दुई अतिवादका विरुद्ध यतिबेला कठिन लडाइँ लड्नु छ । त्यो लडाइँ नागरिक बाहेक अरु कसैले लड्न सक्नेछैन । नागरिक नलडे भयानक रक्तपातको लामो चक्र पार गर्दै यस राज्यको अस्तित्व मानचित्रबाट गायब हुन बेर छैन । नागरिकले हारे मुलुक रुवाण्डाको बाटोमा हिँड्ने छ ।
सामान्य आँखाले हेर्दा राजनीतिक इतिहासमा आउने आँधीबेहरीहरु बडो गर्जनसाथ आकस्मिक र अप्रत्यासित रुपमा प्रकट हुने गर्छन् । तर तिनको पृष्ठभूमि दशकौंअघिका घटनाक्रमसँग पोखिँदै, ठोक्किँदै र हुत्तिँदै आएको हुन्छ । तिनको अलिखित स्क्रिप्ट प्रत्येक नागरिकको मनमा गढ्दै र बढ्दै गएको हुन्छ ।
निर्जीव संरचना बालेर आगो ताप्दै अँध्यारो रातमा विजयको घोडा दौडाउन हौसिएको विद्रोही जमात जनताको लाइफ लाइन प्रहरी प्रशासन र अदालतमाथि धावा बोल्न गर्जियो । मुलुक जलिसकेपछि पनि त्यो शान्त छैन ।
शासक अहंकारको त्यो घोडाबाट यसरी गर्जिन्छ । मानौं, उसको त्यही रवाफिलो फर्मान बिना अब पातहरु हल्लिने छैनन् । निकट समयमै हावाले शासकसँग अनुमति लिएर मात्रै चल्ने कबुलनामा गर्नुपर्नेछ । भुईंमान्छेहरु यसरी जुर्मुराउँछन्, मानौं उनीहरुको रगतले मानव जातिको इतिहासकै भयानाक प्रलय सिर्जना गर्नेछ र त्यो शासकको चिहानमा गएर रोकिनेछ ।
कहिलेकाहीँ ती सामाजिक मनोविज्ञानका जगमा प्रायोजित खालका हुन्छन् । त्यसको डिजाइन, रणनीति, लक्ष्य र भविष्यका लागि जसले पूर्व फन्डिङ गर्छ, उसैको इशारामा त्यस्ता आन्दोलनहरुको दशा र दिशा तय हुन्छ । असंगठित, लक्ष्यविहीन र आक्रोशको उत्कर्षका रुपमा अभिव्यक्त हुने त्यस्ता आन्दोलन वा विद्रोहमा मौकामा चौका हान्न आइपुगेका केही थान टाठाबाठा र प्रायोजित मानिसहरुको हातमा जब सत्ताको बागडोर पर्छ, तिनले आफ्ना पूर्ववर्ती शासकको भन्दा लाखौं गुणा मुलुक खरानी बनाउँछन् र त्यही बाँकी खरानी उडाउने आँधी सिर्जना गर्न पनि ती कसैको गोटीका रुपमा परिचालित भइरहन्छन् ।
हामी आकस्मिक र अप्रत्यासित राजनीतिक आँधीको निशानामा पर्यौँ सत्य कुरा यही हो । त्यसका आयोजक र प्रायोजक को थिए ? त्यो पछि छलफल गरौंला, समीक्षा गरौँला र पाठ सिकौंला । यस पृष्ठभूमिका लागि मलिलो जमिन उपलब्ध गराउने भने हामी नै थियौं । यसमा कुनै लेकिन, किन्तु, परन्तु गर्न आवश्यक छैन । तर अब अगाडिको बाटो कसरी तय गर्ने ? कसले के भूमिका पूरा गर्ने, खासगरी नागरिकहरुको भूमिकालाई कति महत्व दिने र नागरिकहरु भूमिका खेल्न कति जागरुक हुने ? मूल विषय यही हो ।
यतिबेला नागरिकले अढाई फ्रन्ट वार एकैसाथ लड्नु परेको छ । निशस्त्र, निहत्था र निमुखा नागरिकले अढाई फ्रन्ट वारको सामना गर्न तयार हुने कुरा इतिहासकै असमान्य र विरलै परिघटना हो । एउटा मोर्चामा विध्वंसकारी जत्था छ । त्यसको माग के हो ? त्यसको निशाना कता हो ? जलेर खण्डहर बनेको, ऐतिहासिक दस्तावेजविहीन, शासन प्रशासनका फर्म्याटविहीन कुरुप र अत्यासलाग्दो सिंहदरबारको भग्नावशेष कब्जा गरेर संसार जितेको भ्रममा रहेको त्यस उत्तेजित जमातलाई आफ्नो वास्तविक धरातलमा ओर्लन कति समय लाग्ने हो ? धरातलमा ओर्लनु अघि त्यसले के विध्वंस गर्ने हो र राज्यलाई खतराको कुन बिन्दुमा पुर्याउने हो भनेर अनुमान गर्न कठिन छ ।
