मिथिला–मधेश : अन्धविश्वास र चौरचन पर्वको वास्तविकता

मिथिला–मधेश समाज आज पनि थुप्रै अन्धविश्वास र परम्परागत धार्मीक मिथकमा जकडिएको छ । धर्म, सम्प्रदाय र जातपातको नाममा ब्राह्मणवादी सत्ताले समाजलाई कमजोर र खोक्रो बनाइराखेको ज्वलन्त प्रमाण चौरचन पर्व पनि हो, जुन भाद्र शुक्ल पक्ष चौथीका दिन मनाइन्छ ।

ब्राह्मणवादी व्याख्यानुसार, द्वापर युगमा राजा सत्राजितको “श्यामन्तक मणि” हराउँदा श्रीकृष्णलाई झुठा आरोप लागेको थियो । उक्त दोषमुक्त हुनका लागि श्रीकृष्णले चन्द्रब्रत गरेका थिए र त्यसपछि मणि जम्ववानकी छोरीसँगै भेटिएको कथन भागवत पुराण र श्रीकृष्ण लीलामहात्म्य मा उल्लेख छ। यही कथालाई आधार बनाएर चौरचन पर्व मनाउन थालिएको भनाइ छ। यसै दिन चन्द्रब्रत गरे झुठ्ठा आरोप कहिल्यै नलाग्ने विश्वास आज पनि जिवन्त छ।

तर, यो व्याख्या वास्तविकताभन्दा फरक र काल्पनिक कथा हो। इतिहासका तथ्यअनुसार, सन 1700–1739 को बीचमा मिथिलाञ्चलका रेन्ट–पेइङ्ग किङ राजा राघव सिंहले दिल्ली सल्तनतलाई कर बुझाउन अस्वीकार गरेपछि उनलाई पक्राउ गरी पटना लगिएको थियो। केही समयपछि राजपरिवारले कर तिरेपछि दिल्लीका सुल्तानले माफी दिएर उनलाई मुक्त गरे। त्यस अवसरमा राघव सिंहले जनतासँगै खुशियाली मनाएका थिए, मिठो–मिठो परिकार बनाएर दीपावली झैँ पर्व मनाइएको थियो। यही खुशीयालीलाई पछि चन्द्रसँग जोडेर अन्धविश्वासी पोङ्गा पण्डितहरूले “चौरचन पर्व” नाम दिएका हुन्।

दुखद पक्ष के छ भने आज पनि पढेलेखेका पण्डितहरू समेत यसै अन्धविश्वासको जालमा फसिरहेका छन् र मिथिला–मधेशको वास्तविक इतिहासलाई ओझेल पारिरहेका छन्। समाजलाई सही तथ्य बुझाउने प्रयास नगरी उल्टै मिथकलाई सत्यका रूपमा स्थापित गरिनु संस्कृतिको नाममा गरिएको ठूलो धोका हो।

✍️ रामरिझन यादव
समाजसेवी, पत्रकार लेखक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका सल्लाहकार हुन ।

 

सम्वन्धित समाचार :