- २४ भदाैमा आगजनी तोडफोड र आपराधिक उपद्रवमा संलग्न ६३, ज्यान मार्ने उद्योगमा संलग्न १ र अभद्र व्यवहारमा संलग्न ३ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।
- काठमाडौँ — प्रहरीले २४ भदौमा भएको विध्वंसमा संलग्न ७६ जनालाई पक्राउ गरेको छ । जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा तीन प्रहरीको हत्या, हतियार लुटपाट, तोडफोड र नक्कली हतियार देखाएर आतंक मच्चाउनेहरू प्रहरी हिरासतमा पुगेका हुन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार प्रहरीको हत्यामा संलग्न ९ जनामध्ये ४ जना पुर्पक्षका लागि थुनामा पुगेका छन् । प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं दायर गरेको मुद्दामा अदालतले उनीहरूलाई थुनामा पठाउने आदेश दिएको हो । ‘बाँकी ५ जनालाई हिरासतमा राखेर अझै अनुसन्धान गरिरहेका छौं,’ उनले भने ।
आगजनी तोडफोड र आपराधिक उपद्रवमा संलग्न ६३, ज्यान मार्ने उद्योगमा संलग्न १ र अभद्र व्यवहारमा संलग्न ३ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । कारागारबाट भागेका केदीबन्दीमध्ये १३२ जनालाई पक्राउ गरिएको उनले बताए । ‘यो अवधिमा हराएका हतियारमध्ये २२ नाल ४ वटा ठूलो र १८ वटा सानो बरामद गरिएका छन्,’ उनले थपे ।
जो प्रहरीको हत्यामा संलग्न थिए
प्रहरी वृत्त, महाराजगन्जमा असई मिलन राय र जवान उत्तम थापाको हत्यामा संलग्न आरोपमा काभ्रे स्थायी घर भई बालुवाटार बस्ने २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुर घर भई चन्द्रागिरि बस्दै आएका २१ वर्षीय सोनाम तामाङ भनिने बुद्धिलाल थिङ पुर्पक्षका लागि थुनामा छन् । उनीहरुविरुद्ध ज्यान र आपराधिक उपद्रव गर्न नहुने कसुरमा मुद्दा दायर भएको थियो ।
प्रहरीका अनुसार महाराजगन्जमा खटिएका प्रहरी जवान थापालाई कार्यालयबाट लछारपछार गर्दै तानेर सुरुमा बाहिर ल्याइएको थियो । त्यसपछि भाटभटेनी सुपर मार्केट पछाडिको भित्री सडकको कुनामा ल्याएर ज्यान मार्ने उद्देश्यले लाठी, फलामको रड, चिर्पट, इँटा, ढुंगालगायतका धारिलो हतियार अन्धाधुन्ध प्रहार गरिएको उल्लेख छ । गम्भीर घाइते बनाएपछि समेत अपमानजनक व्यवहार गरिएको थियो ।
प्रहरीले संकलन गरेको कल डिटेल रेकर्डमा युवराज बिहान ६ः४७ बजे विशालनगर क्षेत्रमा देखिन्छन् भने ८ः५४ देखि १०ः१५ बजेसम्म कुमारी मार्ग, बिहान ११ः३७ मा उत्तर ढोका, दिउँसो १२ः१५ देखि ५ः२६ बजेसम्म चक्रपथ नजिकै कुमारी मार्ग, ६ देखि ७ बजेसम्म नारायणगोपाल चोक वरिपरि देखिन्छन् । सरकारी वकिलको रोहबरमा प्रहरीलाई दिएको बयानमा अर्का आरोपित तामाङले पनि कसुर स्वीकारेका छन् ।
महाराजगन्जमा कार्यरत असई होमबहादुर विकले आन्दोलनकारीले प्रहरी सहायक निरीक्षक राय र जवान थापालाई कार्यालय परिसरबाटै लछारपछार गरेर कुटपिट गरेको देखेको बयान दिएका छन् । ‘मसहित अन्य साथीहरू आगजनी भएको कार्यालय भवनको माथिल्लो तलामा बसेका थियौं, पछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो,’ उनले भनेका छन् ।
विक तिनै प्रहरी अधिकारी हुन्, जसले प्रहरीको सञ्चार सेटमा उपत्यका प्रहरी कार्यालयका प्रमुखलाई ‘बाहिर रोडमा पनि पुलिस मरेको छ, कसरी हुन्छ बचाउनुपर्यो, श्रीमान्’ भन्दै गुहार मागेका थिए । पछि उनले झोक्किँदै आफूहरू ५ मिनेटभित्र मर्ने अवस्थामा रहेको भन्दै सबैलाई अन्तिम स्वर सुनाइदिन भनेका थिए ।
पछि उनीसहितलाई उद्धार गरेर नेपाल प्रहरी अस्पताल भर्ना गरिएको थियो । २४ भदौमा प्रहरी प्रभाग, कोटेश्वरमा प्रहरी सहायक हबलदार अमृत गुरुङको पनि हत्या भएको थियो ।
सामाजिक सञ्जालको भिडियोबाटै आरोपीसम्म
