बडा दसैँको चहलपहल सकिएसँगै नेपाली घरआँगनमा यत्तिबेला तिहार सँग–सँगै म्ह: पूजा र छठ पर्वको आगमन भएको छ । बारीमा कोदो झुलिरहेका छन्, खेतका गराहरूमा किसान धान भित्र्याउने चटारोमा छन् । आफ्ना दाजुभाइ र दिदीबहिनीलाई वर्ष दिनको भाइटिका सम्झेर कोही परदेशबाट घरदेश आइरहेका छन् । कोही सहरबाट गाउँ त कोही गाउँबाट सहर धाइरहेका छन् । करेसाबारी र खेतबारीका गराहरूमा मखमली, सयपत्री र गोदावरीले सुवास छरिरहेका छन् ।

काठमाडौँको असन र न्यूरोड झैँ प्रत्येक गाउँ–नगरका बजार क्षेत्रहरूबाट तिहार, म्ह: पूजा र छठ पर्व भित्र्याउने क्रम दिन दुई गुणा रात चौगुणा बढ्दै गइरहेको छ । नेपाली समाज विविधतामा एकता भएको समाज हो । विविध भाषा, संस्कृति, चाडपर्व र रहनसहन भएका समुदायहरूको एकताले नै नेपाली समाजको आधार निर्माण गरेको छ ।

एक वाक्यमा भन्दा यिनै भाषा, संस्कृति र चाडपर्वहरूकै कारण नेपाली समाज फूलको माला झैँ गाँसिएको छ । आजको आधुनिक युगमा हामी शिक्षा, रोजगारलगायत अन्य अवसरहरूको खोजीमा स्वदेश तथा विदेशका कुना–कुनामा पुगेका छौँ । तर, हामी जहाँ भए पनि हामीलाई हाम्रा चाडपर्वहरूले सधैँ आफ्नो गाउँ, समाज र परिवारसँग जोडिरहेको हुन्थ्यो ।

तर यो वर्षको दसैँ र तिहार जस्ता पर्वहरू सदाझैँ सुखदायी बन्न सकेन । हामी निक्कै ठुलो उकुसमुकुस र उराठ वातावरणबिच चाडपर्व मनाउने तरखरमा जुट्नुपरेको छ । सबै नेपालीको अन्तर्हृदयमा घमाइलो मौसम, फूलहरूको वासना र पारिवारिक मोह हुँदाहुँदै पनि चाडपर्वको कुनै उमङ्ग पैदा हुन सकेको छैन । हुन त सिङ्गो मुलुक नै शोकमा हुँदा, ७६ जना निहत्था नागरिकले ज्यान गुमाउँदा र हजारौँ निर्दोष युवाहरू घाइते हुँदा स्वाभाविक रूपमा कुनै उमङ्ग पैदा हुने कुरा पनि भएन ।

मजदुर, महिला, दलित, आदिवासी, मधेसी आदिको समस्यालाई हल गर्ने त भनियो तर समस्या ज्युँकात्यु रह्यो । दुई पटक निर्वाचन करिब दुई तिहाइको सरकार पनि बनाए, तर जनतालाई डेलिभरी दिनै सकेन ।

विगत लामो समयदेखि नेपाली युवाहरू मुलुकमा व्याप्त बेथिति, भ्रष्टाचार, नातावाद, कृपावाद जस्ता कुशासनका अवयवहरूका विरुद्धमा निरन्तर आक्रोश पोखिरहेका थिए । खास गरी सामाजिक सञ्जालका माध्यममार्फत युवाहरूले मुलुकको समग्र विकास, सुशासन र सामाजिक न्यायका पक्षमा आफ्ना आवाजलाई बुलन्द बनाइरहेका थिए ।

