जनकपुरधाम । दसैँको रौनक अहिले देशैभरि छाएको छ । देशभर रहेका माता दुर्गाका शक्तिपीठहरूमा भव्यतापूर्वक पूजा–आराधना भइरहेको छ । यसैबिच मिथिलाञ्चलका मन्दिरहरूमा पनि पूजा–आराधना भइरहेका छन् भने गाउँ–गाउँमा माता दुर्गाको मूर्ति बनाई भव्य पूजापाठ गर्ने परम्परा झन् आकर्षक बनेको छ । जनकपुरधामसहित मिथिलाञ्चलका ग्रामीण क्षेत्रमा समेत मूर्ति पूजाको आकर्षण देख्नलायक हुन्छ ।

हिन्दू धर्ममा मूर्ति पूजाको अलग्गै महत्त्व छ, तर मिथिलाञ्चलमा यसको महत्त्व विशेषगरी उच्च पाइन्छ । मिथिलावासीहरूले देवी–देवतासँग पारिवारिक सदस्यझैँ सम्बन्ध स्थापित गरेका छन् । यही सम्बन्धलाई प्रकट गर्नकै लागि यहाँ मूर्ति पूजाको परम्परा मौलाएको हो । साथै, जगतमाता सीता मिथिलाकी छोरी भएकाले भगवतीका अन्य स्वरूपलाई समेत मिथिलाकै माइती मान्ने गरिन्छ । त्यसैले दसैँमा मूर्ति निर्माणअघि विवाहित बेहुलीझैँ नवदुर्गालाई माइतीमा भित्र्याउने परम्परा चलनमा छ ।

पूजाको अवधिभर देवीलाई माइती आएकी छोरीझैँ मीठा परिकार अर्पण गरिन्छ । मूर्ति विसर्जनको बेला भने सोहर (छोरी बिदा गर्ने बेला गाइने गीत) गाएर भावुक बिदाइ गरिन्छ ।

संस्कृतिविद्हरू भक्तिका नौ मार्ग (नवधा भक्ति) मध्ये वात्सल्य मार्गलाई भावनात्मक मार्गको संज्ञा दिने गर्छन् । जानकी मन्दिरका प्रथम महन्थ सुरकिशोर दासले माता सीतालाई छोरीझैँ माया गरेर सेवा गरेका थिए । उनका उत्तराधिकारी महन्थहरूले पनि सो परम्परालाई निरन्तरता दिएका छन् ।
वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् डा. राजेन्द्रप्रसाद विमलले देवी–देवतासँग पारिवारिक सम्बन्ध स्थापित गरेर परिवारका प्रिय सदस्यझैँ व्यवहार गर्ने परम्परालाई नै वात्सल्य मार्गको संज्ञा दिएका छन् । उनका अनुसार रसिक सम्प्रदायको दार्शनिक सूत्र यही हो- पूजा गर्दा टाढाको सम्बन्ध भन्दा पारिवारिक सम्बन्ध स्थापित गर्दा देवता नजिक लाग्छन् । सीता मिथिलाकी चेली भएकी र नवदुर्गासहित अन्य देवीहरू पनि सीताकै स्वरूप भएकाले मिथिलाञ्चलमा देवीलाई चेली–बेटीको रूपमा माया गर्ने परम्परा अझै जीवित रहेको उनले बताए ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय मैथिली विभागका पूर्वप्रमुख सहप्राध्यापक परमेश्वर कापडका अनुसार मिथिलामा देवी मात्र होइन राम, कृष्ण, महादेवलगायतका देवतालाई पनि घरकै सदस्यझैँ माया गर्ने चलन छ । उनले भने, ‘कृष्णलाई ‘किसना’ भन्नु वा रामलाई भिनाजुजस्तै गाली गर्ने परम्परा यसको जीवन्त उदाहरण हो ।’वेदकालीन समाज प्रकृति पूजक थियो । त्यतिबेला सूर्य, चन्द्र, आकाश, पाताल, पृथ्वी, प्रकृति, चराचर र वृक्षादिको पूजा गरिन्थ्यो, तर मूर्ति पूजा हुने गर्दैनथ्यो ।मिथिलाञ्चलमा दशैंको आकर्षण धार्मिक मात्र नभई सामाजिक र सांस्कृतिक दृष्टिले पनि महत्त्वपूर्ण छ । देवी–देवतासँग पारिवारिक व्यवहार गर्ने परम्पराले समुदायबिच आत्मीयता र भक्ति दुवैलाई गहिरो बनाएको छ ।

मूर्ति पूजाले गाउँ–समाजलाई एकताबद्ध गर्ने ठुलो भूमिका खेलेको पाइन्छ । मूर्ति निर्माणदेखि विसर्जनसम्मकै क्रममा श्रमदान, आर्थिक सहयोग र सामूहिक सहभागिताले समाजलाई बलियो बनाउँछ । सजावटमा युवती–बालबालिकादेखि वृद्धसम्म सबैको योगदान हुने भएकाले यो धार्मिक मात्र नभई सांस्कृतिक उत्सव पनि बन्छ ।मैथिली साहित्य र लोकगीतमा देवीलाई चेलीका रूपमा सम्बोधन गरिएको पाइन्छ । दसैँमा गाइने सोहर गीतले छोरीलाई बिदा गर्दा हुने भावुकताझैं देवी विसर्जनको क्षणलाई जीवन्त अभिव्यक्ति दिन्छ । यसरी देवीलाई पूजा गर्ने र अन्त्यमा आँसुभरि बिदा गर्ने परम्पराले भक्ति र वात्सल्यबीचको अद्वितीय सम्बन्ध उजागर गर्छ ।

वेदकालमा मूर्ति पूजा नभए पनि उपनिषद् र पुराणकालसम्म आइपुग्दा यसको प्रचलन स्थायी बनेको देखिन्छ । विशेषगरी रामायणकालीन संस्कृतिको प्रभावका कारण मिथिलाञ्चलमा देवी–देवतासँग पारिवारिक सम्बन्ध स्थापित गर्ने परम्परा अझै मौलाएको हो । सीता मिथिलाकी छोरी भएकै कारण यहाँ देवता वा देवीलाई ‘माइतीको सम्बन्ध’ भनी आत्मीयतापूर्वक सम्बोधन गर्ने परम्परा निरन्तरता पाएको हो ।

मिथिलाञ्चलमा मूर्ति पूजा आस्था मात्र नभई सामाजिक सहजीवन र मानसिक शान्तिको स्रोत पनि हो । देवीलाई चेली मान्दा महिलाप्रति समाजमा हुने दृष्टिकोणमा समेत सकारात्मक प्रभाव परेको पाइन्छ । देवी–देवतासँग घरको सदस्यझैँ व्यवहार गर्दा धर्म केवल मन्दिर वा पूजा कोठासम्म सीमित रहँदैन, बरु घर–परिवार र दैनन्दिन जीवनमै घुलमिल हुन्छ ।

आजको डिजिटल युगमा समेत मिथिलाञ्चलका युवाहरू सामाजिक सञ्जालमार्फत मूर्ति सजावट, पूजा, सोहर गीत र विसर्जनको क्षणलाई व्यापक प्रचार–प्रसार गर्छन् । यसले परम्परालाई आधुनिक रूप दिनुका साथै भविष्य पुस्तामा सांस्कृतिक चेतना जगाउने काम पनि गरिरहेको छ ।

सम्वन्धित समाचार :