नेकपा (एकीकृत समाजवादी) निर्माणका प्रारम्भिक दिनहरूमा हामी एउटा ठुलो र भयङ्कर अभियान चल्छ भन्ने विश्वासका साथ लागेका थियौँ। तर, एक हिसाबले त्यो अध्याय आजदेखि समाप्त भएको छ।

करिब चार वर्ष तीन महिनाको यो यात्रा कसरी बित्यो भन्ने सन्दर्भमा हामीले के अनुभूति गर्‍यौँ भन्ने जानकारी हाम्रा शुभचिन्तकहरू, मतदाताहरू र अभियानमा सँगै हिँडेका साथीहरूलाई दिएर हाम्रो अध्याय टुङ्गिएको जानकारी गराउनु आवश्यक थियो।

जब बाटो अवरुद्ध हुन्छ— चाहे त्यो राजनीतिमा होस् या भौतिक जीवनमा— त्यतिबेला अवरुद्ध बाटोबाट कसरी अगाडि बढ्ने भन्नका लागि बाटोमा उभिनुपर्छ, यात्रालाई ‘पज’ गर्नुपर्छ र त्यसपछि उपयुक्त मार्ग प्रशस्त गरेर मात्र यात्रा अगाडि बढाउनुपर्ने हुन्छ।

हाम्रो राजनीतिमा ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न हामी फरक बाटोबाट पनि सफल हुन सक्छौँ भन्ने सङ्कल्पले नै हामी नेकपा (एकीकृत समाजवादी) निर्माणमा आएका थियौँ। तर, समाजवादी पार्टीसँगको यात्रा त्यो पार्टी विघटन सँगसँगै टुङ्गियो। त्यो पार्टीको यात्रा टुङ्गिएपछि अब यो हाम्रो ‘पज’ को अवस्था हो।
  • आत्म-समीक्षा र बिम्बको राजनीति

समाजवादी पार्टी हामीले त्यस्तो अवस्थाबाट निर्माण गर्‍यौँ, जुन बेला दलभित्रका आन्तरिक लोकतन्त्रहरू खुम्चिरहेका थिए। जनतामा भरोसा थियो, र त्यो भरोसालाई हामीले डोर्‍याउन सक्छौँ भनेर पार्टी निर्माण गरेका थियौँ। तर, समयक्रमले यहाँसम्म ल्यायो कि यो पार्टी विसर्जनको ठाउँमा पुग्यो।

हामीले पार्टी विभाजनको बेला संविधान र लोकतन्त्रको रक्षाका लागि यो गरेका हौँ भनेका थियौँ। यद्यपि, निर्वाचनमा जनताले हामीलाई अनुमोदन गरेनन्।

नेकपा (एमाले) विभाजनका बेला कमरेड माधवकुमार नेपाललाई निर्वाचन आयोगतिर लैजाँदै गर्दाको एउटा दृश्यलाई बिम्बात्मक रूपमा लिएर धेरै मान्छेले म माथि प्रश्न उठाए कि नेकपा (एमाले) विभाजनको लागि म प्रमुख पात्र हुँ भनेर। त्यो बिम्ब सत्य पनि थियो, तर इतिहासका कालखण्डले कसको कति भूमिका थियो, त्यो देखाउने नै छ।

त्यो फोटो र त्यो बिम्बले चाहिँ एउटा अध्यायको अन्त्य नगरी अर्को अध्यायमा अगाडि बढ्न हामीलाई बाटो दिएकै थिएन। यो यात्रा अवरुद्ध छ र हामी गलत बाटोमा हिँडिरहेका छौँ भन्ने कुरा हामीले धेरै पहिले नै थाहा पाएका थियौँ। तर, त्यसलाई सच्याउन हामीसँग केही जिम्मेवारी र बाध्यताहरू थिए। त्यसकारण हामीले त्यो यात्रा बिचैमा टुङ्ग्याउन सकेका थिएनौँ। आज त्यो यात्रा टुङ्गिएको छ र यसमा हामी एकप्रकारको खुसी नै छौँ।

