बरियारपट्टी ः सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा सङ्लग्न व्यक्तिलाई जतिसक्दो चाँडो पक्राउ गरी कारबाही गर्न माग गर्दै मुसहर संघर्ष समिति सिरहाले आज लहानमा प्रदर्शन गरेको छ ।

घटना भएको २० दिन हुँदापनि सरकारले दोषीमाथि कारबाही नगरेको भन्दै संघर्ष समितिका अगुवाहरुले बाध्य भएर सडकमा आउनुपरेको बताएका छन् । संघर्ष समितिका अगुवा गंगा सदायले भन्नुभयो,“घटना भएको २० दिन बितिसक्यो, तर मुख्य आरोपीहरु अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । घटनाका आरोपीहरुलाई चाँडो कानूनी दायरामा ल्याउन दबाव दिने उद्देश्यले सम्पूर्ण चमार समुदाय एकजुट भएर आन्दोलनमा उत्रनुपरेको हो ।”

त्यस्तै अर्का अगुवा अरुण सदाले दलित भएकै कारण रिंकु कुमारीले न्याय पाउन मुस्किल परेको धारणा राख्नुभयो । उहाँले प्रहरी प्रशासनले पिडकलाई भगाएको आरोप लगाउँदै घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरि कार्वाही नगरेसम्म आन्दोलन नरोकिने बताउनुभयो । आन्दोलनकारीले पूर्व—पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको लहानमा एक घण्टासम्म सवारी साधन समेत अवरुद्ध पारेका थिए ।

गत माघ ३० गते रिंकुकुमारी सदाको सामूहिक बलात्कार भएको थियो । माघ २७ गते राति शौच गर्न घर बाहिर निस्केकी रिंकुकुमारीको स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कार भएको थियो । उनी भोलिपल्ट बिहानमात्रै घर पुगेकी थिइन् ।

वडासदस्यसहितका स्थानीयको संलग्नतामा भोलिपल्ट र तेस्रो दिन पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो । सोही साँझ (माघ ३० गते) पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

बाहिरबाट ढोका बन्द गरिएको अवस्थामा भित्र झुण्डिएको भेटिएकाले उनको मृत्युलाई परिवारले शंकास्पद भनेको छ । पञ्चायत बसेर पीडित परिवारलाई घटना ढाकछोप गर्न र लेनदेनमा मुद्दा मिलाउन दबाब दिने तथा त्यसको प्रत्यक्षदर्शी समेत गरि आठ जनालाई प्रहरीले गत आइतबार नियन्त्रणमा लिएको छ ।

तर मुख्य आरोपीलाई भने अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन ।

सम्वन्धित समाचार :