प्रजातन्त्र धेरै दल भएर मात्रै बलियो नहुने रहेछ भन्ने बितेका तीन दशकले प्रमाणित गरेका छन् । अन्यत्र हेर्नै पर्दैन– नेपालमा प्रजातन्त्रले जरा नगाडेको धेरै वर्ष भयो । प्रजातन्त्रलाई बलियो बनाउने हो भने १०–१५ वर्षमा त्यसका जरा उखेलेर कत्तिको मजबुत भएछ भनेर हेर्ने होइन । बिरुवा रोपेर त्यसले जरा गाड्यो कि गाडेन भनेर उखेलेर हेर्ने होइन नि ! त्यसलाई त मलजल गर्ने हो ।

त्यसपछि त्यो बिरुवा परिपक्व भएर बल्ल फल दिन थाल्छ । अथवा संस्थालाई बलियो बनायौँ भने मात्रै त्यसले अपेक्षित फल दिने हो । त्यसैले प्रजातन्त्रको हकमा हामीले त्यसको संस्थागत विकास र अभ्यासमा जोड दिनुपर्छ । हामीले पहिलो प्रजातन्त्रको बिरुवा ००७ सालतिर रोपेका हौँ । तर हाम्रो विडम्बना नै भन्नु पर्छ हामीले त्यो प्रजातन्त्ररुप बिरुवा उखेल्दै फेरि रोप्दै गर्‍यौँ ।

०६४ सालमा संविधानसभाको निर्वाचनमा लोकतन्त्र भनेर हामीले त्यही बिरुवालाई फेरि रोपेका थियौँ । तर प्रजातन्त्र, लोकतन्त्र जे भने पनि कुरा एउटै हो । मतदाताले मत हाल्ने हो । राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारलाई भोट हाल्न पाउने हो । यो व्यवस्था हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ ।

संविधानसभा निर्वाचनताका निर्वाचन आयोगमा एक सय ३३ दल दर्ता भएका थिए । त्यसमध्ये एक सिट जितेर आए मन्त्री खान पाउने अवस्था बन्यो । यो सबै अनुभवले अघिकै प्रश्नलाई बल थप्छ, हामी यति धेरै दल दर्ता किन गर्दैछौँ ?
वास्तवमा त्यतिबेला पनि दुई–तीन वटा दलले मात्रै अलिक केही सिट ल्याए । तिनीहरूबिचमा अपवित्र साँठगाँठ हुँदो रहेछ । विचारधारा फरक हुँदा पनि उनीहरू चुनावी तालमेल गरेर अघि बढ्दा रहेछन् ।
एउटा पार्टीको वैचारिकीलाई आदर्श मानेर मतदाताले पनि आजीवन त्याग गरेका हुँदा रहेछन् । त्यस्ता मतदातालाई अर्को पार्टीसँग चुनावी गठबन्धन गरेर अर्कै चुनाव चिन्हमा मत दिन लगाउँदा उनीहरूको आस्थामै चोट पुग्दो रहेछ । के त्यसले हाम्रो लोकतन्त्रलाई बलियो बनायो त ? जबकि हाम्रो जवाफ सकारात्मक आउँदैन ।

अहिले निर्वाचनको पूर्व सन्ध्यामा झन्डै एक सय ३४ दल दर्ता भएका छन् । त्यति धेरै दल दर्ता गर्नुपर्ने अवस्था किन बन्यो त ? जबकि हामीले धेरै दल दर्ता हुँदैमा प्रजातन्त्र वा लोकतन्त्र बलियो भएको देखेनौँ । न त सरकार स्थिर हुँदो रहेछ । त्यसो भए के धेरै दल दर्ता हुँदैमा लोकतन्त्रको अभ्यास राम्रो हुने हो ? हामीले त्यस्तो पनि महसुस गर्दैनौँ ।

बेलायतको लोकतन्त्रलाई प्रजातन्त्रको जननी मानिन्छ । त्यहाँ मुस्किलले दुई दल छन् । बिचमा यसो कहिले कसो एक–दुई सिटमा अर्को एउटा दल देखा पर्छ । त्यसले राजनीतिमा अथवा सरकार निर्माणमा तात्त्विक भूमिका खेलेको पनि देखिँदैन । तर, त्यो देशमा लोकतन्त्रका जरा भने बलिया छन् ।

खासमा त्यो देशमा लोकतान्त्रिक संस्कार अनुरूप सरकारको निर्माण हुने, त्यसले आफ्नो कार्यादेश अनुरूप काम गर्ने, त्यहाँका मतदाताहरुले त्यही राजनीतिक संस्कारलाई मानेर आफ्नो धर्म निभाउने हुनाले त्यहाँको लोकतान्त्रिक प्रक्रियाले जनतालाई फल दिएको हो । त्यही भएर त्यहाँको लोकतन्त्र बाँचेको र फस्टाएको हो नी ।