यिनै आधारहरूको उत्कर्षको रूपमा गत भदौ को २३ र २४ गते भएको जेनजी युवाहरूको विद्रोह स्थापित भयो । नेपालको राजनीतिक इतिहासलाई नियाल्ने हो भने पञ्चायती कालरात्रि विरुद्धको ०४६ सालको जनआन्दोलन, ०५२ बाट सुरु भएको १० वर्षे जनयुद्ध वा २०६२/६३ को दोस्रो जनआन्दोलन हुँदै संविधान निर्माण र हालैको जेनजी विद्रोहसम्म होस् नेपाली युवाहरूले निरन्तर बलिदानीपूर्ण सङ्घर्ष गर्दै आइरहेका छन् । पञ्चायती व्यवस्थाका पञ्चहरू र तीनका मण्डलेहरूले पिरोलेको नेपाली समाजले लामो सङ्घर्ष गरेर बहुदलीय प्रजातन्त्रको स्थापना गर्‍यो । तर नेपाली जनताको आधारभूत समस्याको कुनै समाधान हुन सकेन । शिक्षा, स्वास्थ्य, रोजगार जस्ता आधारभूत विषयमा जनताको पहुँच शून्य सरह भयो । प्रजातन्त्रको उदयले पनि नेपालमा कुनै उद्योग कलकारखाना खोल्न सकेन, बरु उल्टै रुग्ण अवस्थामा रहेका उद्योगहरू पनि बन्द गराइए । रोजगार सिर्जना गराउनुको साटो जनतालाई वैदेशिक रोजगारका लागि कर्जा उपलब्ध गराएर विदेश लखेट्ने काम गरे । युवाहरूलाई नेपालमै टिकाउनका लागि कुनै योजना बन्न सकेन, उल्टै विश्व बैङ्कबाट ऋण ल्याएर तलबभत्ता खाने अवस्थामा पुर्‍याए । टनकपुर सन्धि, महाकाली सन्धि जस्ता देशघाती सन्धिहरू यही अवधिमा भए । लाउडा र धमिजा जस्ता काण्डहरू पनि यही अवधिमा भए । नयाँ, पुराना सबै पार्टी र तिनका नेताहरू भ्रष्टाचार, कमिसन र ठगीधन्दाको दुर्गन्धित आहालमा चुर्लुम्म डुबेकाले नै जेनजी विद्रोहसम्म नेपाली समाज आइपुगेको छ । जेनजी विद्रोह हुँदासम्म पनि शासनसत्तामा रजगज गरिरहेका शेरबहादुर देउवा र केपी शर्मा ओलीहरू नै त्यसबेलादेखिका नाइके अनुहारहरू हुन् । बहुदलीय प्रजातन्त्रले पनि नेपाली जनताको जनजीविकामा कुनै परिवर्तन नल्याएपछि तत्कालीन नेकपा माओवादीले नयाँ जनवादी व्यवस्थाको परिकल्पना गरेर जनयुद्ध सुरु गर्‍यो । जुन १० वर्षसम्म चलेर ०६२/६३ को दोस्रो जनआन्दोलनपछि विस्तृत शान्ति सम्झौतामा टुङ्गियो । र, राजतन्त्रको अन्त्य गरी अन्तरिम संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भयो । करिब १० वर्ष लामो संक्रमणकालपछि अन्ततः ०७२ सालमा नेपालको संविधान पनि जारी भयो । जुन यिनै राजनीतिक दल र यिनै अनुहारहरूको सत्तालिप्सा र जनविरोधी हर्कतका कारण लम्बिएको थियो । नेपाली जनताले संविधानसँगसँगै मुलुकमा विकास, स्थिरता, सुशासन र समृद्धिको आशा राखेका थिए । संविधानका मौलिक हकहरूको व्यावहारिक कार्यान्वयनको आशामा थिए । सारमा भन्नुपर्दा गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी चाहेका थिए । तर, संविधान निर्माण पछि १० वर्ष बितिसक्दासमेत नेपाली जनताले अपेक्षित परिणाम अनुभव गर्न पाएनन् ।निश्चय नै ०७२ पछि देशमा संविधान त नयाँ आएको थियो । तर राजनीतिक दल र तीनका नेताहरूको व्यवहार भने उही पुरानै पञ्चायतकालका पञ्चहरूको भन्दा फरक थिएन । १० वर्ष युद्ध हाँकेर आएको माओवादी पार्टी पनि उही पुरानै दलहरू झैँ सत्तालिप्सा, कमिसन र भ्रष्टाचारको अविराम यात्रामा होमिन पुग्यो ।

मजदुर, महिला, दलित, आदिवासी, मधेसी आदिको समस्यालाई हल गर्ने त भनियो तर समस्या ज्युँकात्यु रह्यो । नयाँ संविधान बनेपछि यिनै राजनीतिक दलहरूले व्यवस्था बदलिसकेको हुनाले अब अवस्था बदल्ने बाचा गर्दै ०७४ र ०७९ गरी २ पटक निर्वाचनमा पनि होमिए । करिब दुई तिहाइको सरकार पनि बनाए, तर जनतालाई डेलिभरी दिनै सकेन ।

