रोशन जनकपुरी
जर्मन नाटककार बर्तोल्त ब्रेख्तको प्रसिद्ध नाटक ‘द लाइफ अफ ग्यालिलियो’मा नायकत्वबारे ग्यालिलियो र उनको शिष्य आन्द्रेया बिचको संवाद रोचक छ ।
आन्द्रेया भन्छन्, ‘कति अभागी छ त्यो भूमि, जहाँ कुनै नायक जन्मिँदैन ।’
जवाफमा ग्यालिलियो भन्छन्, ‘होइन ! कति अभागी छ त्यो भूमि, जसलाई नायकको आवश्यकता छ ।’
नायक, अर्थात् समाजमा ठुलो समस्या वा सङ्कटको घडीमा उद्धारक । आन्द्रेया सङ्कटको घडीमा कुनै उद्धारक महान् व्यक्ति नभएकोमा दुःखी छन् । उनी परम्परागत छन्, जसमा सङ्कटको घडीमा नायक अवतरित हुन्छ वा आउँछ र सङ्कटमा परेकाहरूको सङ्कट टार्छ; कुनै मिथ वा इतिहासको कुनै महान्, असाधारण वा अलौकिक क्षमता भएको देउता वा वीर योद्धा नायक जस्तो ।
तर ग्यालिलियो वैज्ञानिक छन्, त्यसैले आधुनिक र सृजनात्मक छन् । उनी नायकको आवश्यकता पर्नुलाई नै दुःख भन्छन् । ब्रेख्तले आफूलाई ग्यालिलियोको संवादमा अभिव्यक्त गरेका छन् । नायकको अपेक्षाले जनतालाई निष्क्रिय बनाउँछ र सबै समाधानका लागि एक व्यक्तिको मुख ताक्न प्रेरित गर्छ ।
पटक–पटक वा हमेसा नायकको आवश्यकता आफैमा सङ्कट हो । यस्तो स्थितिले समाजको आधारभूत प्रणाली नै कमजोर रहेकोतर्फ सङ्केत गर्छ । राजनीतिक, सामाजिक र आर्थिक संरचनाहरू सही छन् र समाज सचेत शिक्षित र संगठित छ भने नायकको आवश्यकता नै पर्दैन । अधिकांशतः, नायकहरूले प्रणालीलाई जनवादीकरण गर्नुको सट्टा प्रायः आफूलाई नै प्रणाली बनाउँछन् ।
यहाँ मार्क्सवादीहरूको संगठनमा अपनाइने जनवादी केन्द्रीयताको मर्म, व्यक्तिगत नायकत्व भन्दा वर्गीय वा सामूहिक नेतृत्वमा विश्वास उल्लेखनीय छ ।
नाटककार ब्रेख्त यसै कारण व्यक्तिपरक नायकत्वलाई अस्वीकार गर्छन् । उनको भनाइले व्यक्तिपूजालाई अस्वीकार गर्दै सक्षम, न्यायपूर्ण र जनताबाट सञ्चालित संस्थागत प्रणालीको अपरिहार्यतामाथि जोड दिन्छ ।
राजनीतिक पार्टीहरूमा दर्शन र विचारले सूत्रको काम गर्छ । यसले पार्टीमा सबैलाई एक आपसमा जोड्छ र राजनीतिक लक्ष्य र खुला बहस तथा विमर्शपछि पद्धतिसंगत ढङ्गले गरिएका निर्णयहरूप्रति सबैलाई हार्दिकतापूर्वक सहमत र प्रतिबद्ध बनाउँछ । जब दलहरूभित्र वैचारिकता र राजनीतिक लक्ष्य कार्यप्रणालीबाट हराउँछ अथवा अकारण संशोधित हुन्छ, अनि जनवादको नाममा देखिने बहुमत, राजनीतिक लक्ष्यपूर्तिको उद्देश्यको सट्टा अल्पमतमाथि वर्चस्व थोपर्ने हतियारमा परिणत हुन्छ ।
