मिर्चैयामा अवैध सामानसहित बोलेरो नियन्त्रण, चालक पक्राउ
मुकेश कुमार यादव बरियारपट्टी — नम्बर ७ गण हे.क्वा. सिरहा अन्तर्गत सु.बेश मिर्चैयाबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा अवैध सामानसहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ।
मिति २०८२ भदौ ४ गते राति करिब ९:३० बजे मिर्चैया नगरपालिका–९, घुर्मी पुलस्थित पूर्व–पश्चिम राजमार्गमा नियमित सवारी चेकजाँचका क्रममा स.१च.१०४८ नम्बरको सिङ्गल क्याप बोलेरो रोक्दा सो गाडीमा कुनै बिल–बिजक नदेखिएको ठूलो परिमाणमा सामान फेला परेको हो।
गस्ती टोलीलाई सप्रनि अनिल खड्काले नेतृत्व गरेका थिए। प्रहरीले पक्राउ गरेको बोलेरोमा अन्दाजी मूल्य रु. ३ लाख २३ हजार बराबरको सामानसहित गाडीको मूल्य रु. ९ लाख ५० हजार गरी जम्मा रु. १२ लाख ७३ हजार बराबरको चिनी – ४० बोरा,कविर सुर्ती -२० बोरा,केराउ ५ वोरा बरामद भएको सशस्त्र प्रहरीले जनाइएको छ। बोलेरो चालक उदयपुर जिल्ला, कटारी नगरपालिका–१३, मयाङ्गखु निवासी वर्ष अन्दाजी २१ का सागर खत्रीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी नरेश भण्डारीले दिएको जानकारी अनुसार, पक्राउ गरिएको गाडी र सामानलाई आवश्यक प्रक्रिया पूरा गरी माडर भन्सार कार्यालयमा बुझाइएको छ।
एसपी भण्डारीले अवैध कारोवार नियन्त्रण गर्न प्रहरीले सशक्त चेकजाँचलाई निरन्तरता दिइरहेको उल्लेख गर्दै, आम सर्वसाधारणलाई पनि कानुन विपरीतका गतिविधि देखे तत्काल जानकारी दिन आग्रह गरेका छन्।


