सर्वप्रथम, तपाईंको स्वास्थ्य तथा विभिन्न कम्युनिस्ट पार्टीहरूबिच भइरहेको एकता प्रयासको शुभकामना व्यक्त गर्छु । विचार, कार्यदिशा, कार्यक्रम र नयाँ नेतृत्वसहितको वास्तविक एकता होस भन्ने कामना पनि गर्न चाहन्छु । तर जनयुद्धका सबै उपलब्धिहरू समाप्त पारेर गरिने एकतामा केही आशङ्का, केही प्रश्न र केही जिज्ञासाहरू उठेका छन् ।

यो खुल्ला पत्रमार्फत केही प्रश्नहरूमा तपाईंबाट प्रस्ट हुने अपेक्षा गरेको छु । यहाँ उठाइएका प्रश्न र जिज्ञासाहरू कुनै आग्रह, पूर्वाग्रहबाट नभई क्रान्तिप्रतिको चिन्ता र माओवादी घटकहरूबिच देखिएको एकता प्रक्रियाको अलमलका कारणले हो भन्ने पनि सविनय आग्रह गर्न चाहन्छु ।

आदरणीय कमरेड, तपाईं जनयुद्धले जन्माएका सबैको अभिभावक हो । त्यसैले अभिभावकका रूपमा आफ्ना कमजोरीहरू सुधार गर्नका लागि गरिएको आलोचनालाई तपाईंले धैर्यतापूर्वक सुन्नु हुनेछ र त्यसलाई ग्रहण गर्ने क्षमता राख्नु हुन्छ भन्ने अपेक्षा गर्छु ।
तपाईं जनयुद्धको अभिभावक मात्र होइन, नेपाली कम्युनिस्ट आन्दोलनको पनि अभिभावक हो । किनभने जनयुद्धमा तपाईंले लिएको पहलकदमी र खेलेको भूमिका अतुलनीय छ । त्यसप्रति म हृदयदेखि उच्च सम्मान व्यक्त गर्छु । यसमा हामीले गौरव गर्नैपर्छ । यो देशमा जनयुद्ध नभएको भए हामी अर्थात् उत्पीडित, सीमान्तकृत र वर्गीय रूपमा रसातलमा पुर्‍याइएकाहरू यो स्थानमा हुने थिएनौँ । यो देश यहाँ आई पुग्ने थिएन ।
त्यसैले मालेमावाद र प्रचण्डपथको विचारमा तपाईंको एक कासनमा जनवाद, समाजवाद हुँदै साम्यवादसम्म पुग्नका लागि म जस्ता हजारौँ योद्धाहरूले जनयुद्धमा हाम फालेको स्मरण गराउन चाहन्छु ।तपाईंलाई राम्रोसँग थाहा छ, जनयुद्ध रणनैतिक प्रत्याक्रमणको चरणमा पुगेको बेला चुनवाङ बैठकपछि पार्टीले शान्ति प्रक्रियामा प्रवेश गर्ने लाइन लियो र फलतः १२ बुँदे सम्झौता हुँदै पार्टी शान्ति प्रक्रियामा प्रवेश गर्‍यो । शान्ति प्रक्रियामा प्रवेश गरेको पनि झण्डै दुई दशक भइसकेको छ । यसबिच पार्टीमा थुप्रै आरोह–अवरोह आए । पार्टी बेला–बेला विभाजित भयो । र, अहिले फेरी केही समूहहरूबिच एकताको कुरा चल्दै गर्दा कमरेड प्रभाकरसहितका नेताहरू पार्टीबाट अलग हुन पुगे । पार्टी पुनः विभाजनमा पुग्यो । तथापि एकताको बहस जारी छ ।