तर हामी कहाँ बिरुवा रोप्ने, रोपिएको बिरुवालाई उखेल्ने अनि फेरि त्यही बिरुवालाई रोप्न थालेर लोकतन्त्रको जग बलियो हुन सकेन । त्यसैले जनताले लोकतन्त्ररुप फलको स्वाद पनि चाख्न पाएनन् । त्यसैले हामीले हाम्रो लोकतन्त्ररुप बिरुवाको जरा के गरी बलियो बनाउने हो, हामीले त्यसलाई कसरी थप मलजल गर्ने हो भन्नेबारेमा हामीले गम्भीर भएर चिन्तन गर्नु पर्नेछ ।

राजनीतिमा च्याँखे दाऊ थाप्नका लागि, मन्त्री, सांसद हुँदै सरकारी नियुक्ति खानका लागि पार्टी दर्ता गर्ने पनि हुन्छ कहीँ ? नभए एउटै वैचारिक सिद्धान्त मान्ने कम्युनिस्टहरू १३३ थरीका कसरी हुन्छन् ? संसारमा मैले यस्तो कहीँ पनि देखेको छैन । तर, नेपालमा त्यही भइरहेको छ, जुन विश्वको कुनै कुनामा अभ्यासरत छैन ।

कारण किनभने समस्या मार्क्सवाद, लेनिनवादमा भन्दा पनि त्यसको च्याँखे दाऊ थापेर मौकामा चौका हान्न खोज्ने प्रवृत्ति देखियो यहाँ । नेपालमा स्थिर सरकार हुन नसकेको कारण त्यही हो । अरू कुनै वैचारिक कारण छैन । पहिले धेरै पार्टी दर्ता गर्ने अनि थोरै–थोरै सिट ल्याएर सबैले सरकारमा बाँडीचुँडी गर्ने प्रवृत्तिलाई लोकतन्त्र पनि कसरी भन्नु ? देशको सेवा गर्छु भनेर दल दर्ता गर्ने, निर्वाचन लड्नका लागि मनग्य पैसा खर्च गर्ने अनि चुनाव जितेपछि जनताको सेवा गर्ने कि निर्वाचनको खर्च उठाउने ?

यो त सरासर व्यापार जस्तो भयो । होइन र ? अनि यसरी नै हो हामीले लोकतन्त्रलाई बलियो बनाउन खोजेको ? त्यसैले मलाई के लाग्छ भने लोकतन्त्रलाई बलियो बनाउने हो भने तीन–चारवटा दल भए पर्याप्त हुन्छ । त्यो भन्दा बढी दल किन चाहियो ?

अहिले दर्ता भएका दलहरू हेर्ने हो भने के देखियो भने, दल, जसले पनि दर्ता गराई रहेका छन् । सानो विधान बनाएर लगे निर्वाचन आयोगमा दल दर्ता गर्न मिल्ने भयो । संविधानले नै दल दर्तामा कुनै रोक लगाउन पाइँदैन भनेको छ । तर वास्तवमा दलहरू आपसमा मिल्दाजुल्दा भावना, विचार, सिद्धान्त भएकाहरू पनि भिन्न–भिन्न पार्टी दर्ता गराएर अघि बढी रहेका छन् । उनीहरू एउटै दल बनेर अघि बढ्दा मात्र पनि त्यसले हाम्रो लोकतन्त्रलाई कम्तीमा टेको त दिन्थ्यो । तर त्यो आशा पनि पातलिँदै गएको छ ।

त्यसैले मलाई के लाग्न थालेको छ भने मूलतः लेफ्ट, राइट र सेन्टरसहित अर्को कुनै धारको प्रतिनिधित्व गर्ने दल भएर आउन सके भने त्यसले लोकतन्त्रलाई बलियो बनाउँछ । यस्तो हुन सक्यो भने निर्वाचनमा न दलहरूलाई न त मतदाताहरूमा असमझदारी हुन्छ । न मतपत्र ठुलो बनाउनु पर्ने झन्झट हुन्छ ।

अहिले त अवस्था कस्तो छ भने एकथान सांसद हुनका लागि आफ्नो घरबारी बेचेका छन्, ऋणमा बिचल्ली भएका छन् । कसै–कसैगरी सांसद भइहालेमा मन्त्री बन्न पाइन्छ कि भनेर करोडौँ खर्च गरेका पनि देखाका छौँ हामीले । त्यसैले यस्तो निर्वाचन प्रणालीले देशलाई र लोकतन्त्रलाई बलियो बनाउँदैन । अरू त अरू यसले सरकारलाई पनि स्थिर हुन दिएको छैन ।

त्यसैले आउनुस् एक पटक गम्भीर भएर सोचौँ । हाम्रो लोकतन्त्रको बिरुवालाई बलियो बनाउन आ–आफ्नो तर्फबाट मलजल गरौँ !

सम्वन्धित समाचार :