- भनिन्छ, कालीगण्डकी नदी जहाँ जहाँ हुँदै बगेको छ, ती सबै ठाउँमा शालग्राम पाउन सकिन्छ। यस आधारमा भन्ने हो भने यो नदीले शालग्राम सभ्यतालाई आधार प्रदान गरेको छ। धर्मेन्द्र विह्वल ।नेपालको नक्सामा नेपालजस्तै नक्सा भएको जिल्ला कुन हो?
बागलुङ।विद्यालयमा सामान्य ज्ञान पढ्दा बरोबर आउने एउटा प्रश्न थियो। धेरैपछि त्यही बागलुङको सदरमुकाम पुग्ने अवसर प्राप्त भयो। १३ जेठ २०७९ को त्यो भ्रमणको प्राथमिकतामा थियो– शालग्राम अर्थात् शालिग्राम संग्रहालय।
अहो! एकै ठाउँमा यति धेरै शालग्राम (शालिग्राम ढुंगा?) मिथिला क्षेत्रको घर घरमा गोटागोटी देखेको मेरा लागि यहाँ एकै ठाउँमा सवा लाख शालग्राम नितान्त नौलो अनुभूति थियो। नेपाल र भारतको भूमिमा विभक्त दुवैतिरको मिथिलामा परापूर्वकालदेखि भगवान् विष्णुका रूपमा शालग्रामको पूजा हुँदै आएको छ।
भारतका वैदिक सनातन हिन्दु मन्दिरमा नेपालको गण्डक क्षेत्रबाटै शालग्राम लगेर प्राणप्रतिष्ठा गर्ने प्रचलन अद्यापि छ।
बाल्यकालमा त्यो कालो ढुंगाबारे उत्पन्न हुने जिज्ञासा म सम्झन्छु। पूजाघरमा किन त्यो ढुंगा राखिएको होला? त्यहाँबाट बाहिर ल्याएर खेल्न पाए पनि हुन्थ्यो भन्ने लागिरहन्थ्यो। तर, घरका ठूलाले सम्झाउने भावमा भन्थे– यो ढुंगा त भगवान् हो। खेल्ने ढुंगा होइन। त्यसपछि अर्को कौतूहल जाग्यो– हाम्रो घरमा यो ‘भगवान् ढुंगा’ कहाँबाट आयो होला? मन गमक्क हुन्थ्यो– हाम्रो घरमा त भगवान् छन्!
यो मानसिकताबाट हुर्केको मेरा लागि एकै ठाउँमा सवा लाखभन्दा बढी ‘भगवान् ढुंगा’ देख्न पाउँदा कस्तो महसुस भयो होला? तपाईंले सहजै अनुमान लगाउनुभयो होला। मानिसको जीवनमा गौरव गर्न सकिने धेरै अवसर उपलब्ध हुन्छन्। ती अवसरलाई चिनेर अनुकूल ढंगले प्रयोग गर्न सकियो भने त्यो कालजयी बन्नसक्छ। सन्ततिका लागि पनि महत्त्वपूर्ण बनिदिन्छ। बागलुङे सभ्यतामा यस्तै एउटा गौरवमय परिघटना बनेको छ– शालिग्राम संग्रहालय।
शालग्रामको मूल स्रोत कालीगण्डकी नदी हो। जानकारहरूका अनुसार यो नदी जहाँ जहाँ हुँदै बगेको छ, ती सबै ठाउँमा शालग्राम पाउन सकिन्छ। यस आधारमा भन्ने हो भने यस नदीले शालग्राम सभ्यतालाई आधार प्रदान गरेको छ। बागलुङ निवासी पत्रकार तथा अनुसन्धानकर्मी एकराज पाठकको भनाइमा कालीगण्डकीको उद्भव दामोदर कुण्डबाट भएको मानिन्छ। धार्मिक मान्यताअनुसार यो कुण्ड भगवान् विष्णुको वासस्थान मानिन्छ। यहीँबाट नदीसँगै शालग्राम प्रवाहित भई आम व्यक्तिबीच पुग्ने गर्दछ।
ब्रह्मपुराणमा शालग्रामको धार्मिक महत्त्वबारे प्रशस्त बयान गरिएको छ। त्यसमध्येको एक हो– जालन्धरपत्नी वृन्दाको श्रापबाट भगवान् विष्णुले शिलास्वरूप अर्थात् पत्थरस्वरूप धारण गरेको। आफ्नो सतित्व नष्ट गर्न आएका भगवान् विष्णुलाई चिनेपछि वृन्दाले उनलाई झार भइरहनु भन्दा तुलसी, रूख भइरहनु भन्दा पीपल र शिला भइरहनु भनी श्राप दिँदा दामोदरकुण्ड र मुक्तिनाथ क्षेत्रबाट उत्पत्ति हुने कृष्णगण्डकीको तटमा रहने गरी शालग्रामको अवतार लिएको मानिन्छ। यो प्रसंग श्रीस्वस्थानी व्रतकथामा पनि आउँछ। भारतका वैदिक सनातन हिन्दु मन्दिरमा नेपालको गण्डक क्षेत्रबाटै शालग्राम लगेर प्राणप्रतिष्ठा गर्ने प्रचलन अद्यापि छ।