एकताबद्ध हुनु सुन्दर पक्ष हो । तर एकता गर्दा आधा सुन्दर, आधा कुरूप । आधा सुख, आधा दुःखको परिस्थिति सबैका अघिल्तिर छ । विगतका कमी कमजोरीको गहिरो समीक्षा नगरी हुने एकतामा गति पैदा नहुने रहेछ । त्यसैले रूपान्तरणको आशा मधुरो हुँदै जाँदो रहेछ । सबैको साझा बुझाई छैन । क्रान्तिकारी दिशा छैन । त्यस्तो एकता कहाँसम्म जाने हो कसैलाई थाहा छैन ।जनयुद्धका सबै सहयात्रीहरूले घोत्लिइनु पर्ने अवस्था छ । विगतमा कसको कमजोरीका कारण माओवादी आन्दोलन टुटफुट र विभाजित हुन पुग्यो ? जनयुद्धले निर्दिष्ट गरेका लक्ष्य र उद्देश्यहरू किन पुरा हुन सकेनन् ? एकअर्कालाई दोष दिएर उम्कने बाटो छैन । यसको सही उत्तरबिना माओवादी घटकहरू बिचको एकता र कम्युनिस्ट पार्टीहरू बिचको एकता सही गन्तव्यमा पुग्ने देखिँदैन । त्यसैले हालका विभिन्न एकता प्रयासहरूलाई सबैले ‘स्वार्थ समूह’ बिचको एकता र गठजोड भनिरहेका छन् । आम कार्यकर्ता र जनताको ठुलो हिस्साको यो मनोविज्ञानलाई सम्बोधन गर्न तपाईंले जबाफ दिनैपर्छ । पार्टीको मूल नेतृत्व भएका कारण धेरै प्रश्नहरू तपाईंतर्फ नै सोझिएका छन् । तर, त्यसको तपाईंले हालसम्म चित्त बुझ्दो जबाफ दिनु भएको छैन ।यो किन पनि जरुरी छ भने तपाईंले हालै माओवाद र जनयुद्धका उपलब्धिलाई बिसाएर पार्टी एकता गर्नु भएको छ । त्यसैले तपाईंसँग म १५ बुँदामा केही प्रश्नहरू उठाउन चाहन्छु । मेरा आलोचनात्मक प्रश्न वा वाक्यांशहरू कठोर लागेमा क्षमा चाहन्छु । तथापि हामीले प्रश्न गर्ने तपाईंलाई नै हो भन्नेमा म ढुक्क र प्रस्ट छु ।
(१) तपाईंले संसदवादी दलहरूसँग १२ बुँदे सम्झौता गरी पार्टीलाई शान्ति प्रक्रियामा ल्याएपछि ०६२/०६३ को दोस्रो जनआन्दोलन सफल भयो । तत्कालीन राजा ज्ञानेन्द्रको निरङ्कुश शासनको अन्त्य भयो र देश सङ्घीय लोकतान्त्रिक  गणतन्त्र हुँदै बुर्जुवा गणतन्त्रमा प्रवेश प्रवेश गर्‍यो । यो आंशिक उपलब्धि नै हो । तर हेक्का रहोस्, बुर्जुवा गणतन्त्रको उपलब्धिमै सीमित हुन जनयुद्ध लडिएको थिएन ।

