सोसल मिडियामा सक्रिय पासवानले आत्महत्याको प्रयास गर्दा शरीर पूरै जलेको छ। उनलाई तत्कालै अस्पताल पुर्याइएको थियो। अहिले उनलाई कीर्तिपुर बर्न अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
रौतहट —माधवनारायण नगरपालिका–२ माधोपुरकी ३० वर्षीया रुबीकुमारी साहको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । रुबीको हत्या गरी फरार माधोपुर घर भएका लक्ष्मण पासवान बुधबार बिहान आत्महत्याको प्रयास गरेको अवस्थामा पक्राउ परेका हुन् ।
उनले शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेको प्रहरीको भनाइ छ । पासवानको शरीर पूरै जलेकोकाले उपचारको लागि तत्कालै अस्पताल लैजान लागेको जिल्ला प्रहरी कार्यालय गौरका एक प्रहरी अधिकृतले जानकारी दिए ।
पासवानले आफ्नै घर नजिक आगो लगाएर आत्महत्याको प्रयास गरेका रहेछन्,’ प्रहरी अधिकृतले भने, ‘हामी अहिले उपचारमा जुटेका छौं । अहिले नै के भएको हो भन्न सक्ने अवस्थामा छैनौं । पासवान बोल्न सक्ने अवस्थामा छैनन् ।’
रुबीको हत्यापछि फरार पासवानले मंगलबार राति इन्स्टाग्राममा केही बोलेका थिए । त्यसैलाई पिछा गर्दै प्रहरी पासवान बसेको स्थान पुगेको हो । तर उनले शरीरमा आगो लगाएर आत्महत्या गर्न खोजेको प्रहरीको भनाइ छ । अहिले प्रहरीले घाइते पासवानलाई उपचारको लागि अस्पताल लिएको छ ।
शनिबार साँझ गौरस्थित कोठा रुबी ब्यूटी पार्लर जान भनेर निस्किएकी थिइन् । आइतबार भारतको मुजफरपुरस्थित रोक्साटोल घर जाने तयारीका लागि रुबी अनुहारमा फेसियल गर्न पार्लर गएकी हुन् । उनी फेसियल गरेर बाहिरिएपछि पासवानले रुबीको हत्या भएको थियो ।
सोही राति १० बजेतिर गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडकमा बेवारिसे अवस्थामा सुटकेस देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरी तत्कालै घट्नास्थल पुग्यो । शंकास्पद सुटकेस खोलेनन् । बिहान पख खोलेर हेर्दा रुबीको शव फेला पारेको थियो ।
माधोपुर घर भएका पासवानको गौरस्थित डेराबाट रुबीको चप्पल फेला पारे पछि प्रहरीले हत्यामा उनकै संलग्नता भएको भन्ने निष्कर्षमा पुगेको थियो । रुबीको हत्या पछि मोबाइल अफ गरेर लक्ष्मण पासवान घर वरपर लुकेर बसेका थिए ।
बिहान जलेको अवस्थामा स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेका थिए । घट्नास्थल पुगेको प्रहरीले पासवानलाई तत्कालै उपचारको लागि गरुडास्थित बेटर अस्पताल लगिएको छ ।
पूरै शरीर जलेर गम्भिर घाइते पासवानलाई थप उपचारको लागि कीर्तिपुर बर्न अस्पताल लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक रुद्र कँडेलले जानकारी दिए । पासवान बोल्न सक्दैनन् । उनी मुन्टो हल्लाउँछन् मात्र । पासवानको अनुहार पूरै डढेको छ ।कान्तिपुर