शालग्राम संरक्षण गर्न दामोदर कुण्डदेखि त्रिवेणीधामसम्मको कालीगण्डकी नदी र सहायक नदी तथा तीर्थस्थलको ‘टोपोग्राफी’ समेत एकै थलोमा देख्न सकिने गरी संग्रहालय व्यवस्थित गरिएको छ।
म मुक्तिनाथ गइरहेको थिएँ। त्यहीबेला स्थानीय पत्रकार प्रकाश बरालले मलाई बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको संग्रहालय हेर्न सुझाएका थिए। उनको भनाइ थियो– मुक्तिनाथलाई पनि भगवान् विष्णुकै प्रतिरूप मानिन्छ। त्यहाँको मूर्ति पनि शालग्रामकै हो। त्यसैले संग्रहालयलाई मुक्तिनाथको पाउस्थान मान्न सकिन्छ र मुक्तिनाथको वास्तविक यात्रा यहीँबाट प्रारम्भ भएको मानिन्छ।
वैदिक सनातन धर्मअनुसार कुनै पनि मन्दिरमा कम्तीमा एउटा शालग्राम अनिवार्य हुन्छ। अर्थात्, कुनै पनि देवताको मन्दिर शालग्रामविना पूर्ण हुँदैन। यस संग्रहालयमा सवा लाख शालग्राम छन्, त्यो पनि मुक्तिनाथ, दामोदरकुण्डदेखि देवघाटसम्मको गण्डक हुँदै नारायणी किनार क्षेत्रका। त्यसैले यो संग्रहालय पुग्दा सवा लाख मन्दिरको दर्शन हुने मान्यताको विकास हुँदै छ।
संग्रहालयमा रहेका शालग्राम। तस्बिर सौजन्य : प्रकाश बराल
दोस्रोपटक शालिग्राम संग्रहालय अवलोकन पनि जेठमै जुर्यो। गएको १ जेठमा कोरला र मुक्तिनाथबाट फर्कने क्रममा हामी एक रात नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलको संयोजनमा बागलुङ बास बस्न पुग्यौँ। पौडेलको घर नै बागलुङ भएकाले पनि बसाइ सहज भयो। भोलिपल्ट बिहान स्थानीय पत्रकार बरालसँग पुनः भेट भयो। मैले उनलाई शालग्राम संग्रहालयका बारेमा जिज्ञासा राखेको थिएँ। उनले संग्रहालय विगतभन्दा भव्य बन्दै गएको बताए।
बागलुङ बजारमा कालिका मन्दिरपछि यो संग्रहालय दोस्रो महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्दै छ। त्यसो त बाघचोकमा रहेको बाघको प्रतिमा हेर्न पनि उल्लेख्य मानिस पुगिरहेकै छन्। केही पर पर्वतको कुस्मामा रहेको नेपालकै सबैभन्दा अग्लो झोलुंगे पुलको आसपास जिपलाइन, बन्जी जम्पिङजस्ता आकर्षणहरू विकसित गरिएका छन्। यसपटक कुस्मा अडिने सम्भावना नरहेकाले संग्रहालय अवलोकन र कालिका मन्दिरको दर्शन मेरो प्राथमिकतामा थियो। मैले प्रकाशलाई भनेँ– साथीहरू तयार हुँदै छन्, हामी एकछिन संग्रहालय पुगेर फर्कने कि? मेरो प्रस्ताव उनले सहर्ष स्वीकार गरे।
