थिक क्षेत्रमा दुर्घटना निम्त्याउने जोखिम छ । यसैबिच न्यायालय, अख्तियार, प्रहरी प्रशासन र विश्वविद्यालयले पनि राम्रो काम गरेर देखाउन सकेका छैनन् । कारण हो– संस्थाहरूमा गरिने चरम राजनीतिकरण ।

    संस्थाहरू असफल हुनु भनेको राष्ट्र असफल बन्न हो । त्यसैले हामीले त्यसतर्फ गम्भीरतापूर्वक ध्यान दिनु पर्नेछ ।

    अहिलेको अवस्था कस्तो छ भने देशमा व्याप्त निराशा विभिन्न कोणबाट अभिव्यक्त हुँदै गइरहेको छ । निराशा निराधार पनि छैनन् । युवा पुस्तामा देखिएको चरम निराशाका पछाडि ठोस कारणहरू छन् । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा काण्ड, सुन तस्करी र सहकारी ठगीजस्ता ठुला काण्डहरूमा अगुवा नेताहरूकै नाम मुछिएको छ ।

    कोही कानुनी दायराबाट उम्किने कोही त्यही कानुनको फन्दामा पर्ने हुँदा विधिको शासनमाथि विश्वास गुमेको छ । त्यसैले ‘यहाँ बसेर काम छैन’ भन्ने भाष्य आम बन्न पुगेका छ । यहाँसम्म कि विद्यार्थीहरू कक्षा १२ को परीक्षा दिनासाथ विदेश जान खुट्टा उचाल्न थालेका छन् ।

    यस्तो चिन्तन संस्थागत हुँदै जाँदै यसले समाजको ठुलो तप्कालाई प्रभावित पारिरहेको छ । तर, यति हुँदा पनि देशको नेतृत्वले त्यसबाट शिक्षा लिएको देखिँदैन । नागरिकको दुःखमा नेतृत्वको यो हदसम्मको असंवेदनशीलताले नै आम मानिसमा आक्रोश थपिरहेको छ ।

    अन्त्यमा

    आज देश आन्दोलन र विध्वंसको साक्षी भएर नयाँ परिस्थितिका अघिल्तिर उभिएको छ । एक प्रकारले भन्दा नेपाल अहिले ‘कोर्स करेक्सन’ को चौबाटोमा उभिएको छ । त्यसैले यतिबेला उदाएका नयाँ शक्तिकै काँधमा ठुलो जिम्मेवारी आई पुगेको छ ।

    जसले त्याग र सेवा गर्न सक्छ अबको नायक उही हो । यसका लागि नयाँ र वैकल्पिक भनिएका बालेन, रवि, कुलमान र हर्क लगायतले जिम्मेवार भएर सोच्ने समय आएको छ । आशा गरिएका नयाँ र वैकल्पिकले समयमै कुरा बुझेनन् भने आम मानिसले उनीहरूलाई पनि सधैँ सराहना गरिरहने छैनन् ।

    राजनीतिक ध्रुवीकरणको नयाँ स्वरूप नागरिक निराशाका कारणहरू 

सम्वन्धित समाचार :