सीमित व्यक्ति भ्रष्टाचारी भएर भ्रष्टाचार बढेको होइन । हाम्रो सिस्टम नै भ्रष्टाचार उत्पादन गर्ने कारखाना जस्तो भएका कारण भ्रष्टाचार भइरहेको हो । वडा सदस्यदेखि प्रधानमन्त्रीसम्म, खरिदारदेखि मुख्यसचिवसम्म, सामान्य उपभोक्ता समितिदेखि नागरिक समाजसम्म यहाँ सबका सब भ्रष्टाचारमा लिप्त छन् ।

वाइडबडी काण्ड, सुन काण्ड, भुटानी शरणार्थी काण्ड, ललितानिवास, गिरिबन्धु हुँदै टेरामक्स र विमानस्थल काण्डसम्म गरी दर्जनौँ भ्रष्टाचार र अनियमितताका शृङ्खलाहरूमा यी राजनीतिक दल र दलका नेताहरू संलग्न हुँदै आए ।

भ्रष्टाचारका काण्डहरूमा राजनीतिक दलका नेताहरू मात्र नभई माथिल्लो दर्जाका कर्मचारीदेखि तल्ला तहसम्मका कर्मचारीहरूको पनि ठुलो संलग्नता छ । नेपालको कर्मचारीतन्त्रका विषयमा त आम नेपालीहरू जानकार नै हुनुहुन्छ । भ्रष्टाचार र अनियमितताबाट सायदै नेपालका कुनै पनि राज्यसंयन्त्र अछुतो छ । सेना, प्रहरी, न्यायालय जताततै भ्रष्टाचारको अखडा बनिरहेको छ ।

यिनै भष्टाचारका काण्डैकाण्डहरुको विरोधमा आम नेपाली जनता र खास गरी जेनजी उमेर समूहका युवापंक्तिले सामाजिक सञ्जाललाई आलोचना गर्ने केन्द्रको रूपमा विकास गरेका थिए । बेथिति र भ्रष्टाचारको विरुद्धमा सामाजिक सञ्जालमा नै आफ्ना आक्रोशहरू पोखिरहेका थिए । तर शासन गरिरहेका शासकहरू भने एकपछि अर्को भ्रष्टाचारका काण्डहरू मच्चाइरहेका थिए ।

यसको विरोध सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिन थालेको थियो । यसैबिच भ्रष्टाचार रोक्नुको साटो सरकारले उल्टै नियमनको नाममा सामाजिक सञ्जालमाथि नै रोक लगाए र आम जेनजी युवाहरूले यसको विरोधमा शान्तिपूर्ण रूपमा प्रदर्शन गर्ने उद्घोष गर्दै सडकमा आए ।

तत्कालीन प्रधानमन्त्री स्वयंले जेनजी युवाहरूलाई अपमानित हुने गरी टीकाटिप्पणी गरेर जेनजी युवाहरूलाई थप आक्रोशित बनाएका थिए । फलस्वरूप २३ गते प्रदर्शन भयो, प्रदर्शनमा एकैदिनमा १९ जनाको मृत्यु हुने गरी राज्य दमनमा उत्रियो । त्यसपछिको परिस्थितिबारेमा त तपाईं हामी सबैजना जानकार नै छौँ ।

आज देशमा गणतन्त्र आएको भनिएको छ । गाउँगाउँमा सिंहदरबार आएको भनिएको छ । तर, त्यो आम नेपाली जनताले अनुभूत गर्ने गरी कहिल्यै आएन । राजनीतिक दल, तीनका नेता कार्यकर्ता, आसेपासे र सीमित भ्रष्ट कर्मचारीहरूका लागि मात्र गणतन्त्र आएको महसुस जनताले गरेका छन् ।

भ्रष्टाचारको अन्त्य गर्ने नाममा केही नयाँ पार्टीहरू पनि उदाएका छन् । तर, जेनजी विद्रोहले तिनीहरूको पनि वास्तविक अनुहार छताछुल्ल बनाइदिएको छ । यतिबेला नयाँ, पुराना सबै पार्टी र तिनका नेताहरू भ्रष्टाचार, कमिसन र ठगीधन्दाको दुर्गन्धित आहालमा चुर्लुम्म डुबेकाले नै यो जेनजी विद्रोहसम्म नेपाली समाज आइपुगेको छ । साँच्चै विगतदेखि नै निरन्तर परिवर्तनको लागि सङ्घर्ष गर्दै आएका नेपाली जनता यतिबेला निक्कै नै उकुसमुकुस र दोधारे मनस्थितिमा जेलिएको छ ।