निर्जीव संरचना बालेर आगो ताप्दै अँध्यारो रातमा विजयको घोडा दौडाउन हौसिएको विद्रोही जमात जनताको लाइफ लाइन प्रहरी प्रशासन र अदालतमाथि धावा बोल्न गर्जियो । मुलुक जलिसकेपछि पनि त्यो शान्त छैन । आफ्नै सरकार बनाउँदा पनि त्यो सन्तुष्ट छैन । आँखा चिम्लेर प्रतिशोधको बाटो हिँड्ने धम्की बाहेक त्यसले राजनीतिक संवाद, सहमति, सहकार्य र सम्झौता पनि एउटा चरणमा पुगेपछि आवश्यक हुन्छ भन्ने कुरा बोध गर्न चाहेकै छैन । यसको निशाना भ्रष्टाचारी र त्यसको संरक्षण गर्ने दल प्रमुखहरुमाथि हो वा भ्रष्टाचारको बहानामा दलीय व्यवस्था विरुद्ध हो, अझै स्पष्ट छैन ।
यो लगातार निषेधको बाटोमा छ । सिंहदरबारको धुवाँले तर्सिएको समाज र केही घण्टा आतंकित भएका दलमाथि त्यही दृश्य स्मरण गराउँदै दादागिरीकै शैलीमा शासन चलाउने आकांक्षा अब डरलाग्दो महत्वाकांक्षामा परिणत भएको छ । महत्वाकांक्षाको राजमार्गमा निर्वाध दौडन पाउने आत्ममुग्धता नै यस जमातका लागि सबैभन्दा अहितकर हो ।
संसारका सबै शक्तिले प्रतिरोधको सामना गर्नुपर्छ । तर मूलधारको नेतृत्वमा आइपुग्दा पनि निषेध र प्रतिशोधको सिद्धान्तलाई आफ्नो कर्म बनाउने चरित्रले कहिल्यै सही दिशा दिँदैन । पहिलो प्रतिशोध हमेसा काउन्टर प्रतिशोधको सिकार बन्छ । प्रतिशोधको श्रृंखला अनन्त हुँदैन ।
एक निश्चित विन्दुमा पुगेपछि आफू विजयी भएर पनि प्रतिशोधको बाटो तय गर्ने शक्ति नकारात्मक ऊर्जाका साथ विचलन, विलय र बन्ध्याकरणमा पुगेर टुंगिन्छ । यसर्थ आम नागरिक र नागरिक समाजको एउटा फ्रन्ट लडाइँ विध्वंस र विघटनवादी शक्तिविरुद्ध आवश्यक छ ।
आफ्ना यी कार्यभारबाट नागरिक विमुख भए मुलुक अझै रावणको लंका जले झैं जल्छ । देशले महाभारतको कुरुक्षेत्रको रणसंग्रामको कथा स्मरण गर्दै आफ्नो आँखै अगाडि अस्तित्व नामेट स्वीकार गर्नुपर्ने अवस्था आउन सक्छ ।
दोस्रो फ्रन्ट दलका मठाधीशहरु विरुद्ध जरुरी छ । दशकौं दशक सत्ताको रजगजमा बसेर पद प्रतिष्ठालाई मात्रै जीवनको अक्सिजन ठानेका सदाबहार सत्ताधारीहरु आफ्नो कुर्सीमा फिर्ती सवारीको भगीरथ प्रयत्नमा छन् । निर्देशित लोकतन्त्रद्वारा शासन गरिरहेका उनीहरुलाई एक मिनेट पद छोड्न मन छैन । सत्ता र शक्तिको दुरुपयोगद्वारा दलभित्र आफ्ना भक्तहरुको ठुलै जमात बनाइसकेका उनीहरुलाई पार्टी कमिटीबाट अवरोधको कल्पनासम्म छैन । भक्तहरुबाट अनुमोदन हुन उनीहरुलाई कठिन हुने कुरा पनि भएन । खासगरी मुलुकको यो क्षतिको पृष्ठभूमि हाम्रा कारणले निर्माण भएको हो हामीले यस घडीमा नैतिकता प्रदर्शन गर्दै लोकतान्त्रिक मूल्य र आफ्नो व्यक्तिगत आचरणलाई दर्शाउनुपर्छ भन्ने रत्तिभर महसुस नभएको नेतृत्वपंक्ति आफूलाई डेन्टिङ पेन्टिङ गर्दै बडो सिंगारपटारका साथ पुनर्बहालीको तर्खरमा छ ।
