
सिरहा विनय अजाद —सिरहाको नवराजपुर गाउँपालिका-३ स्थित जगतपुर दोनवारी टोलकी २४ वर्षीया आनन्दी देवी सदाय आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेको आज ५ दिन भयो । तर, यस घटनामा अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् ।
आनन्दीमाथि गत पुस ९ मा गाउँकै आँप बगैंचामा स्थानीय २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले सामूहिक बलात्कारको प्रयास गरेका थिए । यौन दुर्व्यवहार घटनामा दुवै आरोपितविरुद्ध प्रहरीमा जबर्जस्ती करणी उद्योग शीर्षकमा मुद्दा दर्ता छ । तर, उनीहरू भारततिर भागेकाले पक्राउ गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय, सिरहाको दाबी छ । ‘उनीहरू भारततिर भागेको भन्ने छ,’ सिरहाका प्रहरी प्रमुख अनन्तराम शर्माले भने, ‘उनीहरूको खोजीमा हामी जुटिरहेका छौं ।’
आनन्दीको परिवारले घटना भएकै दिन इलाका प्रहरी कार्यालय, महेशपुर पतारमा जाहेरी दिएका थिए । तर, पीडितको जाहेरीका आधारमा कानुनी कारबाही प्रक्रिया अगाडी बढाउनुको साटो आर्थिक लेनदेन गरी घटना गाउँमै मिलाउने प्रयास भएको थियो । आरोपित सञ्जीवका बुबा उपेन्द्र र श्यामसुन्दरका बुबा शिवदत्त, सरकारी शिक्षकसमेत रहेका नरेन्द्र यादवलगायतले पीडितको घरमै पुगेर दुई लाख रुपैयाँ लिएर मिलिहाल्न र नमिले उल्टै मुद्दा लगाइदिने धम्की दिएका थिए । यतिमात्र नभई दर्ता भइसकेको जाहेरी बदर गरी प्रहरीले पनि घटना मिलाउने प्रयास गरेको थियो । जाहेरी परेको झन्डै एक महिनापछि माघ ४ मा दर्ता गरेर भोलिपल्ट फेरि बदर गरी घटना मिलाउन खोजेको थियो ।
मृतक आनन्दीकी आमा बिल्टौनका अनुसार प्रहरीले जाहेरी बदर गर्दै ‘अब केही हुन नसक्ने’ भन्दै गाउँमै केही पैसा लिएर मिलिहाल्न भनेको थियो । ‘हामीले नमानेपछि प्रहरीले पटक पटक फकाउन खोज्यो, गाली पनि गर्यो,’ उनी भन्छिन्, ‘तर हामी मानेनौं ।’
पीडित परिवार मिल्न तयार नभएर मिडियामा जाने चेतावनी दिएपछि प्रहरीले फेरि दोस्रोपटक घटनाको अढाई महिनापछि फागुन २५ जाहेरी दर्ता गरेको थियो । तैपनि घटनाका आरोपित पक्राउ नपरेपछि मानसिक तनावमा रहँदै आएका आनन्दी गत २ गते मृत फेला परेकी थिइन् ।
यस घटनामा यौन दुर्व्यवहारका दुई आरोपितको खोजी गरिरहेको बताए पनि प्रहरीले घटना दबाउने काममा संलग्न पीडक पक्ष र प्रहरीलाई भने कानुनी दायरामा ल्याएको छैन ।
पीडित परिवारको तर्फबाट यस विषयमा अन्य थप कुनै जाहेरी नआएको र आफ्नै हिसाबले घटनाको अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
अनुसन्धानका क्रममा पीडित परिवारले घटनाका बारेमा थप कुरा बयानमा खुलाए ती कुराहरू पनि समेट्ने उनले बताए । तर, सिरहाका प्रहरी प्रमुखले यसो भनिरहँदा पीडित परिवार भने कानुनी प्रक्रियामा सामेल हुनै डराएका छन् ।
पीडितलाई न्याय दिनुको साटो अल्झाएर निराश बनाएको र यसैकारण पीडित मृत्युवरण गर्न बाध्य भएको भन्दै गत शुक्रबार दलितका अगुवा तथा कानुन व्यवसायीले घटना मिलाउन खोज्नेविरुद्ध आत्महत्या दुरुत्सान तथा मिलापत्र लेनदेनमा जाहेरी दिने विषयमा पीडित परिवारसँग छलफल गरेका थिए । जसमा दुवै आरोपितका बुवा, स्थानीय नरेन्द्र यादव, महेशपुर पतार प्रहरीका प्रमुख प्रहरी निरीक्षक रविनराज मैनाली र मुद्दा फाँटका प्रहरीविरुद्ध जाहेरी दिने विषयमा छलफल भएको थियो । तर, पीडित परिवार भने यसमा तयार भएनन् ।
पीडित निकै डराएको पाइएको र उनीहरु कानुनी कारबाही प्रक्रियामा अगाडि बढ्न सकारात्मक नदेखिएको नेपाल राष्ट्रिय मुसहर संघका प्रवक्ता सुनिल सदाले बताए । उनका अनुसार पीडितको घरमै बेलाबेला पुगेर प्रहरीले कुनै पनि जाहेरी नदिन भन्ने गरेको छ भने पीडक पक्षले पनि धम्की दिने गरेका छन् ।
‘हामीले सोही दिन पीडितलाई जिल्ला प्रहरी कार्यालयमा लगेर जाहेरी हाल्न लगाउने तयारी गरेका थियौं,’ उनले भने, ‘तर, पीडित परिवार तयार नभएपछि हामी निराश भएर फर्कियौं, पीडितलाई मानसिक रूपमा निकै गलाइएको छ, डर देखाइएको छ ।’
सबै प्रमाण सार्वजनिक भएकै आधारमा प्रहरीले आफै सक्रियता देखाएर घटना मिलाउन खोज्ने सबैलाई पक्राउ गरी अनुसन्धान अगाडी बढाउनुपर्ने उनले बताए ।
मृतककी आमा बिल्टौनले आफूहरू कमजोर मान्छे भएकोले कानुनी कारबाही प्रक्रियामा जान हिम्मत नगरेको बताइन् । घटनापछि पीडक पक्ष गाउँमै निस्फिक्री घुमिरहेको र यसले आफूहरू झन् असुरक्षित महसुस गरिरहेको उनको गुनासो छ ।
‘न्यायकै लागि प्रहरीमा गएका थियौं तर उल्टै छोरी गुमाउनुपर्यो,’ उनले भक्कानिँदै सुनाइन्, ‘घटनापछि पनि उनीहरू अझ सानले घुम्दैछन्, हामी कमजोर मान्छे हौं, हामीले न्याय पाउन सक्दैनौं, अब फेरि कसैलाई गुमाउन चाहँदैनौं ।’कान्तिपुर