काठमाडौँ । देशभरका विद्यालय कर्मचारीहरूले हातमा कालो पट्टि बाँधेर काम गरेका छन् । नेपाल शिक्षक महासङ्घसँग सरकारले गरेको ९ बुँदे सहमतिप्रति असहमति जनाउँदै देशभरका विद्यालय कर्मचारीहरूले आन्दोलन थालेका हुन्।
नेपाल विद्यालय कर्मचारी परिषद्ले पहिलो चरणको आन्दोलन घोषणा गरेअनुसार आज विद्यालय कर्मचारीहरूले हातमा कालो पट्टी बाँधेर काम गरेका हुन्। ९ बुँदे सहमतिमा विद्यालय कर्मचारीहरूको पारिश्रमिक नेपाल सरकारले तोकेअनुसार हुने भन्ने थियो।
विद्यालय कर्मचारीहरूले तोकेबमोजिम भनेको कति हो भनेर प्रश्न गरेका छन्। यसअघि आन्दोलनका क्रममा महासङ्घले विद्यालय कर्मचारीको तलब निजामती कर्मचारी सरह (नासु–खरिदार) हुनुपर्ने माग गरेको थियो । तर, सहमति गर्दा भने त्यो विषय संशोधन गर्दै सरकारले तोकेबमोजिम हुने भनेर उल्लेख गरिएको थियो ।