ramkumari jhakri (1)-001

  • जेन्जी विद्रोह: लोकतान्त्रिक प्रणालीमाथिको प्रश्न

हामीले पार्टी विभाजनको बेला संविधान र लोकतन्त्रको रक्षाका लागि यो गरेका हौँ भनेका थियौँ। यद्यपि, निर्वाचनमा जनताले हामीलाई अनुमोदन गरेनन्। तर, भदौ २३ र २४ गते को ‘जेनजी विद्रोह’ का घटनाहरूले समाजमा जे-जे कुराहरू भए, त्यसको प्रकारान्तरले समाजमा एकप्रकारको सामाजिक निराशा सिर्जना गर्ने काममा दल विभाजन र दलबदलका प्रक्रियाले हामीहरूले पनि केही भूमिका खेल्यौँ कि भन्ने कुराका लागि हामी क्षमा चाहन्छौँ।

सबै चिज हल्लिएर त्यसको जवाफ कसले दिने हो भन्ने कुराको आज पनि उत्तर छैन।

हामीलाई धेरै मान्छेले भरोसा गरेका थिए, एउटा क्रान्तिकारी, विद्रोही पार्टी निर्माण हुन्छ र त्यसको वरिपरि थुप्रै शक्तिहरू गोलबन्द हुन्छन्। तर, हामी त्यो बाटोतर्फ लागेनौँ। थुनिएको खोलाले निकास खोज्छ भनेजस्तो, समाजमा उकुसमुकुस भएका बाटोहरूले विभिन्न पार्टीमा विभाजन र चुनावी प्रक्रिया त जारी राख्यो, तर पार्टीहरूमा अर्थपूर्ण उपस्थिति देखाउन नसक्ने पुस्ताले ठुलो विद्रोह गर्‍यो ।

जेनजी विद्रोहले हाम्रा समाजका सबै अवयवहरू, सबै संरचनाहरूलाई हल्लायो। यसले हाम्रो लोकतान्त्रिक प्रणालीमाथि प्रश्न उठायो, राज्यका अङ्गहरूमाथि प्रश्न उठायो, हरेक नागरिक जीवनमाथि प्रश्न उठायो। सबै चिज हल्लिएर त्यसको जवाफ कसले दिने हो भन्ने कुराको आज पनि उत्तर छैन।

हामीले निर्माण गरेको लोकतान्त्रिक प्रणाली र राज्य व्यवस्थाको जबाफदेहिता कोसँग छ ? राजनीति शास्त्रका अनुसार हरेक नागरिकमा राज्यप्रतिको जबाफदेहिता हुन्छ। तर, जेनजी विद्रोहको क्रममा जबाफदेहिता राज्य प्रणालीमा जम्मा एकजना व्यक्ति वा पदमा मात्रै केन्द्रित गरेको त होइन भन्ने कुरा देखायो। हेड अफ दि स्टेट मात्रै जबाफदेही हुने, र अरू कोही नागरिक वा संस्थाहरू जबाफदेही नभइरहे पनि हुने जस्तो अवस्था सिर्जना भयो।

हामीले आफूलाई सोध्नैपर्ने प्रश्न के हो भने, के दलहरूको औचित्य सिद्धिएको हो ? नेपाली राजनीतिक दलहरूका कार्यालयहरू जल्दै गर्दा, लाखौँ सदस्य भएका सदस्यहरूले त्यो कार्यालय किन बचाउन सकेनन् होला ? सयौँ सैनिक भएको सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय किन कसैले जोगाएन होला ? निजी उद्योग प्रतिष्ठानहरू किन कसैले बचाएनन् होला ?

दलहरू कमजोर बन्दै गर्दा, त्यही पार्टी भित्रैका मान्छेहरू एकअर्कोको विरुद्ध कसरी प्रयोग भए त ? यो एकदमै डरलाग्दो प्रश्न हो।

कहीँ न कहीँ हामीले पनि हाम्रा अभिव्यक्ति, कुरा, काम, र व्यवहारले समाजमा जबाफदेहिता छैन भन्ने कुरा सिकायौँ कि ? यो प्रश्नको जवाफ आज उभिएर हामीले दिनुपर्छ। दलभित्रको आन्तरिक लोकतन्त्रको सन्दर्भमा हामीले जे-जे गरिरहेका थियौँ, त्यसको प्रत्यक्ष प्रभाव समाजमा पर्दै गयो र समाजलाई हामीले अराजकतातिर डोर्‍याएका त थिएनौँ? यसको जिम्मेवार हामी राजनीतिक पार्टी नै त थिएनौँ? भन्ने प्रश्न हामीमाथि उठे।