प्रहरीको हत्यामा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोक घर भई काठमाडौंको धुम्बाराही बस्दै आएका ६२ वर्षीय होमप्रसद पौडेल र ललितपुर–८ बालकुमारी बस्ने २८ वर्षीय टीकाराम विक समेत पक्राउ परेका छन् ।
प्रहरीका अनुसार सामाजिक सञ्जालमा पोस्ट भएको फोटो, भिडियोकै विश्लेषणका आधारमा प्रहरी पौडेलसम्म पुगेको थियो । प्रहरी प्रतिवेदनमा उल्लेख भएअनुसार, उनले काठको चिर्पटले हिर्काएको समेत स्वीकारेका छन् । विक पनि सामाजिक सञ्जालमा देखिएको भिडियोकै आधारमा पक्राउ परेका हुन् ।
तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुरपक्राउ परेकामध्ये पौडेलले २०५७ सालको संकटकालीन अवस्थामा प्रहरीले माओवादी भनेर यातना दिएको उल्लेख गरेका छन् । ‘बन्दुकको नालको भागले मेरो दाहिने आँखाको भागमा हान्दा आँखा नदेख्ने भएको थिएँ, त्यस समयदेखि मलाई प्रहरी देख्दा रिस उठ्थ्यो,’ उनले भनेका छन्, ‘त्यसपछि ०६२ सालमा मलेसिया गएर ३ वर्ष काम गरेर फर्किएको थिए, पछिल्लो समय घरमै ज्याला मजदुरीको काम गर्दै आएको थिए ।’ त्यही क्रममा प्रहरीको गोली लागेर विद्यार्थीको मृत्यु भएको थाहा पाएपछि रिस उठेर आफू पनि सडकमा निस्किएको उनले भनेका छन् ।
‘भिडले नै महाराजगञ्जको कार्यालय भवनमा तोडफोड गर्न थालेपछि म पनि सामेल भएँ,’ उनी भन्छन्, ‘हामीले आगजनी, तोडफोड गर्दा प्रहरी कर्मचारीहरु कार्यालयभित्रै थिए, रायलाई कुटपिट गरी मारेको भिडियो म आफैंले पनि मोबाइलमा खिचेर राखेको थिए । पछि प्रहरीले पक्राउ गर्छ कि भन्ने डरले डिलिट गरेँ ।’ अर्का आरोपी विक चाहिँ बसपार्कमा काठमाडौं–उदयपुर टिकट काउन्टरमा काम गर्ने व्यक्ति हुन् । उनी परिवारसहित बालकुमारी बस्दै आएका थिए ।
जनसेवा प्रहरीमा पेट्रोल बम हान्नेहरु
प्रहरीले जनसेवा प्रहरीको गाडी तोडफोड र भवनमा पेट्रोल बम प्रहार गरेर आगजनी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी स्थायी घर भई वसन्तपुर बस्ने २२ वर्षीय सुजन शाह भनिने सुजल शाह सोनार र भारतीय नागरिक २५ वर्षीय रोहित सारवगी छन् ।
प्रहरीले उनीहरूको संलग्नता सीसीटीभी फुटेजमा प्रस्ट देखिएको भन्दै खोजतलास गरेर पक्राउ गरेको थियो । सुजन वसन्तपुरमा फुटपाथमा कपडा बेच्दै आएका थिए । भिडभाडमा चिनजानका साथी रोहित हातमा लाठी र मोटरसाइकलको एउटा हेलमेट बोकेर आएपछि प्रदर्शनकारीसँगै गएको उनले बयान दिएका छन् ।
रोहितले चाहिँ आफ्नो स्थायी ठेगाना भारतको राजस्थान भए पनि बुबाले नेपाली नागरिकसँग विवाह गरेकाले यहीँ जन्मे, हुर्किएको र गाडी चालकका रूपमा काम गर्दै आएको बताएका छन् ।
व्यक्तिको घरमा चोरी
जेन–जी आन्दोलनका बेला गोकर्णेश्वर नगरपालिका–९ मा रहेको घरमा डेरा गरी बस्नेको कोठामा समेत चोरी भएको पाइएको छ । रेस्ता तामाङसहित ३ जनाले आन्दोलनमा आएर कोठामा प्रवेश गरेर आइफोन ११ सहित औंठी, सिक्री, नगद ८५ हजार रुपैयाँ, घडी, ज्याकेट, हेडफोन, चप्पल र माक्स समेत चोरेको भन्दै पीडित स्मृति लामाले जाहेरी दिएकी छन् ।
रेस्ताले सीसीटीभीमा देखिएको व्यक्ति आफू भएको स्वीकारेकी छन् । तर, चोरीमा संलग्न नभएको उनको दाबी छ । प्रहरीमा दिएको बयानअनुसार रेस्ताका श्रीमान् प्रेम तामाङको तीन वर्षअघि सवारी दुर्घटनामा मृत्यु भएको थियो । त्यसपछि ४ वर्षको छोरालाई लिएर उनी अर्काको घरमा बसेर कपडा धुने काम गर्दै आएकी थिइन् ।
तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुरप्रहरीले टेकुमा रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्रवेश गरेर तोडफोड, आगजनी गर्ने भारतीय नागरिक २२ वर्षीय निरज पोद्दार, दोलखा घर भएका लक्ष्मण थामी र काठमाडौंका २७ वर्षीय सजन तामाङलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनीहरू कार्यालयबाट लुटिएको हतियारसहित प्रदर्शनमा उत्रिएका थिए ।