तपाईं आफैले ‘७ डिभिजन जनमुक्ति सेना क्याम्प भित्र रहे पनि २१ डिभिजन सेना क्याम्प बाहिर बनाएर जनविद्रोह गरी बुर्जुवा गणतन्त्रलाई जनगणतन्त्रसम्म लैजान्छौँ’ भन्नु भएको थियो । त्यो कुरा अझै पनि हाम्रो कानमा गुञ्जिरहेकै छ । आफैले बोलेको कुरा पुरा नगर्ने गरी तपाईं जनयुद्धको मार्गचित्र र लक्ष्यबाट किन बिमुख हुनु भयो ?

(२) जनयुद्धमा हजारौं सहिदको रगतबाट जन्मिएका जनसत्ता, जनअदालत, कम्युन, जनमुक्ति सेनालाई एकलौटी रूपमा किन विघटन गर्नु भयो ?

(३) रातारात नेपाली सेनालाई जनमुक्ति सेनाको ब्यारेक कब्जा गर्न लगाई हतियार खोस्न लगाउनु नै जनमुक्ति सेनाको सम्मानजनक समायोजन हो ? के त्यो आत्मसमर्पण र कब्जा थिएन ? के यसबारे तपाईंले जबाफ दिनु पर्दैन ?

(४) जनमुक्ति सेना समायोजनको नाममा तोकिएको शैक्षिक मापदण्डसहित सम्पूर्णलाई नयाँ भर्ना प्रक्रियाबाट समायोजित गरियो । फलतः १९ हजार जनमुक्ति सेनाका योद्धाहरू मध्ये जम्मा १४ सयको नेपाली सेनामा भर्ना भयो । सेनाका धेरै कमान्डरहरू अयोग्य भई घर फर्किए । अपमानजनक रूपमा सेनाको क्याम्पबाट बाहिरिनु पर्दा उनीहरू रुँदै बाहिरिए । आज उनीहरूमध्ये अधिकांश साउदी, कतार, दुबई, मलेसियामा मजदुरका रूपमा काम गरिरहेका छन् । कोही भारतका गल्तीहरूमा जीवन धान्ने यत्न गरिरहेका छन् । के त्यसको जिम्मेवार तपाईं होइन ?

(५) जनयुद्धमा बुर्जुवा शिक्षा पढ्नु हुँदैन भन्दै अध्ययन छोडाएर हातमा बन्दुक थमाइयो । उनीहरू लडाइँका मोर्चाहरूमा अब्बल पनि भए । तर बुर्जुवा शिक्षा र डिग्री नभएकै कारण उनीहरू समाजमा दुत्कारिए ? यसको जिम्मेवार उनीहरू स्वयं थिए वा तपाईं ? सेनाको समायोजन गर्ने नाममा जनमुक्ति सेनाका योद्धाहरूलाई छाती नाप्न लगाउँदा होस वा आफ्नो डिग्री पेस गर्ने मामिलामा तपाईंको आत्मा एक पटक पनि रोएन ? त्यस्तो सहमति गर्दा तपाईंको हात कामेन ?

(६) शान्ति प्रक्रियामा प्रवेश गरेपछि तपाईं तीन पटक प्रधानमन्त्री हुनु भयो । माओवादी पार्टीले चार पटक प्रधानमन्त्री पायो । तर यति हुँदा पनि तपाईंले देश र जनताका लागि स्मरण योग्य के काम गर्नु भयो ?

(७) जनयुद्धको उपलब्धि के हो ? भनी आम जनताले प्रश्न गर्दा तपाईं संविधान, गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशिता हो भन्ने गर्नु हुन्छ । तर त्यो सबै आजका दिनमा दलाल पुँजीपति वर्गको हातमा छैन र ? राज्यको स्रोत–साधन, वितरणको प्रणाली उनीहरूकै कब्जामा रहेकाले त पछिल्लो समय जेनजी विद्रोह भयो । यस्तो परिस्थितिबिच वैज्ञानिक समाजवादसम्म पुग्न सकिने तपाईंको कार्यक्रम के हो ?

(८) तपाईंले नेतृत्वकै रूपमा पार्टीमा फरक मत राख्नेलाई सम्मान र व्यवस्थापन गर्न कहिल्यै रुचि देखाउनु भएन । पार्टीको दक्षिणपन्थी विचलनलाई रोक्नका लागि बारम्बार प्रयत्न गर्ने वैद्य र विप्लवको सुझाव बेवास्ता गर्नु भयो । त के पार्टी विभाजनको सुरुवात तपाईंले नै गरेको होइन ?

(९) आफ्नो पार्टीलाई एकढिक्का राख्नुको सट्टा तपाईंले आफ्नो स्वार्थलाई सर्वपरी ठान्दै एमालेसँग एकता गर्नु भयो । अहिले त्यस्तै एकता माधव नेपालसँग गर्नु भएको छ । एमालेसँगको एकता टिकेन भन्ने सबैले देखेकै छन् त के यो एकता टिकाउ हुन्छ ? हुन्छ भने कसरी भनी तपाईंले जबाफ दिनु पर्दैन ? वा यो एकता तपाईंको असफलताको द्योतक हो ?

१०) ०६४ मा १२० सिटमा प्रत्यक्षबाट विजयी भएको पार्टी ०७९ सम्म आइपुग्दा १७ सिटमा समेटियो । ३१ लाख समानुपातिक मत १२ लाखमा सीमित हुन पुग्यो । यसको नैतिक जिम्मेवारी तपाईंले लिनुपर्दैन ?

११) विप्लवले एकीकृत जनक्रान्तिको घोषणा गर्दा त्यसमाथि प्रतिबन्ध लगाउनु भयो के त्यो जायज थियो ?

१२) विप्लवसँगको एकताको चर्चा हुँदा तपाईं भित्री आत्माबाटै माओवादी आन्दोलनको पुनर्गठन र रूपान्तरण गर्न किन अनिच्छुक देखिनु भयो ?

उही

बसन्त विक 

सम्वन्धित समाचार :