
Highlights
- प्रतिगमन र प्रतिक्रियावादीको षड्यन्त्र विफल पार्न चारदलीय मोर्चाको अपिल
काठमाडौँ — माओवादीलगायत चार दल सम्मिलित समाजवादी मोर्चाले १५ चैतमा काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । नागरिक समाज, संविधानविद्, पूर्वराजदूतसँग शनिबार अन्तर्क्रिया गरेपछि मोर्चाले प्रदर्शनको घोषणा गरेको हो ।
पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा आन्दोलन घोषणा भएकै बेला मोर्चाले प्रदर्शनको तयारी गरेको हो । समावेशी, समानुपातिक प्रणाली र संघीय व्यवस्थामाथि हमला हुन खोजेकाले जनतालाई जानकारी दिन राजधानीमा प्रदर्शन गर्ने निर्णय लिइएको मोर्चाको प्रमुख दल माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जनाएका छन् । ‘कसैले संघीय गणतन्त्रमाथि अराजक ढंगले हमला गर्न खोज्छ भने त्यसको जानकारी गराउनु हाम्रो जिम्मेवारी हो,’ उनको भनाइ छ, ‘कसैका विरुद्ध प्रदर्शन गर्न लागेको होइन । प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मोर्चा क्रियाशील छ ।’
मोर्चाका तर्फबाट माओवादी अध्यक्ष दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेसपा अध्यक्ष महिन्द्र राय यादव, नेकपा महासचिव नेत्रविक्रम चन्दले हस्ताक्षर गरेको विज्ञप्तिमा गणतन्त्रवादी शक्तिलाई एकजुट भई ‘प्रतिगमन र प्रतिक्रियावादीको षड्यन्त्र विफल’ पार्न अपिल गरिएको छ । ‘प्रतिगामी र पुनर्उत्थानवादी षड्यन्त्रविरुद्ध एकता, सहकार्य र संयुक्त विरोध आन्दोलनको नेतृत्व गर्नु अहिलेको वस्तुस्थितिको अहम् जिम्मेवारी बन्न गएको’ मोर्चाको निष्कर्ष छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको प्रभावकारी कार्यान्वयन नहुँदा राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र भएको मोर्चाले जनाएको छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहीनता, सरकारको मानोमानी, देश एवम् जनताको हितविपरीतका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रविरुद्ध राजतन्त्र पुनःस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनर्उत्थानवादी तत्त्वहरू लागिपरेका छन्,’ मोर्चाको विज्ञप्तिमा भनिएको छ, ‘यसको सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु वर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न गएको छ ।’
मोर्चाले कांग्रेस–एमाले गठबन्धन सरकारको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र संकटपूर्ण अवस्थाको सामना गरेको दाबी गरेको छ ।