सिरहाको अर्नमा गाउँपालिका–३ हरकट्टाका नेपाली काँग्रेसका मधेश प्रदेश प्रतिनिधि जागेश्वर यादवले आफ्नै गाउँका नविन कुमार यादवले पानी निकासबारे बहना बनाई सामाजिक सञ्जालमा विषय उठाएको बताएका छन्।
पानीको निकास रोक्ने आफ्नो कुनै भुमिका नभएको भन्दै प्रदेश प्रतिनिधि यादवले पानी रोकिएको विषयवारे गाउँ समाजका विभिन्न व्यक्तिहरुलाई जानकारी भएको बताएका छन्। पानी निकास रोकिएको ठाउँमा आफ्नो व्यक्तिगत जग्गा नभएको भन्दै जागेश्वरले पानी रोकेको कुरा कसरी बाहिर आएको र कसरी आफ्नो नाउँलाई लिए चर्चा भएको भन्नमा गुनासो गरेका छन्। पानीको निकास रोकिएको प्रमाणित भएमा आफूले दण्ड भोग्न तयार भएको भन्दै उनले फेसबुकमा आफू विरुद्ध जथाभावी लेख्नेलाई कानूनी कारवाही हुनुपर्ने बताएका छन्।
गत असार २०८२ मा प्रदेश सरकारबाट प्राप्त ५० लाखको लागतमा सडक ढलान भएदेखि अर्नमा गाउँपालिका–३ हरकट्टा टोलको सडकमा पानी जम्न थालेको स्थानीयको भनाई रहेको छ । पानीको निकास नरोकिने गरी सडक ढलान गरिनु पर्ने वा सडक ढलान भन्दा नाला निर्माणको काम हुनुपर्नेमा त्यसो नभएको स्थानीयको गुनासो रहेको छ । पानीको निकास रोक्नमा जागेश्वर यादवको कुनै भुमिका नरहेको स्थानीयहरुले बताएका हुन् । राजनीतिक रुपमा बदमान गर्न र आफ्ना कुरा सोझ्याउनका लागि सामाजिक संजाल फेसबुकमा गलत कुरा नविन यादवले खेलेको स्थानीयहरुले दाबी गरेका छन् । सामाजिक संजाल फेसबुकमा लेख्नु भन्दा पहिला राम्रोसँग स्थलगत अध्ययन गरिनुपर्ने स्थानीयहरुले नविन कुमार यादवलाई सुझाव दिएका हुन् । हतारको कुरामा लागेर चरित्र हत्या हुने गरि सामाजिक फेसबुकमा लेखिनु कानूनी र सामाजिक अपराध सरह भएको उनीहरुले प्रष्ट्याएका छन् ।
‘पानी त सहज रुपमै बगिरहेको थियो, जब सडक फराकिलो भयो तब पानीको बहावमा अवरोध आउन थाल्यो,’ अर्नमा गाउँपालिका–३ का वडाध्यक्ष महेश यादव भन्छन्, ‘पानीको दिगो निकासका लागि स्थानीय र प्रदेश सरकार समक्ष पहल भइरहेका छन् ।’ उनले दाबी गरे अनुसार सडकको दुबैतर्फ पक्की नाला निर्माण नभएसम्म पानीको निकास हुने छैन् । पानीको निकास नभएर समस्यामा परेको केही व्यक्तिगतले गुनासो गरेपछि सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेखेको जनता समाजवादीका स्थानीय नेताको रुपमा समेत चिनिएका नविन कुमार यादवले बताए । ‘कसले बोलाएको र के के भनेको सबैको रेकर्ड छ,’उनले भने,‘समय पाएपछि पेश गर्नेछु ।’
स्थानीय स्तरमा हुने अधिकतर विकास निर्माणको ठेक्कापट्टा र उपभोक्ता समिति गठनमा नविनको भुमिका निर्णायक हुँदै आएको स्थानीयहरुले दाबी गरेका छन् । उनीहरु भन्छन्,‘अर्नमा गाउँपालिकामा जसपाकै नेता पालिका अध्यक्ष भएर नविनलाई काम गर्न सहज हुँदै आएको छ ।’ जागेश्वर यादव भने नेपाली काँग्रेसको सदस्य भएर रुपमा राजनीतिक गर्दै आएको स्थानीयहरुले बताएका छन् ।