त्यसपछि पार्टीहरूमा राजनीतिक असुरक्षा उत्पन्न हुन्छ । पार्टीमा सामेल सबै सदस्यहरू राजनीतिक रूपमा असुरक्षित महसुस गर्न थाल्छन् । पार्टी प्रमुखको नजरमा नपर्नेहरू र असुरक्षित महसुस गर्ने सदस्यहरूले मिल्नेसँग गुट निर्माण गर्छन् र गुटका प्रमुख व्यक्तिमा आफ्नो सुरक्षा तथा स्वार्थपूर्ति हेर्न थाल्छन् । पार्टीभित्र नायकत्व यहीँबाट जन्मन्छ ।
नायक अर्थात् रक्षक ! पार्टीभित्रका यी नायकहरूले इतिहासमा पार्टीले गरेको राजनीतिक सङ्घर्ष र उपलब्धिलाई आफ्नो उपलब्धिका रूपमा व्याख्या गर्छन् एवं असुरक्षा भावले ग्रसित गुटमा सामेल पार्टी कार्यकर्ताहरू ती नायकहरूको विरुदावली गाउँछन् । र, विचारबाट च्युत वा स्खलित पार्टीहरू कुनै ग्याङ र यसका प्रमुखहरू ग्याङमास्टर एवं सुप्रिमो जस्ता हुने गर्छन् ।
यही निष्कर्ष राज्यसत्तामा पनि लागु हुन्छ । राज्यसत्तासँग समाजको समृद्धि र अग्रगमनको सही विचार, कार्यदिशा भएन र जनताको हितप्रति प्रतिबद्धता भएन भने समग्र राज्यसत्ताको संरचना सशस्त्र बलमा टिकेको शासकवर्गको ग्याङमा परिणत हुन्छ । शासनप्रमुख ग्याङको संरक्षक र न्याय, सुरक्षा र प्रशासन यस शासकीय ग्याङको स्वार्थसिद्धि गर्ने, रक्षा गर्ने र विरुदावली गाउने साधनमा परिणत हुन्छ ।
यस्तो राज्यसत्ता विरुद्ध योजनाबद्ध सङ्घर्ष गर्नु तथा समाजको अग्रगामी राजनीतिक दिशामा बढ्ने खालको कार्ययोजना ल्याउनुको साटो, यसै राज्यसत्तामा हिस्सेदारीको प्रतिस्पर्धामा लाग्ने राजनीतिक पार्टीहरू राज्यसत्ताको चरित्रभन्दा भिन्न हुने सम्भावना नै रहँदैन ।
यसखाले राज्यसत्ता होस वा राजनीतिक पार्टी, दुवै जनताको अपेक्षा र विश्वासभन्दा टाढा गइसकेको हुन्छ । यिनीहरूको जरो जनताको बिचबाट उखेलिइसकेको हुन्छ । कुनै बेला जनसङ्घर्षमा सक्रियताको इतिहास बोकेका यी नायकहरू इतिहासको घमण्डमा जनताबाट टाढिएको थाहा नै पाउँदैनन् वा पाए पनि नायकत्वको आभासबाट मुक्त हुन चाहँदैनन् । त्यसैले साना हुरी बतासले पनि यिनलाई विचलित पारी दिन्छ ।
जेनजी उथलपुथल मध्यवर्गीय फ्रस्टेसन हो भन्ने तथ्य गत भदौ महिनाको दुई दिने अराजक गतिविधिहरूमा सहभागी अधिकांश निजी विद्यालय र कलेजमा पढ्ने मध्यमवर्गका छोराछोरी, सहरी छात्र/छात्राहरूको सहभागिताबाट प्रस्ट छ ।