शालिग्राम संग्रहालय बजारको सिरानमा अवस्थित छ। मानवीय अतिक्रमणका कारण पछिल्लो समय संकटमा परेको कालीगण्डकीको सभ्यता र लोप हुँदै गएका शालग्रामबारे भावी पुस्तालाई जानकारी दिने उद्देश्यले संग्रहालय स्थापना गरिएको हो। यहाँ १०० मिटर लामो सुरुङ खनेर कालीगण्डकी सभ्यता झल्काउने प्रतिकृति निर्माण गरिएको हो। सुरुङमा तीन खण्ड छन्। एउटा खण्डमा कालीगण्डकी सभ्यता, दोस्रोमा शालिग्राम संग्रहालय र तेस्रोमा सभाहल छ। सभाहललाई बहुपयोगी सन्दर्भमा प्रयोग गर्न खोजिएको छ। सभाहलमा कालीगण्डकी नदी संरक्षणका लागि प्रेरित गर्ने उद्देश्यले भिडिओ प्रदर्शनको तयारी पनि गरिँदै छ।
शालग्राम संरक्षण गर्न दामोदर कुण्डदेखि त्रिवेणीधामसम्मको कालीगण्डकी नदी र सहायक नदी तथा तीर्थस्थलको ‘टोपोग्राफी’ समेत एकै थलोमा देख्न सकिने गरी संग्रहालय व्यवस्थित गरिएको छ। यहाँ विभिन्न आकारका शालग्रामका साथै समुद्र तटमा पाइने अन्य सिपीसमेत राखिएका छन्। दिवंगत श्रीधराचार्यको परिकल्पना र स्वामी ऋषि प्रपन्नाचार्यको पहलमा मंसिर २०७६ मा यो संग्रहालय सञ्चालनमा आएको हो।
शालिग्राम संग्रहालयसँगै यहाँ रंगवेंकटेश्वर मुक्तिनारायण मन्दिर पनि बनाइएको छ। यस कलात्मक मन्दिरमा पनि दर्शनार्थीको घुइँचो मैले देखेँ। यहाँ मुक्तिनाथ वेद विद्याश्रम संस्कृत पाठशाला पनि सञ्चालनमा छ।
संग्रहालयमा संकलित शालग्राम विभिन्न आकारका मात्र छैनन्, कलायुक्त पनि देखिन्छन्। तर, यी कला मानवनिर्मित होइनन्।
स्थानीयवासीमा शालग्राम धोएको जल खानाले हृदय रोग नलाग्ने जनविश्वास छ। पत्रकार पाठकका अनुसार यसैकारण पनि हुनसक्छ, परापूर्वकालदेखि नै घरमा शालग्रामस्वरूप पाञ्चायन देवता (गणेश, शिव, विष्णु, सूर्य र देवी) राख्ने र पूजा गर्ने गरिन्छ। बिहान पाञ्चायनस्वरूप शालग्रामलाई नुहाइदिने र सोही जल सेवन गर्ने गरिन्छ। यसको मानव शरीरसँग सम्बन्ध रहिआएको पनि छ। जस्तो कि शरीर पनि पञ्चतत्वले बनेको हुन्छ र यससँग पाञ्चायन पूजनको महत्त्व रहन्छ। शालग्रामको गर्भमा स्वर्ण एवं चाँदी रङका विभिन्न तत्त्व एवं धातुहरू रहेका हुन्छन् र ती धातुले मानिसको स्वास्थ्यमा राम्रो प्रभाव पार्ने बताइन्छ। त्यसैले जसले प्रत्येक दिन शालग्राम भगवान्लाई धोएको जल एकदुई चम्चा मात्र सेवन गर्छ, उसलाई मुटु रोग लाग्दैन भन्ने वैदिक प्रचलन रहिआएको छ।
गंगाजी नुहाउँदा मानिसको शरीर बलियो एवं स्वस्थ रहने मान्यता पनि यसैअनुरूप बनेको हुनुपर्छ। पहिले पहिलेका ऋषिमुनिले गंगाजीको किनारमा तप या ध्यानमा बस्ने र यही पानी सेवन गर्ने या नुहाउने प्रचलन पनि यही मान्यतासँग जोडिएको हुनुपर्छ। किनभने, गण्डकी दामोदर कुण्ड हुँदै मुक्तिक्षेत्रबाट उत्पत्ति भएको र तटमा रहेका शालग्रामलाई छुँदै पखाल्दै बग्ने भएकाले पनि गण्डकीको पानी स्वस्थ, स्वच्छ एवं पवित्र मानिएको हुनुपर्छ। संग्रहालयमा संकलित शालग्राम विभिन्न आकारका मात्र छैनन्, कलायुक्त पनि देखिन्छन्। तर, यी कला मानवनिर्मित होइनन्।
हामीलाई त्यही दिन पोखरा पुगेर काठमाडौँ जानुपर्ने बाध्यता थियो। संग्रहालयबाट प्रस्थान गरिसकेपछि पनि शालग्राममा झैँ मेरो मनमस्तिष्कमा पनि अनेकन् चित्र कुँदिएको भान भइरहेको थियो।


