• १८ वर्षमा मतदानको अधिकार तर २५ वर्ष उमेर पूरा भएको व्यक्ति मात्रै प्रतिनिधिसभाको उम्मेदवार हुन पाउने संवैधानिक व्यवस्था
  • काठमाडौँ — उम्मेदवारमा उमेरको हदको संवैधानिक व्यवस्थाले युवा मतदाता उम्मेदवार बन्न वर्षौं कुनुपर्ने स्थिति छ । त्यसले देशको राजनीतिमा युवा प्रतिनिधित्वलाई निरुत्साहित गरेको छ ।

    १६ वर्ष पुगेपछि युवा गनिने र नागरिकता प्राप्त गर्ने कानुनी प्रावधान छ । १८ वर्ष उमेर पूरा भएका नागरिकलाई मतदान गर्ने अधिकार प्राप्त छ । उनीहरूले स्थानीय, प्रदेश र संघमा जनप्रतिनिधि चुन्न पाउने अधिकार राख्छन् । तर, कुनै पनि तहमा उम्मेदवार भने हुन पाउँदैनन् । प्रतिनिधिसभा वा प्रदेशसभामा उम्मेदवार हुन उमेर २५ वर्ष पुगेको हुनुपर्छ ।

    मतदान गर्ने अधिकार पाएको ७ वर्षपछि मात्रै उम्मेदवार हुन योग्य हुन्छन् । १८–२४ उमेर समूहका युवा आफूमाथि शासन गर्ने व्यक्ति चुन्न योग्य छन् । तर, आफैं उम्मेदवार हुन्छु भन्दा अयोग्य ठहरिन्छन् । स्थानीय तहको हकमा भने उम्मेदवार हुन संविधानले २१ वर्ष उमेर पुगेको हुनुपर्ने तोकेको छ । त्यहाँ पनि मतदाताको योग्यता पुगेका १८–२० उमेर समूहका युवा उम्मेदवार हुन पाउँदैनन् ।

    संविधानको धारा ८४ (५) ले १८ वर्ष उमेर पूरा भएका प्रत्येक नागरिकलाई संघीय कानुनबमोजिम प्रतिनिधिसभाका लागि कुनै एक निर्वाचन क्षेत्रमा मतदान गर्ने अधिकार दिएको छ । धारा ८७ (१) मा प्रतिनिधिसभाका लागि उम्मेदवार हुन २५ वर्ष उमेर पूरा भएको हुनुपर्ने भनिएको छ । प्रदेशसभाको हकमा पनि त्यस्तै व्यवस्था छ । संविधानको धारा १७८ मा रहेको प्रदेशसभाको सदस्यका लागि योग्यताको महलमा उमेर हद २५ वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था छ । यस्तै, संविधानको धारा २२२ (५) अनुसार गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदमा उम्मेदवार हुन योग्यताको महलमा २१ वर्ष उमेर पूरा भएको हुनुपर्ने उल्लेख छ ।

    राष्ट्रिय युवा परिषद् ऐन, २०७२ ले १६ वर्षदेखि ४० वर्ष उमेर भएका व्यक्तिलाई युवा भनेको छ । सरकारले २ भदौमा ल्याएको राष्ट्रिय युवा नीति, २०८२ ले युवा उमेर समूहको परिभाषा बदलेर नेपालको सन्दर्भमा १८ देखि ३५ वर्षको उमेर समूहको संख्यालाई युवा मानेको छ । तर, त्यसअनुसार ऐनमा संशोधन नभइसकेकाले कानुनअनुसार अहिले पनि १६ देखि ४० उमेर समूहका व्यक्ति युवाको परिभाषामा छन् ।

    –१८–२४ उमेर समूहका ४० लाख युवा उम्मेदवार हुन नपाउने

    –संवैधानिक निकाय र सर्वोच्च अदालतको न्यायाधीशमा युवाको प्रवेशमा संविधानद्वारा पूर्ण प्रतिबन्ध