एकाथरी शक्तिहरु पहिला त देश स्वर्ग झैँ थियो भन्ने भाष्य बनाएर परिवर्तनकारी जनतालाई दिग्भ्रमित बनाउन खोजिरहेका छन् । अर्काथरीहरु भर्खरैसम्मको आफ्नो लूटको साम्राज्यलाई जोगाउन चाहिरहेका छन् । तर यथार्थ के हो भने यी दुवै अवस्थालाई नेपाली जनताले भोगेरै अथवा अनुभव गरेर नै तिनीहरूका विरुद्धमा सङ्घर्ष गरेर आजको अवस्थामा आइपुगेको हो ।

भ्रष्टाचारको विषयमा बहस गर्दा वास्तवमा केही सीमित व्यक्तिहरू भ्रष्टाचारी भएका कारण भ्रष्टाचार बढेको होइन । यो त हाम्रो सिस्टम नै भ्रष्टाचार उत्पादन गर्ने कारखाना जस्तो भएका कारण भ्रष्टाचार भइरहेको हो ।

वडा सदस्यदेखि प्रधानमन्त्रीसम्म, खरिदारदेखि मुख्यसचिवसम्म, सामान्य उपभोक्ता समितिदेखि नागरिक समाजसम्म यहाँ सबका सब भ्रष्टाचारमा लिप्त छन् । र, भ्रष्टाचारीहरू जन्मिरहेका छन् । भ्रष्टाचारीहरुलाई सजायको साटो पुरस्कार दिइन्छ भने त्यहाँ कसरी भ्रष्टाचारको अन्त्य हुन्छ र ? एउटा सामान्य वडाध्यक्षमा चुनाव लड्न करोड खर्च हुन्छ भने त्यहाँ भ्रष्टाचार अवश्य हुन्छ ।

त्यसकारण आजको अवस्थामा भने अब हामी आम नेपाली जनता र खास गरी जेनजी युवाहरूले ठण्डा दिमाग लगाएर सोच्ने र देशलाई अग्रगामी रूपान्तरणमा लैजाने ऐतिहासिक जिम्मेवारी पनि आइलागेको छ । हामीले पञ्चायतसँग लडेको बखतबाट नै भ्रष्टाचारको विरोध गर्दै आयौँ तर, कहिल्यै अन्त्य भएन, बरु झन् झन् बढ्यो ।

यो किन होला त ? शासकहरू फेरिए तर पनि जनताको दुःख किन कम भएन ? आज ८० लाख नेपालीहरू किन ५० डिग्रीको घाममा पसिना बेच्न बाध्य छन् ? बिदेसिने क्रम दिनप्रतिदिन किन बढ्दै गइरहेको छ ? लाखौँ नेपालीहरू आफ्नो देशको सारा सम्पत्ति बेचेर, नागरिकतासमेत त्यागेर विदेश बस्नुपर्ने अवस्था कसरी आयो ? चाडपर्वमा सबै परिवार सँगै बसेर एक छाक मिठोमसिनो खान पाउने अवस्था कहिले आउने हो ? आमाबाबाको लासमा दागबत्ती दिन चिलगाडी चढेर आउनुपर्ने अवस्थाको अन्त्य कहिले हुने हो ? कालापानी र लिपुलेकमा विदेशी सेनाले परेड खेल्दा धपाउने कसले हो ?

यी यावत प्रश्नहरूको उत्तर अब हामी आम युवापंक्तिले खोज्नै पर्छ । यसको ठिक उत्तर जबसम्म हामीले प्राप्त गर्दैनौँ तबसम्म यो देशमा भ्रष्टाचारको अन्त्य सम्भव छैन । किनकि यिनै प्रश्नहरूको ठिक उत्तरले मात्रै टुक्रिएका हाम्रा परिवारहरू एकत्रित हुनेछन् ।

टाढिएका हाम्रा आफन्तहरू दसैँ, तिहार, छठ, ल्होछार र उभौलीमा एकैठाउँमा हुनेछन् । निर्दोष युवाहरूले अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्था आउने छैन र समग्रमा हामी तीन करोड नेपालीहरूको सबै दुःखलाई अन्त्य गर्न सक्छ ।

(लेखक नेपाल टेलिकममा कार्यरत कम्प्युटर इन्जिनियर हुन् ।)

सम्वन्धित समाचार :