परिस्थितिको आवश्यकता र समयको माग भन्दै आफैँले आफ्नो महत्व र महिमा गान गाउँदै आजीवन नेतृत्वमा रहिरहने मनसायमा अझै कुनै परिवर्तन देखिँदैन । जसलाई पैतलामुनिको जमिन भाँसिएर आफैँ डुब्न लागेको थाहा भएन, तिनलाई फेरि महान् हस्ती भन्नुपर्ने बाध्यतामा तिनका कार्यकर्ता छन् । मानौं कि जेनजी विद्रोह असफल हुनु भनेको उनका सारा काला कर्तुतले वैधानिकता पाउनु हो । जेनजी हारे र बेबी ब्रुमर जितेको शैलीमा विजय उत्सव मनाउनुपर्ने जस्तो । यसर्थ नागरिकको दोस्रो फ्रन्टवार दलीय मठाधीश प्रवृत्ति विरुद्ध हुनुपर्छ ।
ठ्याक्कै भन्दा दुई भयानक प्रवृत्ति एउटा लोकतन्त्रको आवरणमै रहेर भ्रष्ट, पदलोलुप, दम्भ, अहंकार र व्यक्तिवादको विम्ब बनेको छ त्यस प्रवृत्तिलाई नागरिकले पुनः अनुमोदन गर्न सक्ने अवस्था छैन । दोस्रो भ्रष्टाचार विरोधी आवरणमा आएको विध्वंसात्मक जत्था छ, त्यसले मुलुकको इतिहास र वर्तमान दुवै खरानीमा परिणत गर्यो ।
सार्वजनिक सम्पत्ति र निजी सम्पत्ति दुवै एकैसाथ निशाना बनाएको त्यसले उद्यमशीलता, लगानीमैत्री वातावरण, जनताको भौतिक र सामाजिक सुरक्षाको सुनिश्चितता गर्ला भन्ने आश गर्ने ठाउँ देखिएन । लोकतान्त्रिक अभ्यासका सम्पूर्ण मञ्चहरु, राज्यको शक्ति सन्तुलन र पृथकीकरणका केन्द्रहरु ध्वस्त बनाएर सेनासँग वार्ता गर्नुपर्छ भन्नेहरु लोकतन्त्रप्रति प्रतिवद्ध हुनेछन् र तिनले उन्नत राज्य व्यवस्थाको प्रयास गर्नेछन् भन्ने कल्पनासम्म कसरी गर्नु ?
दुई अतिवाद एउटा सत्तालिप्साको अतिवाद र अर्को विध्वंसात्मक अतिवादका विरुद्धको लडाइँसँगै गाउँ र सहर सबैतिर नागरिकको जीउधनको सुरक्षामा स्वयंसेवी युनिट बनाएर प्रहरी प्रशासन, कर्मचारीतन्त्र र न्यायपालिकाको मनोबल उच्च पार्ने काम पनि नागरिक फ्रन्टबारकै एउटा सानो हिस्सा हो । त्यसकारण यतिबेला नागरिकले अढाइ फ्रन्ट वारको सामना गर्न नेपाली इतिहासकै अद्वितिइ भूमिका निर्वाह गर्नुपर्नेछ । नागरिकको यस भूमिकालाई सहयोगीका रुपमा नागरिक समाज, राजनीतिक दलका इमान्दार कार्यकर्ता र देशप्रेमी बुद्धिजीवीले साग दिनुपर्नेछ ।
आफ्ना यी कार्यभारबाट नागरिक विमुख भए मुलुक अझै रावणको लंका जले झैं जल्छ । देशले महाभारतको कुरुक्षेत्रको रणसंग्रामको कथा स्मरण गर्दै आफ्नो आँखै अगाडि अस्तित्व नामेट स्वीकार गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले नागरिक एकता र प्रतिवद्धता भए हामी खरानीबाट उठेर समृद्धिको सपना देखौंला, तर मुलुकलाई यतिबेला दुई अतिवादको भुंग्रोबाट बचाउनु नै हाम्रो अहम् कर्तव्य हुनुपर्छ ।