    अस्ट्रेलिया, टर्किए, स्लोभाकिया, बेलायत, फ्रान्स, जर्मनी, स्पेनलगायत युरोपका धेरै देशमा १८ वर्ष उमेर पुगेका व्यक्ति उम्मेदवार हुन पाउने प्रावधान छ । त्यस्तै, डेनमार्क, नर्वे र स्विडेनमा पनि १८ वर्षमा उम्मेदवार हुन पाउने प्रावधान छ । अमेरिका, इटली, ग्रीस, जापान र भारतमा सांसदको उम्मेदवार हुन २५ वर्षको सीमा तोकिएको छ । नेपालले त्यसैलाई अनुसरण गरेको देखिन्छ ।

    राष्ट्रिय जनगणना, २०७८ अनुसार १६–४० वर्ष उमेर समूहका युवाको संख्या कुल जनसंख्याको ४२.५६ प्रतिशत छ । युवा समूहभित्र पनि १८–२४ वर्ष उमेरका व्यक्तिको संख्या अधिक छ । कुल युवा जनसंख्याको एक तिहाइ हिस्सा यो उमेर समूहमा पर्छन् । जो मतदान गर्न त पाउँछन् तर उम्मेदवार हुन पाउँदैनन् । जनगणनाको तथ्यांकअनुसार १८–२४ उमेर समूहका युवाको संख्या ३९ लाख ९५ हजार ४ सय ५६ छ । २३ र २४ भदौमा आन्दोलनमा होमिने युवाको ठूलो संख्या पनि यही उमेर समूहको थियो । तर, उनीहरू उम्मेदवार हुन पाउने छैनन् ।

    चुनाव जितेर आए प्रतिनिधिसभामा बहुमत जुटाएको खण्डमा २५–४० को युवा समूहलाई प्रधानमन्त्री वा मन्त्री हुन कानुनले बन्देज लगाएको छैन । तर, राजनीतिक दलहरूले उम्मेदवारी छनोटमै युवालाई प्राथमिकता दिने गरेका छैनन् । डेमोक्रेसी रिसर्च सेन्टर (डीआरसीएन) संस्थाले गरेको अध्ययनअनुसार २०७९ को प्रतिनिधिसभा निर्वाचनमा १ सय ६५ निर्वाचन क्षेत्रका लागि २ हजार ४ सय १२ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये ७ सय ५९ जना अर्थात् कुल उम्मेदवारको ३० प्रतिशत ४० वर्षमुनिका थिए । युवा उम्मेदवारमा ४ सय ३ जना विभिन्न दलबाट र स्वतन्त्रबाट ३ सय ५६ जना उम्मेदवार थिए । विजयी हुनेमा ४० वर्षमुनिका १० जना मात्रै थिए ।

    – हरेक दलले विभिन्न भ्रातृ संगठनका नाममा युवा शक्ति प्रयोग गरिरहेका छन्, तर अवसर दिने बेलामा युवालाई विरलै स्थान दिने गरेका छन्

    The constitution divides the youth: they can vote, they can't be candidates

    शेखर पराजुली, कार्यकारी निर्देशक, डेमोक्रेसी रिसर्च सेन्टर

    प्रमुख दल कांग्रेस, एमाले र माओवादीले विद्यार्थी र युवा संगठनमार्फत युवा जनसंख्यालाई परिचालित गरिरहेका छन् । तर, मूलधारको राजनीतिमा उनीहरूलाई स्थान दिन सधैं हच्किँदै आएका छन् । युवालाई पार्टीको निर्णायक तहमा स्थान दिने, प्रतिनिधिसभा, प्रदेशसभा वा स्थानीय तहमा उम्मेदवार बनाउने कार्यमा उचित हिस्सेदारी दिएको पाइँदैन ।

    सेन्टरका कार्यकारी निर्देशक शेखर पराजुली पार्टी कार्यक्रम, चुनावी अभियानदेखि आन्दोलन र जुलुससम्ममा दलहरूले युवाको प्रयोग गर्ने गरेको बताउँछन् । ‘हरेक दलले विभिन्न भ्रातृ संगठनका नाममा युवा शक्ति प्रयोग गरिरहेका छन् । उनीहरूलाई भर्‍याङ बनाएर माथि उक्लिने प्रयास गर्छन्,’ उनले भने, ‘तर, अवसर दिने बेलामा युवालाई विरलै स्थान दिएको पाइएको छ । युवाले पार्टी वा चुनावमा स्थान पाउने अवस्था अत्यन्तै कमजोर छ ।’

