सिरहा —सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष विश्वमोहनप्रसाद यादवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले पूर्वअध्यक्ष यादवसँगै पूर्वउपाध्यक्ष शोभा कुमारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इन्जिनियर कृष्णा साह, सबइन्जिनियर जयनारायण यादव, लेखापाल सोमप्रसाद आचार्यलाई पनि प्रतिवादी बनाएको छ ।
यसैगरी, नवराजपुर ४ र ५ का तत्कालीन अध्यक्षहरू मदन यादव, मनोजकुमार यादव, तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि, जिन्सी प्रमुख संजयप्रसाद यादव, उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र यादव, सचिव दिपेन्द्रकुमार यादव र कोषाध्यक्ष कोशीला देवी यादवलाई पनि प्रतिवादी बनाइएको छ ।
उनीहरूले गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यमा डीपीआर तर्जुमादेखि भवन निर्माणको भुक्तानीसम्मको काममा प्रक्रिया र नियम मिचेको, गुणस्तरमा प्रश्न उठेको अख्तियारले जनाएको छ ।
३७ लाख ७५ हजार ४३६ रूपैयाँको लागत रहेको भवन उपभोक्ता समितिमार्फत गर्ने गरी २०७७ जेठ ३२ मा सम्झौता भएकोमा गलत प्राविधिक मूल्यांकनसहित उपभोक्ता समितिलाई ३४ लाख ३९ हजार १८९ रूपैयाँ भुक्तानी गरिएको साथै भवन पनि उपयोगविहीन भएको अख्तियारले जनाएको छ ।कान्तिपुर बाट