दलहरू कमजोर बन्दै गर्दा, त्यही पार्टी भित्रैका मान्छेहरू एकअर्कोको विरुद्ध कसरी प्रयोग भए त ? यो एकदमै डरलाग्दो प्रश्न हो।

  • एकताको नाममा लोकतन्त्रको नाश

दल कमजोर भइरहँदा के हुँदो रहेछ भन्ने हामीले भोग्यौँ, र गलत स्वार्थलाई एकै ठाउँ राखेर दल निर्माण हुँदा के हुँदो रहेछ त्यो पनि भोग्यौँ। जब नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भएर नेकपा बन्यौँ, पार्टीभित्रको लोकतन्त्र त्यहीँ दिन सिद्धियो। लोकतन्त्रको अभ्यास गर्ने परिपाटी दुई नेतामा, दुईटा ध्रुवका नेतामा सीमित गर्‍यौँ  र तत्कालीन एमालेको लोकतान्त्रिक जीवन समाप्त पार्‍यौँ।

एकताले पार्टी र आन्दोलनलाई पुनर्गठित गरेर लान्छ कि, यो बञ्चरे डाँडा (डम्पिङ साइट) हो, जहाँ अर्ग्यानिक र नन-अर्ग्यानिक दुवै प्रकारको फोहोर फालिरहेका छौँ?

आज हामी टुक्रा-टुक्रामा विभाजित भएका पार्टीहरूलाई फेरि एकै ठाउँ हाल्दैछौँ, त्यहाँ पनि लोकतन्त्र नासिने नै हो। आज नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को बिचमा एकीकरण भइरहँदा यसले बृहत्तर वामपन्थी एकता र प्रगतिशील आन्दोलनलाई कमजोर पार्ने निश्चितै छ। किनभने, त्यहाँ सबै ओत लाग्ने (आफ्नो सुरक्षा खोज्ने) कुरा मात्रै भइरहेको छ। आफ्नो सुरक्षाका लागि हर चिजको सौदाबाजी हुनेवाला छ।

यस्तो एकताले पार्टी र आन्दोलनलाई पुनर्गठित गरेर लान्छ कि, यो बञ्चरे डाँडा (डम्पिङ साइट) हो, जहाँ अर्ग्यानिक र नन-अर्ग्यानिक दुवै प्रकारको फोहोर फालिरहेका छौँ? नागरिक जीवनका यस्ता प्रश्नहरूको उत्तर आज सबैले खोज्नुपर्छ र दिन बाध्य पार्नुपर्छ।

  • अन्तिम पाठ: दलको अनिवार्यता

पार्टीहरू कमजोर भए भने, पार्टीभित्रको आन्तरिक जीवन खलबल पुग्यो भने, राज्यसत्ता, राज्य व्यवस्था र प्रणाली नै सकिने रहेछ भन्ने कुराको राम्रो उदाहरण भदौ २३ र २४ गते का घटनाहरू हुन्। र लोकतन्त्रको अभ्यास सही ढङ्गले नहुँदा के हुन्छ भन्ने कुरा हो।

तर, लोकतन्त्रलाई प्रत्याभूत गर्नका लागि दलै चाहिँदो रहेछ भन्ने कुराको अनुभूति आज हर नागरिक समाजले गरिराखेका छन्। प्राइभेट सेक्टरले समेत सरकारले सुरक्षाको प्रत्याभूति नगरीकन काम गर्न नसकिने बताउँछन्।

यसको मतलब, लोकतन्त्रको प्रत्याभूति, शान्ति सुरक्षा र जबाफदेहिता दलमै हुने रहेछ भन्ने बुझाइ स्थापित भयो। त्यसो हो भने, दललाई नै जिम्मेवार कसरी बनाउने त भन्ने अभियानमा हामीले काम गर्नुपर्ने हुन्छ। यो काम दलको बाहिर बसेर खबरदारी गरेर गर्न सकिन्छ कि दलको प्रक्रियाभित्रै बसेर? यी प्रश्नहरूको उत्तर हामीले सजिलै भेटिसकेका छैनौँ।

सम्वन्धित समाचार :