
साउदीमा बस दुर्घटनामा परेर तीन नेपालीको मृत्यु, एक घाइते श्रमिकहरू सवार बस साउदी अरबको जिजानमा दुर्घटना हुँदा तीनजना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरका रूपक कार्की, पाल्पाका कृष्ण खत्री र कपिलवस्तुका मीनबहादुर राणा रहेको नेपाली दूतावास साउदी अरबले जनाएको छ । उनीहरू अरेबियन कन्सोलिडेटेड औद्योगिक क्लिनिङ सर्भिसमा कार्यरत थिए । कार्की स्काफोल्डर फोरम्यान, खत्री बिए टेक्निसियन र राणा चालक थिए ।
दुर्घटनामा इलामका सुकबहादुर लिम्बू गम्भीर घाइते भएका छन् । उनको अलेमिस अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ । सोही दुर्घटनामा भारतका नौ र अफ्रिकी देश घानाका तीनजनाको पनि मृत्यु भएको छ । दुर्घटनामा कुल ११ जना घाइते भएका थिए । जिजानको रिफाइनरी रोडमा गत सोमबार बससँग टे«लर ठोक्किँदा दुर्घटना भएको बताइएको छ ।