
सिरहा, औरही – एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष रामपृत यादवका रोहवरमा विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ।
कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय विपन्न तथा असहाय परिवारलाई राहतस्वरूप खाद्यान्न वितरण गरेको हो। कार्यक्रमको दौरान स्थानीय बासिन्दाहरूलाई चामल १० किलो, दाल १ किलो, नुन १किलो, तेल ५०० ग्राम लगायतका अत्यावश्यक सामग्री प्रदान गरिएको औरही गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख उपेन्द्र कुमार यादवले जानकारी दिए ।
एशियन लाइफ इन्स्योरेन्सका कमिर्चैया शाखा प्रमुख सुर्यनाथ यादवले कार्यक्रममा बोल्दै कम्पनीले सामाजिक सेवाका गतिविधिहरूलाई प्राथमिकता दिने उल्लेख गरे। उनले भने, “हाम्रो उद्देश्य नाफामुखी मात्र नभएर समाजमा सकारात्मक योगदान दिनु पनि हो। यही सोचका साथ हामीले यस वर्ष वार्षिकोत्सवको अवसरमा स्थानीय विपन्न समुदायलाई सहयोग गर्ने निर्णय गरेका हौं।”
कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, समाजसेवी तथा अन्य प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो। स्थानीय बासिन्दाहरूले कम्पनीको यस सामाजिक सेवामूलक कार्यको प्रशंसा गरेका छन्।
एशियन लाइफ इन्स्योरेन्सले विगत १७ वर्षदेखि जीवन बीमा सेवामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। कम्पनीले बीमा सेवा प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।