सिरहा, बरियारपट्टी — सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ बरियारपट्टी बजारस्थित प्रभु बैंक शाखाले औपचारिक रूपमा विभिन्न ऋण (लोन) सेवा सञ्चालनमा ल्याएको छ। बैंकले अबदेखि होम लोन, गाडी लोन तथा व्यक्तिगत व्यवसायी प्रयोजनको लागि  उपलब्ध गराउन थालेको छ।

शाखा प्रमुख तारनी प्रसाद यादवका अनुसार स्थानीय जनताको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले यी सेवा शुरू गरेको हो। उनले भने, “बरियारपट्टी क्षेत्रमा आवास निर्माण, सवारीसाधन खरिद र व्यक्तिगत व्यावसायिक  प्रयोजनका लागि ऋण सुविधा आवश्यक थियो। अब ग्राहकले सहज र छिटो ऋण सेवा प्रभु बैंक बरियारपट्टी शाखामार्फत प्राप्त गर्न सक्नेछन्।”

यसै अवसरमा बरियारपट्टीका अस्थायी बासिन्दा रमेश कुमार यादवले बैंकको कदमप्रति खुशी व्यक्त गर्दै भने, “अब हामीलाई सानो–ठूलो आवश्यकता परे टाढा शाखा धाउनुपर्ने अवस्था हटेको छ। यसले व्यापार–व्यवसायसँगै दैनिकीमा समेत सहजता ल्याउनेछ।”

बैंकले ऋण सेवाको विस्तारसँगै स्थानीय व्यवसायिक गतिविधिमा थप गति आउने र रोजगारीका अवसर पनि सिर्जना हुने विश्वास लिएको छ। प्रभु बैंकले यसअघि पनि वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले ग्रामीण क्षेत्रमा शाखा तथा सेवा केन्द्रहरू स्थापना गर्दै आएको छ।

सम्वन्धित समाचार :