    पुरानो र ज्येष्ठ व्यक्ति नै राम्रो भन्ने अवधारणाले पार्टीहरूलाई गाँजेको उनी बताउँछन् । टिकट वितरण गर्ने स्थानमा रहेकाहरू आफ्नो शक्तिमा कुनै नोक्सान नहोस् भनेर आफू निकट पुराना भरपर्दा व्यक्तिहरूलाई मात्रै विश्वास गरेर उम्मेदवार बनाउने चलन बसेको उनले उल्लेख गरे । ‘त्यही कारण हो, निश्चित व्यक्तिहरू लगातार दोहरिइरहन्छन् । २०४६ सालमा उम्मेदवार भएकाहरूले अहिलेसम्म टिकट पाउँछन् । पुराना पार्टीमा नयाँले स्थान पाउनै मुस्किल बनाइएको छ,’ उनले भने ।

    युवा वर्गको जनसंख्यालाई आधार मानेर त्यसअनुसार प्रतिनिधित्वको व्यवस्था हुनुपर्नेमा संवैधानिक व्यवस्था बाधक रहेको उनले उल्लेख गरे । उनले बालिग मताधिकार १८ वर्षमा तर प्रदेश वा प्रतिनिधिसभामा प्रवेशको उमेर २५ तोकिनुलाई असमान व्यवहार गरिएको रूपमा अर्थ्याउँछन् ।

    –उम्मेदवार हुन होस् वा संवैधानिक निकायमा नियुक्त हुन, उमेरलाई मुख्य आधार बनाइएको छ, त्यसले युवालाई नेतृत्वदायी भूमिकामा पुग्न छेकबार लगाएको छ

    The constitution divides the youth: they can vote, they can't be candidates

    निर्मलकुमार उप्रेती, अधिवक्ता

    संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा ३५ वर्ष उमेर पूरा भएका व्यक्तिले मात्रै उम्मेदवारी दिन पाउने संवैधानिक व्यवस्था छ । राष्ट्रपति, उपराष्ट्रपति र संवैधानिक निकायमा युवा उमेर समूहको प्रवेशलाई संविधानले नै बन्देज लगाएको छ । राष्ट्रपति र उपराष्ट्रपतिका लागि कम्तीमा ४५ वर्ष उमेर पूरा गरेका व्यक्ति मात्रै उम्मेदवार हुन पाउने संवैधानिक व्यवस्था छ ।

    त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त वा आयुक्त, महालेखा परीक्षक, लोक सेवा आयोगका अध्यक्ष वा सदस्य, निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्त, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष र सदस्य हुन ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ । त्यस्तै, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त, आदिवासी जनजाति, महिला, दलित, समावेशी, मधेश, थारू, मुस्लिम आयोगको अध्यक्ष वा सदस्य हुनलाई पनि ४५ वर्ष उमेर हदको योग्यता संविधानले तोकेको छ । सर्वोच्च अदालतको न्यायाधीश हुन पनि ४५ वर्ष उमेर पुग्नुपर्ने संविधानकै व्यवस्था छ ।

    अधिवक्ता निर्मलकुमार उप्रेती प्रतिनिधित्वका लागि उमेरलाई मुख्य आधार बनाएर संविधान र कानुनले युवा वर्गसँग भेदभाव गरेको बताउँछन् । ‘उम्मेदवार हुन होस् वा संवैधानिक निकायमा नियुक्त हुन, हरेक ठाउँमा उमेरलाई मुख्य आधार बनाइएको छ,’ उनले भने, ‘त्यसले युवालाई राज्य सञ्चालनको हरेक प्रक्रियामा सक्रिय सहभागिता र नेतृत्वदायी भूमिकामा पुग्न छेकबार लगाएको छ । संविधान र कानुनले युवा वर्गसँग भेदभाव गरेको छ । योग्यता भए पनि उमेर हदले युवालाई छेक्ने गरेको छ ।’

