
जनकपुर ।प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन बिना लोकतन्त्रको कुनै अर्थ नहुने टिप्पणी गरेका छन्।
मधेस प्रदेशसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रको खम्बा भनेकै सुशासन भएको बताएका हुन्।
‘जनताले सुशासनको अनुभूति गर्न सकेन भने लोकतन्त्रको अर्थ रहदैन,’ उनले भने, ‘भ्रष्टाचार, कमिसन खोरीलाई नियन्त्रण गर्न नसकिए लोकतन्त्र फस्टाउन सक्दैन।’
जनताको दिमागमा भ्रष्टाचारले जरा गाड्यो भने लोकतन्त्र मजबुत नहुने ओलीको टिप्पणी छ। जनप्रतिनिधिले सुशासन कायम गर्नेतर्फ गम्भीर ध्यान दिनुपर्ने उनले बताए।
यस्तै, प्रधानमन्त्री ओलीले मधेस भगवान् राम र लक्ष्मण ज्ञान आर्जन गर्ने ठाउँ भएको बताएका छन्।
‘मधेस पुण्य, ध्यान, देवभूमि हो। यस भूमिबाट हामीले अहिलेसम्म के उपलब्धि हासिल गर्यो, त्यसबारे गहन चर्चा गर्नुपर्ने जरुरी छ,’ उनले भने, ‘मधेसबाट अनेक देउता, भगवान् रामसहितकाले ज्ञान आर्जन गरेको पवित्र ठाउँ हो।’
मधेशले अनेक विद्धान, साहित्यकार, कवि तथा विद्धान उत्पादन गरेको भन्दै उनले खुसी व्यक्त गरेका छन्।