सिरहाको बरियारपट्टी छोटी भन्सारको राजस्व ह्वात्तै वृद्धि
बरियारपट्टी (सिरहा)।बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालयले चालू आर्थिक वर्षको साउनदेखि कार्तिक महिनासम्म राजस्व संकलनमा उल्लेखनीय वृद्धि गरेको छ। सीमामा दुई चरणको निर्वाचनका कारण केही समय आवागमन बन्द हुँदा पनि भन्सारबाट २७ लाख ९० हजार रुपैयाँ राजस्व संकलन भएको छ।
सशस्त्र प्रहरी बल, नम्बर ७ गण हे.क्वा सिरहा को एसपी नरेश भण्डारी कडा निर्देशनले सीमाक्षेत्रमा निगरानीका क्रममा बरियारपट्टीको सशस्त्र प्रहरीले कार्तिक महिनामा मात्रै ७ लाख ६२ हजार ४ सय ४६ रुपैयाँ बराबरका खाद्यान्न, कपडा तथा पेय पदार्थ बरामद गरी भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल बरियारपट्टीका प्रमुख पशुपति खनालले दिएका हुन्।
स्थानीय सरोज यादवका अनुसार बरियारपट्टीको राजस्व संकलन क्षेत्रको तुलनामा दोब्बर छ। भन्सार क्षेत्र सीमित भए पनि साना व्यापारीहरूले बोकेर ल्याउने सामानमाथि सतर्क अनुगमन र कानुनी कारबाहीले राजस्व वृद्धि हुन सहयोग पुगेको उनको भनाइ छ।
स्थानीय व्यापारीहरूका अनुसार भन्सार ऐन संशोधनपछि राजस्व दोब्बर आउन थालेको र चोरी–तस्करीमार्फत भन्सार छल्ने सम्भावना समेत कम भएको छ।
चार बीओपीमा भन्सार कार्यालय नहुँदा राजस्व चुहावट
सिरहामा चार वटा बीओपी भए पनि ती क्षेत्रमा कुनै पनि छोटी भन्सार स्थापना नभएको कारण ठूलो मात्रामा राजस्व चुहावट भइरहेको स्थानीय तहको जनप्रतिनिधिको आरोप छ। यदि सो बीओपी क्षेत्रमा छोटी भन्सार स्थापना गरिए करिब १ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन हुनसक्ने अनुमान गरिएको छ।
सशस्त्र द्वन्द्वका समयमा विस्थापित भएका झाझपट्टी र औरहीका दुई वटा छोटी भन्सार कार्यालय अझै पुनःस्थापित हुन सकेका छैनन्। यस कारण सीमाक्षेत्रबाट हुने साना तर बारम्बारका सामान ओसारपसार नियन्त्रणमा चुनौती देखिएको छ।
छोटी भन्सार नहुँदा स्थानीयले भोग्ने समस्या
जहाँ भन्सार कार्यालय छैन, तर बाटो बनेका छन्, त्यहाँका स्थानीयवासीले सामान्य घरायसी प्रयोजनका दुई–चार हजारका सामान ल्याउन पनि कैयौँ किलोमिटर टाढा भन्सार कटाउन जानुपर्ने बाध्यता छ।
त्यही कारण धेरैले टाढासम्म जान नचाहेर सानो–सानो सामानलाई थोरै–थोरै गरी धेरै पटक ओसारपसार गर्न बाध्य हुने गरेको गुनासो छ। केहीले सामान धेरै परिमाणमा किनेको भए पनि एकैपटक नल्याई भाग–भागमा ल्याउने गरेको बताउँछन्।
सुरक्षाकर्मीले सीमामा रोक्ने तर भन्सार कटाउन निक्कै टाढा पठाउने प्रणालीले स्थानीयलाई हैरान पारेको छ। यस क्रममा धेरैले सुरक्षाकर्मीको आँखा छल्दै सामान ल्याउने गरेको पाइन्छ, जसले अनौपचारिक व्यापारलाई बढाउँछ र राजस्व चुहावट सामान्यजस्तै देखिन्छ।
नयाँ भन्सारको आवश्यकता
बस्ती, बजार, सडक र सम्भावनाका आधारमा नयाँ भन्सार तथा पुराना भन्सारको स्तरवृद्धि भई सञ्चालनमा आए:
भारत–नेपालबीचको अनौपचारिक व्यापार औपचारिक प्रणालीमा आउने,
आयात–निर्यात क्षेत्र विस्तार हुने,
भन्सार राजस्वमा ठूलो वृद्धि हुने,
स्थानीयवासीलाई कानुनी रूपमा सामान ल्याउन सहज हुने,
जस्ता सकारात्मक प्रभाव पर्ने विशेषज्ञहरूको भनाइ छ।