    अधिवक्ता उप्रेती त्यस्तो प्रावधान संविधानले दिएको समानताको अधिकारविपरीत रहेको बताउँछन् । नेपाल पक्ष रहेको संयुक्त राष्ट्रसंघको नागरिक तथा राजनीतिक अधिकारको अन्तर्राष्ट्रिय प्रतिज्ञा पत्रको धारा २५ ले यसरी सर्वव्यापक वयस्क मताधिकार (युनिभर्सल एन्ड इक्वल सर्फेज) वाला नागरिकलाई चुन्ने र चुनिने तथा समानताको सर्वमान्य सिद्धान्तका आधारमा सार्वजनिक सेवामा प्रवेशमा समान हक रहने सुनिश्चित गरेको उनले बताए । पक्ष राष्ट्र रहेकाले नेपालको कुनै पनि कानुन उक्त व्यवस्थासँग नबाझिने गरी हुनुपर्ने उप्रेतीको भनाइ छ ।

    संयुक्त राष्ट्रसंघले १५ देखि २४ वर्षको उमेर समूहलाई युवा भनेको छ । त्यसलाई आधार मान्ने हो, नेपालको संविधान र कानुनले धेरैतिर युवाको प्रवेशलाई रोक्छ । निर्वाचन पर्यवेक्षणको लामो अनुभव भएका प्रदीप पोखरेल संविधानमा राखिएको उमेरको ‘मेरिट’ सुरुदेखि नै विवादित रहेको बताउँछन् । ‘१८ वर्षमा मतदानको अधिकार दिने हो भने, त्यही उमेरमा उम्मेदवार हुने अधिकार पनि दिइनुपर्छ । संविधान बन्दै गर्दा त्यसलाई हामीले उठाएका थियौं,’ उनले भने, ‘तर सुनिएन । १६ वर्षमा नागरिकता, १८ वर्षमा मतदानको अधिकार र २५ वर्षमा गएर संसद्मा उठ्न पाउने व्यवस्थाले युवाले धेरै वर्ष कुर्नुपर्ने स्थिति निर्माण गरेको छ । युवालाई छेकबार लगाइएको छ ।’

    कानुनअनुसार १६ वर्षमा युवा भइसकेका व्यक्ति मत हाल्नलाई थप २ वर्ष, स्थानीय तहमा उम्मेदवार हुनलाई ४ वर्ष तथा प्रदेश र प्रतिनिधिसभामा उम्मेदवार हुनलाई ९ वर्ष कुर्नुपर्ने स्थिति निर्माण गरिएको उनी बताउँछन् । निर्वाचन पर्यवेक्षक समिति नेपालका संस्थापक अध्यक्ष र हाल संस्थाको सल्लाहकार रहेका पोखरेल संविधानले बाध्य बनाएको बाहेकको समूहको प्रतिनिधित्व र समावेशीकरणलाई राजनीतिक दल वा सरकारका निकायबाट उपेक्षा गरिएको उनी भन्छन् ।

    संविधानसभा सदस्य रहिसकेका संविधानविद् वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी अन्यत्रको अभ्यास र देशभित्रैको पुरानो व्यवस्थालाई हेरेर संविधानमा त्यसैलाई निरन्तरता दिइएको सम्झिन्छन् । ‘अरू केही होइन, परिपक्वता र अनुभवले पनि काम गरोस् भन्ने नै हो । उमेरले समाजलाई समग्रतामा बृहद् दृष्टिकोणबाट हेर्ने क्षमता पनि बढाएको हुन्छ भन्ने विश्वासले मात्रै हो,’ उनले भने, ‘अन्यत्र देशमा पनि तल्लो सदनमा २५ र माथिल्लोमा ३०–३५ वर्ष उमेर पुगेका व्यक्ति उम्मेदवार हुन पाउने व्यवस्था छ । संवैधानिक निकाय र न्यायालयका विषयमा पनि त्यस्तै उमेरका केही हद तोकिएका छन् । त्यसैको अनुसरण गरिएको हो ।’

    अन्य देशले त्यसलाई सच्याउँदै गइरहेका बेला, नेपालले उनीहरूले अपनाएको पुरानो प्रावधानअनुसार हिँडिरहनु कुनै बाध्यता नरहेको उनले बताए । समयको मागअनुसार संविधान संशोधनमार्फत उमेर हदलाई सुधार गरेर जानुपर्ने उनी सुझाउँछन् ।

सम्वन्धित समाचार :