जनकपुरधाम । मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सोनलले नेपालको संविधानको धारा १६८को उपधारा (४) बमोजिम आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री सोनललाई उनको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थन रहेको छ ।
यता जनमत पार्टीबाट प्रदेश सभा सदस्य रहेका निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साह जनमत फुटेर बनेको जनस्वराज पार्टीतर्फ लागिसकेकाले यी दुई प्रदेशसभा सदस्य कतै पनि खुलेका छैनन् । त्यस्तै जसपा नेपालका एक जना प्रदेशसभा सदस्य निलम्बनमा छन् । मधेस प्रदेश सभा सदस्य सरोज सिंह कुशवहा निलम्बित रहेकाले विश्वासको मत दिन पाउने छैनन् ।


