कुरा भाद्र २३ र २४ गतेको हो । उक्त दुई दिन जे भयो, त्यसको बारेमा आम नेपाली जनता जानकार छन् । तर, त्यो दिन आउनेमा सायद कसैको पूर्वानुमान थिएन । हामीले मात्रै होइन, तत्कालीन राज्यमा रहेका शासकहरूले समेत कुनै अनुमान गरेको देखिएन ।
खैर, देश ठिकठाक चलिहरेको थिएन । तर, सतहमा भने जस्तो गरिकन भत्केको मात्रै पनि थिएन । देश बन्नुपर्ने गरी नबनेको मात्रै थियो । जनताले चाहेको जस्तो तीव्र गतिमा देशले विकास र समृद्धिमा पाइला चाल्न सकिरहेको थिएन । अर्थात् हुनुपर्ने जति काम भइरहेको थिएन । मुखले एउटा भन्ने र व्यवहारमा अर्को काम गर्ने राजनीतिक दलका शीर्ष नेताहरूबाट भइरहेको थियो । अर्को शब्दमा भन्दा जनताले प्रत्याभूत हुनेगरी मुलुक अघि बढिरहेको थिएन । आज मुलुकले जे परिणति ब्यहोरिरहेको छ, यसका धेरै कारण र आयाम छन् । त्यतातिर जान चाहन्न । तर, हामी र हाम्रो नयाँ पुस्ताले केही जरुरी सवालहरू छन्, जसको बारेमा अध्ययन, मनन र छलफल गर्नैपर्छ ।
यसरी हेर्दा विगतमा विद्यार्थी सङ्गठनहरूले उठाएका मुद्दाहरूलाई नै आधार बनाएर नयाँ पुस्ता (जेनजी) ले दुई दिने आन्दोलन गरे । उक्त आन्दोलनको बलमा केपी ओली नेतृत्वको दुई तिहाइको सरकारलाई अपदस्त गर्यो । यस्तो अवस्थामा हाम्रो सामु एउटा जटिल तर, अनिवार्य जवाफ दिनुपर्ने सवाल खडा भएको मैले महसुस गरेकी छु । त्यो के हो भने, हामीले उठाएका मागहरू किन पुरा गर्न सकेनौँ ? एक वाक्यमा भन्दा हामी परनिर्भर बन्यौँ । पार्टीको लगामलाई चुँडाल्न सकेनौँ । पार्टीका नेताहरूका झोले बन्यौँ । यस्तै यस्तै…।
असंगठित जेनजीले उठाएका धेरै जसो मागहरू मुलुकको वृहतहित र भलाइका निम्ति केन्द्रित छन् । यी मागहरू हिजो हामीले उठाएका थियौँ र आजका दिनमा पनि यी मागहरूका बारेमा हामीले विमति राख्नुपर्ने कुनै कारण छैन । खैर, उक्त आन्दोलनपछि मुलुकले लिनुपर्ने गति लिइरहेको छैन भन्ने कुरामा पनि हामी उत्तिकै स्पष्ट छौँ । मूलधारमा रहेका विद्यार्थी संठगनहरूभित्र पनि परिवर्तन चाहने व्यक्तिहरूको बाहुल्यता नभएको पनि होइन । सरसरती हेर्दा अखिल क्रान्तिकारी, नेविसंघ, अनेरास्ववियूमा ३२ वर्षे हद लगाएर अधिवेशन भएको कुरा सर्वविदिदै छ । तर, जेनजी आन्दोलने उठाएका आधारभूत मागहरूका निम्ति तमाम विद्यार्थीहरूले आफ्नो जीवनको आहुति दिए । यस्तो अवस्थामा विद्यार्थी सङ्गठनहरू मुकदर्शक बने । के साँच्चिकै हाम्रो विद्यार्थी आन्दोलनको विरासत, इतिहास र आजको सच्चाइ यही हो ? भन्ने सवाल जन्मिनुलाई अन्यथा मान्न सकिँदैन । पछिल्लो परिवर्तनको बारेमा विद्यार्थी सङ्गठनहरू एकमत देखिएका छैनन् र तत्काल कुनै निर्णय लिएको पनि देखिएन । के मातृ पार्टीले विद्यार्थी संगठनलाई दिँदै आएको राजनीतिक शिक्षाले यसरी मौन बस्नु भन्छ ? यो अर्को महत्त्वपूर्ण सवाल हो । यसको जवाफ पनि हामीले नै दिनुपर्ने छ ।