यसको प्रभाव अधिकांशतः राजधानी र सहरी क्षेत्र, श्रमजीवि वर्ग र आम जनसमुदायको जनजीवनका सरोकार र आधारभूत समस्यालाई प्राथमिक एजेन्डामा राख्न नसक्नुबाटै प्रस्ट हुन्छ । मध्यवर्ग आफैमा एउटा अस्थिर र असुरक्षित चरित्र बोकेको वर्ग हो । यसले प्रत्यक्ष जोखिम मोल्न चाहँदैन । यसैकारण जेनजी उथलपुथलमा नेतृत्वविहीनता र स्वतः स्फूर्तता देखियो र यसैको मौका छोपेर विविध असामाजिक एवं बाह्य तत्त्वहरू घुसपैठ गर्न सफल भए ।
राजनीतिक पार्टीहरूले जनतासामु विकल्प पेस गर्नुपर्ने तथा उनीहरूलाई दिशाबोध गर्नुपर्ने थियो तर आफ्नै आन्तरिक शक्तिको खिचातानीमा लागेर राजनीतिक दल र नेतृत्वहरू कुहिरोका काग जस्तै भएका छन् । उनीहरूको दिशा भ्रमले समग्र राजनीतिमा दिशाहीनता, अलमल र अन्यौलता कायम छ ।
आन्दोलनमा देखिएको साझा नेतृत्व विहीनताका कारण जेनजी उथलपुथलमा सामेल चर्चित व्यक्तित्वहरू आ–आफ्नै नेतृत्वमा राजनीतिक दर्शन बिनाको पार्टी घोषणा गरिरहेका छन् ।
भदौ महिनामा समग्र संरचनालाई प्रभावित पार्ने गरी भएको मध्यवर्गीय फ्रस्टेसनको उथलपुथल र हुरी, वर्गीय आयतनका दृष्टिले सङ्कीर्ण भए पनि यसको सघनताले सृजित अन्यौलताले नेपाली राजनीतिक पार्टीहरूलाई नराम्ररी नङ्ग्याइ दिएको छ ।
जनताको मतले निर्वाचित भएर सरकार र प्रतिपक्षमा रहेका राजनीतिक दलहरूको हातबाट सत्ता सहजै फुस्की सकेको छ । अकस्मात् प्रत्यक्ष शासनमा जेनजीको एउटा समूहको समर्थनमा गैरराजनीतिक व्यक्तिहरू सत्ता केन्द्रमा अन्तरिम सरकारका रूपमा देखिएका छन् । उनीहरू राजनीतिक पार्टीका नेताहरूको भ्रष्टाचारको छानबिन गर्ने, राजनीतिक बेथिति ठिक गर्नका निम्ति शासकीय स्वरूप हेरफेर गर्ने र अन्तरिम निर्वाचन गराउने लोकप्रियतावादी कुरा गर्दै छन् ।
तर नयाँ सरकार केही नयाँ गरिरहेको छैन । नैतिक तथा इमानदार चमकका साथ सत्तामा आएको श्रीमती सुशीला कार्कीको अन्तरिम सरकार बित्ने प्रत्येक दिनसँगै धूमिल हुँदै गइरहेको छ । भ्रष्टाचार प्रधानमन्त्री श्रीमती कार्कीको वरिपरि घेरेर बस्ने सचिवहरूको जमातबाटै सुरु हुन्छ । यस तथ्यबाट श्रीमती कार्की निश्चय अनजान छैनन् ।
किनभने उनी यसै राजनीतिक संरचनाको एउटा अङ्ग न्यायालयको सर्वोच्च पद सम्हालेर आएकी हुन् । यो विषय उनले उपेक्षित गरे पनि उपेक्षित हुने स्तरको छैन । बरु उनले राजनीतिक भ्रष्टाचारलाई प्राथमिक विषय बनाएर जनसमर्थन आफूतिर तान्न खोजेको देखिन्छ ।
यसको सम्भावित उद्देश्य भ्रष्टाचार अनुसन्धानको नाममा राजनीतिक दलहरूलाई रक्षात्मक बनाउने र जेनजी उथलपुथलको मुख्य योजनाकार अनुकूल आगामी निर्वाचनमा अधिकतम परिणाम प्राप्त गर्ने हुन सक्छ ।
