सरकार मिटरब्याजीसँग मिलेको छ : माओवादी अध्यक्ष दाहाल
सिरहा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले मिटरब्याजपीडितहरूलाई न्याय दिने काम अलपत्र पारेको आरोप लगाउनुभएको छ । सिरहा सदरमुकाममा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अहिलेको सरकार मिटरब्याजी, सूदखोर, जमिनदार र सामन्तीसँग मिलेको आरोप लगाउनुभएको छ ।

“हामीले कानुन नै बनाएर मिटरब्याजीलाई कारबाही गर्दै थियौं”, उहाँले भन्नुभयो, “तर अहिलेको सरकार उनीहरूसँग मिलेर न्याय दिने काम नै रोकेका छन् ।”

आफूहरू सरकार बाहिर भए पनि यस विरुद्ध भण्डाफोर गर्ने र मिटरब्याजपीडितको पक्षमा आवाज उठाउन नछाड्ने प्रतिबद्धता उहाँले व्यक्ति गर्नुभयो । “हामी मिटरब्याजपीडितका लागि आवाज उठाइराख्छौं”, उहाँले भन्नुभयो, “सोझासीधा नागरिकको रगत चुस्ने दलाल र सामन्तीलाई त्यसै छाडिन्न ।”

मिटरब्याज दलाल पूँजीपतिहरूले हुर्काएको गलत प्रथा र आर्थिक अपराध भएको कुरा सबैले बुझ्न आवश्यक रहेको उहाँको भनाइ छ । नागरिकलाई खाँचो पर्दा मुलुकका वित्तीय संस्थाबाट सहजै ऋण पाउनसक्ने कुराको ग्यारेन्टी राज्यले गर्नुपर्ने उहाँले बताउनुभयो ।

सम्वन्धित समाचार :