सिरहा, बरियारपट्टी ।बरियारपट्टी गाउँपालिका–३ स्थित ऐतिहासिक दुर्गा मन्दिरमा आजदेखि धार्मिक र सांस्कृतिक कार्यक्रमको भव्य सुरुवात गरिएको छ। बिहानैदेखि कलश यात्रासहित सुरु भएको महोत्सवमा स्थानीयवासी, महिला समूह र युवाहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

कलश यात्रामा टोल–टोलबाट आएका महिलाहरूले जल कलश बोकेर परम्परागत बाजागाजासहित मन्दिरपरिसर पुगेका थिए। ढोल, मृदङ्ग, झाँझ र नृत्यसहितको यात्राले पुरै बजारलाई धार्मिक र सांस्कृतिक रंगमा रंग्याएको देखिन्थ्यो।

मेला समितिका अध्यक्ष रन्जित ठाकुरका अनुसार असोज १५ गते बुधबार दुर्गा भगवतीको बलिप्रदान तथा १५,१६ गते जागरण कार्यक्रम हुनेछ । यसैबीच झिझिया नृत्य पनि दैनिक प्रस्तुत गरिने कार्यक्रम रहेको छ।

समितिले यसपटकको दुर्गा महोत्सवमा करिब पाँच लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ। यसका लागि स्थानीय दातृवर्ग, व्यापारी तथा श्रद्धालुहरूको सहयोग संकलन भइरहेको छ।

मेला सुरक्षाका लागि प्रहरी, स्थानीय स्वयंसेवक र समाजसेवी सक्रिय गरिएको छ। भीड व्यवस्थापनदेखि यातायात सहज बनाउन विशेष तयारी गरिएको समितिले जनाएको छ।

बरियारपट्टी दुर्गा मन्दिरमा हुने यो महोत्सव धार्मिक आस्था मात्र नभई सामाजिक सद्भाव र सांस्कृतिक एकताको प्रतीकका रूपमा स्थापित हुँदै आएको छ। यसपटकको महोत्सवले सिरहा,बलुवा,शिबनगर,पतारी,औरही,कचनारी र आसपासका भक्तजनलाई ठूलो आकर्षण गर्ने अपेक्षा गरिएको छ।

सम्वन्धित समाचार :