काठमाडौँ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालको सचिवालयमा रहेका नौ शीर्ष नेतामध्ये बहुमत सदस्य अर्थात पाँच जना नेता हालै बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’मा आबद्ध हुन पुगेका छन् ।
२०७५ जेठ ३ गते भएको एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा शीर्ष नौ जना नेता रहेको सचिवालय गठन गरिएको थियो । नेकपा कालमा महत्त्वपूर्ण निर्णयहरू त्यही ९ जनाको सचिवालयले नै गर्दै आएको थियो ।
जसमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल रहेका थिए भने माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल रहेका थिए । त्यसबेलाको नेकपामा आएको विवादसँगै सर्वोच्च अदालतले नेकपाको वैधानिकतामाथि प्रश्न उठाएर एकतालाई मान्यता नदिएपछि पुन एमाले र माओवादीकै हैसियतमा दुवै पार्टी चलेका थिए ।
गत बुधवार काठमाडौँमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक नेपालले भने, ‘एमाले र माओवादीबिच एकीकरण गरेर नेकपा हामीले गठन गरेका थियौँ । त्यतिखेरका सबै प्रमुख नेता यही उपस्थित हुनुहुन्छ ।’


