मुकेश कुमार यादव बरियारपट्टी – सिरहा जिल्लाको दोस्रो यातायात मार्ग रहेको हुलाकी सडकमा सार्वजनिक शौचालयको सुविधा नहुनु महिलाहरूका लागि ठूलो समस्या बनेको छ।
लामो दूरीको यात्रा गर्ने क्रममा विश्राम वा शौचका लागि उपयुक्त स्थान नपाउँदा महिलाहरू असहज स्थितिमा पर्न बाध्य छन्।
हुलाकी सडक अन्तर्गत सिरहा हुँदै यात्रा गर्ने यात्रुहरूको संख्या दिनप्रतिदिन बढ्दो छ। तर यात्रु विश्रामस्थल वा सार्वजनिक शौचालयको व्यवस्था नहुँदा विशेष गरी महिलाहरूलाई बाटोमै ठूलो सास्ती खेप्नुपरेको हो।
“हामी लामो यात्रा गर्छौं तर बाटोमा कतै पनि महिला अनुकूल शौचालय छैन। जंगलतिर जान पनि डर लाग्छ, सुरक्षाको खतरा त छँदैछ,” सर्लाहीबाट सिरहा आउँदै गरेकी यात्रु सविता यादवले भनिन्।
यात्राकै क्रममा साना बालबालिका, गर्भवती तथा वृद्ध महिलाहरूलाई झनै कठिनाइ हुने गरेको छ। स्वास्थ्य समस्या बढ्ने मात्र होइन, यस्ता असहज परिस्थितिले महिलाहरूको आत्मसम्मानमा पनि चोट पुग्ने स्थानीय महिला अधिकारकर्मी जिवछी यादव बताउँछिन्।
गाडीको चालक तथा सहचालकहरू पनि यात्रुहरूको माग अनुसार यस्ता सुविधाको आवश्यकता रहेको बताउँछन्। “पेट्रोल पम्पमा समेत आधारभूत शौचालय छैन, जसले गर्दा यात्रुहरू समस्यामा पर्छन्,” एक चालकले भने।
स्थानीय तह तथा सडक डिभिजन कार्यालयले हुलाकी सडकलाई सुविधा सम्पन्न बनाउन थाले पनि शौचालयजस्तो अत्यावश्यक विषयमा भने खासै ध्यान नदिएको गुनासो बढ्दो छ। सर्वसाधारण तथा यात्रुहरूले हुलाकी सडकको मुख्य बिन्दुहरूमा सार्वजनिक शौचालयको तत्काल निर्माण गर्न माग गरेका छन्।

सम्वन्धित समाचार :