यथार्थ के हो भने अहिलेको स्थितिमा राजनीतिक पार्टीहरूमा राजनीतिक दर्शन, विचार, पद्धति र जनसम्बन्धको दृष्टिले गतिशीलता र जीवन्तताको अभाव देखिन्छ ।
राजनीतिक दलहरूको निरीहता कतिसम्म छ भने उनीहरू मौखिक दन्तबझानका अतिरिक्त कुनै ठोस वैकल्पिक कार्ययोजनासहित जनसमुदायका बिच उभिन पनि सकेका छैनन् । अर्कोतर्फ जेनजीको पर्दा पछाडिको योजनाकार प्रकारान्तरले समग्र राजनीति, राजनीतिक इतिहास र राजनीतिक नेतृत्व र सङ्घर्षहरूलाई नकारात्मक रूपमा प्रचारित गरेर समग्रमा राजनीतिक वितृष्णाको माहौलमा टेकेर गैरराजनीतिक निवर्गीय राजनीतिक वातावरण निर्माण गर्न लागेको देखिन्छ ।
अर्कोतर्फ राजनीतिक पार्टीहरू भित्रको अवसरवादले गर्दा उनीहरू आन्तरिक द्वन्द्वमा फस्दै गइरहेका छन् । पार्टीहरू भित्र जसरी पार्टी नेतृत्वलाई पद छाड्न दबाब सृजना हुँदैछ, त्यसले पार्टीभित्र नेतृत्व सङ्कटको गम्भीरता प्रतिबिम्बित हुन्छ । यसको एउटै कारण छ– पार्टी भित्र नायक संस्कृति वा सुप्रिमो शैलीको नेतृत्व विकास ।
नाटककार ब्रेख्त यसै कारण व्यक्तिपरक नायकत्वलाई अस्वीकार गर्छन् । उनको भनाइले व्यक्तिपूजालाई अस्वीकार गर्दै सक्षम, न्यायपूर्ण र जनताबाट सञ्चालित संस्थागत प्रणालीको अपरिहार्यतामाथि जोड दिन्छ ।
यसो भनिरहँदा परिस्थितिजन्य अथवा कुनै सङ्कटग्रस्त परिस्थितिमा नायकको उदय हुनुको अस्वीकरण होइन, बरु नायकत्व व्यक्तिपूजाको संस्कृतिका रूपमा विकसित हुनुको सचेत आलोचना हो । वस्तुतः नायकत्वलाई नेतृत्वको अर्थमा बुझ्नु गलत हुन्छ । नायकत्व आकस्मिकता हो भने नेतृत्व प्रत्येक राजनीतिक वैचारिक संगठनका निम्ति मार्गदर्शन गर्ने, नीति निर्माण गर्ने, कार्यकर्तालाई एकताबद्ध गर्ने र संगठनलाई गन्तव्यमा पुर्याउने अपरिहार्य नियमित आवश्यकता हो ।
नायकको मनोविज्ञानमा बाँच्ने नेतृत्वले के बुझ्नु जरुरी छ भने समस्याको समाधान गर्ने अन्तिम पात्र उनी मात्र होइनन् । देश र जनताको हित चाहने हो भने नेतृत्वबारे उठेका प्रश्नको बोध आवश्यक छ ।
राजनीतिक संगठनमा नेतृत्व सामूहिक छलफल, आन्तरिक लोकतान्त्रिक प्रक्रिया अर्थात् जनवादी केन्द्रीयताको विधिमा अनुमोदित हुनुपर्छ । नेतृत्वको चरित्र र चयनको यो जनवादी केन्द्रीयताको विधिको अभावमा पार्टीमा नेतृत्व सामूहिक अभिव्यक्ति रहँदैन ।
