मुकेश कुमार यादव बरियारपट्टी । सिरहाको बरियारपट्टी बजारमा आजसम्म पनि सार्वजनिक शौचालय निर्माण हुन सकेको छैन। बजारमा दैनिक सयौँ व्यापारी, विद्यार्थी, शिक्षक, कर्मचारी, पत्रकार, समाजसेवी तथा सर्वसाधारण आउजाउ गर्दा विशेष गरी महिला दिदीबहिनीहरूलाई ठूलो असुविधा हुने गरेको छ।

तर प्रदेश सरकार र स्थानीय तहका जनप्रतिनिधिहरू भने वर्षौंदेखि सडकमा माटो खन्याउने, ग्राइभेल छर्ने र बजेट सकाउने बाहेक अरु केही काम गर्न नसकेको स्थानीयवासीहरूको आरोप छ।

स्थानीय सरोकारवालाहरू भन्छन्,
“बजारमा सडक, बत्ती, टिन छानासम्म प्राथमिकता हुन्छ तर सार्वजनिक शौचालयलाई कहिल्यै पनि प्राथमिकतामा राखिँदैन। आखिर सर्वसाधारणको स्वास्थ्य र महिलाको सम्मान किन उपेक्षित हुन्छ ?”

भदौ १८ गते बरियारपट्टी बजारमा इन्द्र मेला लाग्दैछ। हजारौं मानिस जम्मा हुने यो मेलामा शौचालय सुविधा नहुँदा बजार फोहर, दुर्गन्ध र स्वास्थ्य संकटमा पर्ने जोखिम बढेको छ। तर आजसम्म कसैले यो विषयमा चासो दिएको छैन।

जनप्रतिनिधि, मन्त्री र सांसदहरूले हरेक वर्ष “विकास” को नाममा ठूलो ठूलो घोषणा गर्छन्, तर वास्तविक जीवनमा आवश्यक पर्ने शौचालय, खानेपानी, सरसफाइ जस्ता विषयलाई किन बेवास्ता गरिन्छ ?

अब प्रश्न खुलेर उठेको छ
के विकास भन्नेजस्तो देखाउने चम्किला सडक मात्रै हुन् ?
कि सर्वसाधारणको जीवन सहज बनाउने आधारभूत आवश्यकता पनि सरकारको दायित्व हो ?

बरियारपट्टी बजारवासीहरूले माग गरेका छन्
“स्थायी शौचालय निर्माण गर्न नसके कम्तिमा मेलाभन्दा अघि घुम्ती शौचालय तत्काल व्यवस्था गर।”

सम्वन्धित समाचार :