जनकपुरधाम : मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी शर्मा तिवारीले राजीनामा दिएकी छन्। मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिनुभन्दा एक दिनअघि उनले मन्त्री पदबाट राजीनामा दिएकी हुन्।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट शिक्षा मन्त्री बनेकी तिवारीले सोमबार राजीनामा दिएकी हुन्। यस्तै, लोसपाले मधेस सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ। लोसपाले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उनलाई अब कुनै दलको समर्थन छैन।
मुख्यमन्त्री सिंह स्वयम् एकल छन्। उनी प्रतिनिधित्व गर्ने दल जनमत पार्टी सहित नेपाली कांग्रेस र नेकपा एमालेले सरकारलाई दिएको समर्थन यसअघि नै फिर्ता लिएको थियो। मुख्यमन्त्री सिंहले भोलि दिउँसो १ बजे नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिन लागेका हुन्।