नेतृत्वपद सत्ताभोगको पदमा विकसित हुन्छ र नेतृत्वमा बस्ने व्यक्ति अनेक दाउपेच गर्दै लोकतान्त्रिक विधिलाई आफू अनुकूल प्रयोग गर्दै जान्छ । र, क्रमशः एकखालको तानासाही जन्मन्छ । पार्टीको सर्वोच्च पदमा बसेको व्यक्तिपरक नेतृत्व सामान्य पार्टी सदस्य भन्दा माथि, असाधारण, दोषमुक्त र अलौकिक गरिमायुक्त नायकमा परिणत हुन्छ । अब ऊ पार्टीको वैचारिकता वा राजनीतिक लक्ष्यको दिशामा हिँड्दैन, बरु समग्र पार्टी नै उसको इच्छा र स्वार्थपूर्तिको साधनमा परिणत हुन जान्छ ।
केही दिन पहिले नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले पत्रकारहरूलाई जवाफ दिने क्रममा नेतृत्व हस्तान्तरणमा पुस्तान्तरणको विचारलाई अस्वीकार गर्दै ‘कुनै पुस्ता विशेषले होइन, नेतृत्व प्राप्त गर्नका निम्ति सपना हुने अर्थात् पार्टीलाई विचार र लक्ष्य अनुरूप हाँक्ने क्षमता भएको व्यक्ति मात्र नेतृत्व हुनसक्छ’ भन्ने धारणा राखेका थिए ।
भण्डारीको दृष्टिकोण सही हो, तर विगतको केही दशकमा विशेष गरेर गणतन्त्र स्थापनापछि राजनीतिक दलहरूका नेतृत्वसँग जसरी पनि सत्तामा बसिरहन अनेक उठापटक बाहेक अरू कुनै सपना देखिँदैन । पार्टीहरू भित्र वैचारिक विमर्श र विधि हराउँदै गएको छ र शीर्ष नेताहरू आफूलाई अपरिहार्य ठान्दै पार्टीभित्रका सबै प्रक्रियालाई आफूमै केन्द्रित गरिरहन सबै हतकण्डाहरु प्रयोग गरिरहेका छन् ।
जब कि यथार्थ के हो भने जनताको हितको राग अलाप्ने यी पार्टीहरूको नेतृत्वमा जनताको वास्तविक पीडा, भ्रष्टाचार, गरिबी, विदेश पलायन क्रमशः बढ्दै गएको छ । मध्यवर्गीय चरित्रको एउटा आलोकाँचो पुस्ताको पहलमा भए पनि जेनजी आन्दोलनमा जनताको सहानुभूतिको कारण राज्यसत्तामा व्याप्त भ्रष्टाचार र राजनीतिक बेथिति नै थियो । राज्यसत्ताको नैतिक स्खलनको कारण आन्दोलनलाई रोक्न सकिएको थिएन र राजनीतिक दलहरूले तत्काल यसको प्रतिवाद गर्न सकेनन् ।
यसरी असक्षम भएर पनि नेतृत्वमा बसिरहनुले बाहिर जनताको बिच मात्र होइन, प्रायः सबै पार्टीहरू भित्र नेतृत्वप्रति आक्रोश देखिएको छ । तर नेतृत्व आफू पदमा बसिरहन अनेक लफ्फाजी र निषेधको बाटो अपनाउँदै छ । यस्तो दृश्य प्रायः सबै पार्टीहरूमा देखिएको छ ।
यतिबेला देश अत्यन्त संवेदनशील सङ्क्रमणमा छ । वर्तमान गणतन्त्रले कुन दिशा लिने हो ? संविधानमा भनिएझैँ समाजवादी दिशातर्फ अग्रगमनको बाटोमा हिँड्ने हो वा जेनजी उथलपुथलको बलमा सत्तारुढ भएको अन्तरिम सरकारले लोकप्रियताको आवरण भित्रबाट यसका प्रगतिशील चरित्रलाई रूपान्तरण गरेर सर्वसत्तावादी पुँजीवादी दिशामा लग्ने हो ? जस्ता जनवादी र गैरजनवादी सम्भावनाहरू संवेदनशील रूपमा उभिएका छन् ।