बाटोमै समातिए सिरहा हिँडेका वाणिज्य बैंक लुटपाटमा संलग्न
संसद् भवनको पश्चिम कुनामा रहेको व्यापारिक भवनमा राष्ट्रिय वाणिज्य बैंकको लुटपाटमा संलग्न रहेको आरोपमा २७ वर्षीय दीपक श्रेष्ठ र अर्का एक जना किशोर पक्राउ परेका छन् । बैंकका शाखा प्रबन्धक प्रद्युम्न कार्कीले दिएको जाहेरी अनुसार, २४ भदौमा बैंकमा एटीएम मेसिनसमेत तोडफोड गरी ४ करोड १३ लाख बढी क्षति पुर्याइएको थियो ।
कर्जा लगानी गरी सुरक्षण बापत ग्राहकले धरौटी राखेको १७ किलो ७६९.४१ ग्राम सुन लुटपाट भएको प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । आन्दोलनकाे तीन दिनपछि नाबालकलाई नेपाली सेना र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको थियो ।
उनको साथबाट ३ लाख ५० हजार रुपैयाँ, तिलहरी, मंगलसूत्र, औंठीसमेत बरामद भएको थियो । उनी कोटेश्वरबाट माइक्रो बस चढेर सिरहा जाने त्रममा काभ्रेको भकुण्डेबेसीमा पक्राउ परेका थिए । उनको साथमा नगद र सुन भेटिएपछि काभ्रेबाट खटिएको प्रहरीले पक्राउ गरेर अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएको थियो ।
टीओबीको ज्याकेट लगाउने पक्राउ
२४ भदौमा ‘टीओबी’को टिसर्ट लगाएर मोटरसाइकल पड्काउँदै हिँड्नेहरुबारे समेत प्रहरीले छानबिन गरेको छ । तर, अरू कुनै कसुरबिना टिसर्ट र ज्याकेट लगाएकै आधारमा मात्र कारबाही गर्न नसकिने अधिकृतहरूको निचोड छ । त्यही बेला ‘टीओबी’को टिसर्ट लगाएर बिजुली बजार पुलमा पेस्तोल देखाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भयो । त्यसरी पेस्तोल देखाउने युवा तेन्जेन दाबा अहिले प्रहरी हिरासतमा छन् । उनले त्यो पेस्तोल सक्कली नभएको र भिडियो प्रयोजनका लागि बनाएको बताएका छन् । उनका अनुसार भाइरल भएको भिडियो जेन–जी प्रदर्शनको हैन । प्रहरीले उनीसँग जोडिएका अरू विषयमा समेत छानबिन गरिरहेको छ ।
जेन–जी भन्दै धम्क्याउने पनि हिरासतमा
जेन–जीको नाममा सरकारी कर्मचारीलाई धम्की दिँदै हिँडेको आरोपमा अर्जुन शाही समेत पक्राउ परेका छन् । उनी प्रधानमन्त्री सुशीला कार्कीको बालुवाटारमा भएको शपथ ग्रहणमा समेत देखिएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश थापाका अनुसार उनको साथबाट प्रहरीको परिचय पत्र समेत भेटिएको छ । ‘प्रहरी टोलीले गएर ल्याउँदा प्रहरीको आईडी कार्ड भेटिएको छ,’ थापाले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’
अधिकृतहरुका अनुसार उनको साथमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) को परिचय पत्र भेटिएको हो । परिचय पत्रमा कुमार शर्माको नाम छ । उनी आयोगमा कार्यरत प्रहरी हुन्, तर केही समयअघि उनको परिचयपत्र पत्र हराएको पाइएको छ ।
तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुरशर्माको परिचय पत्र प्रयोग गरेर उनले विभिन्न व्यक्तिलाई धम्क्याएको हुनसक्ने आशंका अनुसन्धान अधिकृतहरूको छ । उनको गतिविधिलाई लिएर गुनासो आएपछि अनुसन्धानका लागि भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंले शाहीलाई पक्राउ गरेको थियो ।
जेन–जी आन्दोलनपछि ज्ञापनपत्र बुझाउने भन्दै विभिन्न सरकारी कार्यालयका प्रमुखलाई भेटेर उनले केरकार गर्दै आएका थिए । नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगमका कर्मचारीले उनको गतिविधिबारे गुनासो गरेका थिए ।
युट्युबरका साथ कार्यालयहरूमा पुग्ने उनले कर्मचारीको राजीनामा माग्ने गरेका थिए । पछि शाहीबारे खोजी हुँदा उनी वैदेशिक ठगी र बैंकिङ कसुरका आरोपीसमेत रहेको खुलेको थियो । उनलाई २८ वैशाख २०८२ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले कोरिया पठाउँछु भन्दै ठगी गरेको आरोपमा पक्राउ गरेको थियो ।