नेपाली समाजको वर्ग चरित्र हेर्दा यहाँ अनेक भाष्यहरूको खेती मौलाउने खालको छ । के ठिक हो ? के बेठिक हो ? भन्ने कुराका बारेमा गहन र सघन जानकारी नलिईकनै धारणा बनाउने काम भइरहेको देखिन्छ । यसरी कुनै पनि कुराको वास्तविकता थाहा नपाएरै धारणा बनाउने कामले मुलुकलाई फाइदा गर्दैन भन्ने कुरा बुझ्न जरुरी छ । जस्तो: सबै नेता चोर हुन्, सबै कार्यकर्ता नेताका झोले हुन्, भन्ने नकारात्मक र सतही भाष्यको सिकार नेपाली समाज भयो भन्ने लाग्छ । सबै नेता उस्तै र एउटै होइनन् । सबै दल एउटै होइनन् । सबै विद्यार्थी नेता र सङ्गठनहरू उस्तै र एउटै होइनन् भन्ने कुरा बुझ्न आवश्यक छ । यसरी सतही कुराको पछि लागेर राजनीतिक समाजलाई नै बदनाम गर्ने काम कसैबाट पनि हुनु दुःखद हो । अर्कातर्फ जेनजी आन्दोलनलाई अराजक आन्दोलन भन्न मिल्छ ? पक्कै पनि मिल्दैन । केही कुरा प्राप्त गर्नका निम्ति केही कुरा गुमाउनुपर्छ ।
जस्तो संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्त गर्न र आजको अवस्था हासिल गर्नका निम्ति हामीले २००७ सालदेखि लोकतान्त्रिक आन्दोलन गर्दै आएका थियौँ । यसका बारेमा थप जानकारी राख्न १० वर्षे जनयुद्ध, दोस्रो जनआन्दोलनलाई स्मरण र अध्ययन गर्न आवश्यक छ ।
नयाँ पुस्ताका व्यक्तिहरूले राजनीतिलाई खराब खेल हो र नेताहरू जम्मै खराब पात्र हुन् भन्ने एकांकी बुझाई राखेका देखिन्थे । तर, पछिल्लो जेनजी आन्दोलनले यसलाई चिर्ने काम गरेको छ । युवा पुस्तामा राजनीतिका बारेमा चासो चिन्तन बढेको देखिन्छ । यति मात्र होइन, देश कसरी सञ्चालन हुन्छ, राजनीति भनेको के हो, देश कसरी बाँच्दो रहेछ, देशको अवस्था कस्तो छ, भन्ने बारेमा जान्नका निम्ति जेनजीहरू उत्सुक बनेको देखिन्छ । यो सर्वथा राम्रो कुरा हो ।
यस आन्दोलन अघि नयाँ पुस्ताका निम्ति नेपाली राजनीति, जनजीविका, सामाजिक अन्तर्विरोधहरू सरोकारको विषय थिएन । विषयगत अध्ययन गर्ने क्रममा रहेका केही मान्छेहरू बाहेकका निम्ति नेपाली राजनीति चासोको विषय थिएन । राजनीति, सरकार, सडक आन्दोलन आदी केही पनि होइनन्, सामान्य कुरा हुन् भन्ने किसिमको सतही बुझाइ नयाँ पुस्तामा देखिन्थ्यो । अपेक्षा गरौं, जेनजी विद्रोहले यसलाई बदल्न सकोस् । मुलुकले शान्ति, स्थिरता कायम गरोस् । परिवर्तनलाई संस्थागत गर्ने काममा सबैको सहमति बनोस् । सुशासन, विकास र समृद्धि राष्ट्रिय मुद्दा बन्न सकोस् ।
लेखक अनेरास्ववियू (क्रान्तिकारी) की उपाध्यक्ष हुन् ।