राजनीतिक पार्टीहरूले जनवादी र समाजवादी अग्रगमनको क्रान्तिकारी विकल्पलाई जनतासामु पेस गर्नुपर्ने थियो तथा जनतालाई दिशाबोध गर्नुपर्ने थियो । तर आफ्नै आन्तरिक शक्तिको खिचातानीमा लागेर राजनीतिक दल र नेतृत्वहरू कुहिरोका काग जस्तै भएका छन् । उनीहरूको दिशा भ्रमले समग्र राजनीतिमा दिशाहीनता, अलमल र अन्यौलता कायम छ ।
अरू त अरू, वर्तमान लोकतान्त्रिक संघीय गणतन्त्रका मुख्य बाहकको दाबी गर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान जेनजीको एजेन्डा अर्थात् शासकीय स्वरूप आफूहरूकै एजेन्डा भएको दाबी गरिरहेका छन् । उनको दाबी र तर्क सही पनि हो, तर अन्य पार्टीका सुप्रिमोहरू जस्तै आलोचनाबाट उनी पनि मुक्त छैनन् । वर्तमान राज्यसत्ताका सञ्चालकहरूप्रति जनताबिच पलाइरहेको आक्रोशको नेतृत्व उनको पार्टीले किन गर्न सकेन ? भन्ने प्रश्न कायम छ ।
समग्रतामा उनी पनि लफ्फाजीबाहेक केही गरिरहेका छैनन् ।
वस्तुतः यी समग्र प्रश्नहरूले वर्तमान राजनीतिमा निकासको गम्भीर सङ्कट र नेतृत्वको खडेरीलाई अभिव्यक्त गर्छ । यथार्थ के हो भने अहिलेको स्थितिमा राजनीतिक पार्टीहरूमा राजनीतिक दर्शन, विचार, पद्धति र जनसम्बन्धको दृष्टिले गतिशीलता र जीवन्तताको अभाव देखिन्छ ।
निश्चय नै यस समस्याको समाधान जादूई हुन सक्दैन । यसका निम्ति सबै राजनीतिक दलका नेताहरूले नायकत्वको गर्विलो आकाशबाट राजनीतिक दर्शन, विचार र जनवादको जमिनमा टेक्नु पर्नेछ । तर यो आदर्शवादी चिन्तनबाट मात्र सम्भव छैन । यसका निम्ति सजग जनसमुदायबाट नियन्त्रित, जबाफदेही र विधिमा आधारित सामूहिक नेतृत्वको विकास गराउने पद्धति आवश्यक हुन्छ ।
यो भनेको जनवादी केन्द्रीयता अर्थात् सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको पद्धति हो । पुराना नेताहरूले ठोस परिस्थितिको ठोस मूल्याङ्कन गरेर आवश्यकता अनुरूप अग्रगमनको दिशा निर्देश गर्न सकिरहेका छैनन् । र, उनीहरूको अनेक प्रयत्नपछि पनि समस्याको समाधान, राजनीतिक शब्दावलीमा भन्ने हो भने ‘जनताको दुःख हरण’ गर्न सकिरहेका छैनन् भने उनीहरूले अरूको निम्ति बाटो खुला गरिदिनु पर्छ ।
नायकको मनोविज्ञानमा बाँच्ने नेतृत्वले के बुझ्नु जरुरी छ भने समस्याको समाधान गर्ने अन्तिम पात्र उनीमात्र होइनन् । देश र जनताको हित चाहने हो भने नेतृत्वबारे उठेका प्रश्नको बोध आवश्यक छ ।


