गोलबजार (सिरहा) — गोलबजार नगरपालिका–११, बलकवामा अवस्थित माध्यमिक विद्यालय बलकवाले शिक्षा क्षेत्रमा महत्वपूर्ण र ऐतिहासिक कदम चालेको छ। विद्यालयमा गत तीन महिनामा ७० प्रतिशत वा सोभन्दा बढी उपस्थिती कायम गरेका विद्यार्थीलाई वडास्तरीय बजेटबाट नि:शुल्क कपी र कलम वितरण गरिएको हो।

यस योजनाअनुसार अबदेखि वर्षभर ७० प्रतिशत भन्दा बढी उपस्थित हुने विद्यार्थीले कपी–कलम किन्नुपर्ने छैन। यो पहलले विद्यार्थीलाई अनुशासित बनाउन, अभिभावकलाई शिक्षाप्रति थप जिम्मेवार बनाउने र समग्रमा शिक्षाको गुणस्तर उकास्ने विश्वास गरिएको छ।

कार्यक्रममा सम्माननीय नगर प्रमुख श्याम कुमार श्रेष्ठज्यू विशेष आतिथ्यको रुपमा उपस्थित रहनुभएको थियो। साथै, वडा अध्यक्ष स्वेब अनबरले यस ऐतिहासिक कदमले बलकवाका विद्यार्थीलाई शिक्षा क्षेत्रमा अनुशासित र नियमित बनाउन ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्दै, “विद्यार्थीहरूलाई सहयोग गर्नु हाम्रो दायित्व हो। शिक्षा सबल भए मात्रै समाज सबल हुन्छ,” भनेर टिप्पणी गर्नुभयो।

विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा सरोकारवाला सबैको सक्रिय सहयोगले मात्र यस्तो कार्यक्रम सम्भव भएको आयोजकहरूले बताएका छन्।

“शिक्षा सबल, समाज सबल” भन्ने नाराका साथ अघि बढाइएको यो प्रयासले बलकवासहित गोलबजार नगरपालिकाभरको शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

सम्वन्धित समाचार :